Kathmandu Press

प्रधानमन्त्रीलाई मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण

गण्डकी, जेठ ७ : सङ्घ सरकार नीति तथा कार्यक्रम र वार्षिक बजेटको अन्तिम तयारीमा जुटिरहेका बेला गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रधानमन्त्री...
प्रधानमन्त्रीलाई मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण

गण्डकी, जेठ ७ : सङ्घ सरकार नीति तथा कार्यक्रम र वार्षिक बजेटको अन्तिम तयारीमा जुटिरहेका बेला गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराएका छन।

भेटमा मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय विकासमार्फत समुन्नत राष्ट्र निर्मााणका लागि महत्वपूर्ण योगदान पुर्‍याउन तथा अन्तर प्रदेश समन्वय र विकासलाई सुदृढ बनाउनका लागि सङ्घको बजेटमा समेट्नैपर्ने गण्डकीका योजनाको सूची प्रधानमन्त्रीलाई बुझाए।

'राष्ट्रिय विकास तथा अन्तर प्रदेश समन्वयात्मक विकासका लागि केही राष्ट्रिय गौरवका, रणनीतिक महत्वका र अन्तर प्रदेश विकासमा समेत महत्वपूर्ण हुनसक्ने आयोजनामा सङ्घ सरकार र प्रदेश सरकारको लगानी साझेदारी हुनुपर्ने, आपसी समन्वयमा त्यस्ता आयोजनाहरूको कार्यान्वयन हुन जरुरी छ,' ध्यानाकर्षण पत्रमा भनिएको छ।

राष्ट्रिय गौरव तथा प्रदेश गौरवका आयोजना सञ्चालित क्षेत्रमा निर्वाध रूपमा आयोजना सञ्चालन हुने वातावरण सुनिश्चित गर्न आवश्यक कानुन तथा मापदण्डको विकास गरी निर्वाध रूपमा त्यस्ता आयोजना सञ्चालन हुने अवस्था विकास हुनुपर्नेमा मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराए।

ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री देउवाले प्रदेश र स्थानीय तहको समृद्धिमा नै समग्र मुलुकको समृद्धि निर्भर रहेको भन्दै गण्डकीबाट आएका योजनालाई प्राथमिकतामा राख्ने बताए। उक्त ध्यानाकर्षण पत्र राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा पठाउने तथा सकेसम्म सबै योजना बजेटमा समेट्ने उनले आश्वासन दिए।

कम लागतमा उच्च प्रतिफल दिने, गण्डकी प्रदेशका साथै राष्ट्रिय अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान गर्नसक्ने उत्तरगङ्गा जलासययुक्त जलविद्युत् आयोजना सञ्चालनमा ल्याउन प्रदेश सरकारको लगानी साझेदारी हुनेगरी सङ्घीय सरकारले आव २०७९/८० बाट कार्यान्वयनमा लैजान मुख्यमन्त्री पोखरेलले ध्यानाकर्षण गराए। जलासययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना चालु आवबाट नै सुरुआत गर्ने गरी कार्य अगाडि बढाउन अनुरोधसहित गण्डकी प्रदेश सरकारको पनि लगानी साझेदारी हुने वातावरण बनाउन उनले अनुरोध गरेका छन।

गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको धार्मिक तथा पर्यटकीय प्रवद्र्धन गर्न दुवै प्रदेशको समन्वय र लगानीमा, सङ्घ सरकारको साझेदारीमा मुक्तिनाथदेखि गौतम बुद्धको जन्मस्थल लुम्बिनीसम्म जोड्ने मुक्तिमार्ग निर्माणको योजना समेट्न माग गरिएको छ।

पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने र पोखराको मुख्य आकर्षक फेवातालको संरक्षण तथा विकासका लागि फेवाताल संरक्षण र विकास गुरूयोजना कार्यान्वयन गर्न लगानी सुनिश्चित हुनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ।

गण्डकी प्रदेशसँग जोडिएका तीन अन्तर्राष्ट्रिय नाका मुस्ताङको कोरला, नवलपरासीको त्रिवेणी र गोरखाको लार्केमा भन्सार पूर्वाधार विकास गरी नेपाल चीन दुई देशीय व्यापार तथा वाणिज्य प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइएको छ। यसैगरी गोरखाको आरुघाटदेखि चुमनुब्री हुँदै उत्तरी नाका लार्केसम्म मोटरबाटो निर्माणका लागि लगानी गर्नुपर्ने, धार्मिक पर्यटकीय क्षेत्र देवघाटको प्रवद्र्धन गर्न गण्डकी प्रदेशको तनहुँ र नवलपुर तथा बागमती प्रदेशको चितवन जोड्ने गरी त्रिकोणात्मक मोटरेबल पुल निर्माणको माग गरिएको छ।

पर्यटकीय राजधानी पोखरा र नेपालको राजधानी काठमाडौँ जोड्ने द्रुतमार्ग विकासका साथै वैकल्पिक मार्गका रुपमा रहेको बुद्धसिंह मार्ग कालोपत्र गर्न मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। गोरखकाली रबर उद्योग र भृकुटी कागज कारखानालाई पुनः सञ्चालन गर्न साझेदारीमा लगानी सुनिश्चित हुने वातावरण विकासका लागि मुख्यमन्त्री पोखरेलले आग्रह गरेका छन।

धार्मिक महत्व बोकेको पवित्र नदी कालीगण्डकीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने र यसको बहुपक्षीय विकासका लागि लगानी गर्नुपर्ने, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन मासिक रुपमा रकम सामाजिक सुरक्षा कोषलाई उपलब्ध गराउन आगामी बजेटमा व्यवस्था गर्न पनि माग गरिएको छ।

मनाङको नार्पाभूमि गाउँपालिका अहिलेसम्म सडक सञ्जालसँग नजोडिएको र विकट भएकाले प्रदेश सरकारको क्षमता नपुग्ने हुँदा केन्द्रीय योजनामा समावेश गर्न, नवलपुरको गैँडाकोटमा विपी अन्तर्राष्ट्रिय खेलग्राम र नवलपुरमै ट्रमा सेन्टर स्थापनाका लागि पनि केन्द्र सरकारले बजेट विनियोजना गरिदिन मुख्यमन्त्रीले प्रधानमन्त्रीसँग अनुरोध गरेका छन।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा मुख्यमन्त्रीसँगै प्रदेशका कानुन सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री बिन्दुकुमार थापा पनि थिए। मुख्यमन्त्री पोखरेल शनिबार काठमाडौँ गएर शनिबारै पोखरा फर्किएका छन। उनले यसअघि पनि दुई पटकसम्म प्रधानमन्त्री देउवालाई भेटेर बजेट तथा प्रदेशका योजनाका बारेमा ध्यानाकर्षण गराएका थिए।

भेटमा भातृशोकमा रहेका प्रधानमन्त्री देउवालाई मुख्यमन्त्री पोखरेल र कानुनमन्त्री थापाले समवेदना व्यक्त गरेका थिए। उनका भाइ प्रेमबहादुर देउवाको यही जेठ ३ गते निधन भएको थियो।

प्रकाशित मिति: १९:५२ बजे, शनिबार, जेठ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्