Kathmandu Press

सिन्धुलीमा माओवादी बन्यो पहिलो शक्ति, वडामा कांग्रेसको वर्चस्व, एमालेलाई क्षति   

अघिल्लो निर्वाचनमा कमलामाई र दुधौली दुवै नगरपालिका जितेको एमालेले यसपटक ती दुवै पालिकामा हार बेहोर्नुपरेको छ। फिक्कलमा भने एमालेले पहिलेको बिरासत बचाएको छ। यसअघि कांग्रेसले जितेको गोलन्जोरमा एमालेले विजयको झन्डा फहराएको छ।
सिन्धुलीमा माओवादी बन्यो पहिलो शक्ति, वडामा कांग्रेसको वर्चस्व, एमालेलाई क्षति   

काठमाडौं, जेठ ७ : स्थानीय तहको निर्वाचन–२०७९ अन्तर्गत सिन्धुलीका सबै पालिकाको नतिजा सार्वजनिक भइसक्दा सबैभन्दा बलियो पार्टी बनेर नेकपा माओवादी केन्द्र उभिएको छ। नेपाली कांग्रेस दोस्रो शक्तिका रूपमा स्थापित हुँदा नेकपा एमाले तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको छ।

नौ स्थानीय तह रहेको सिन्धुलीमा एक नगरपालिका र तीन गाउँपालिका गरी चारवटामा नेतृत्व गर्ने अवसर माओवादी केन्द्रले पाएको छ। त्यसैगरी एक नगरपालिका र दुई गाउँपालिका गरी तीनवटामा कांग्रेस विजयी बनेको छ। एमालेले भने दुई गाउँपालिकाको नेतृत्वमा सीमित हुनुपरेको छ।

स्थानीय तहको निर्वाचन–२०७४ मा भने यी तीन प्रमुख दलले तीनतीनवटा पालिकामा जित हासिल गरेका थिए। माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा सुनकोसी, मरिण, हरिहरपुरगढीमा पाएको जितलाई यसपालि पनि कायम राख्दै थप एक नगर दुधौलीमा आफ्नो वर्चस्व जमाएको छ। दुधौलीमा भने यसअघि एमालेले जितेको थियो।

कांग्रेसले तीनपाटन र घ्याङलेखमा आफ्नो विजय यात्रालाई निरन्तरता दिँदा गोलन्जर भने गुमाएको छ। तर गोलन्जोरमा हार्दा भएको क्षतिलाई कमलामाई जितेर पूर्ति गर्न सो पार्टी सफल भएको  छ। कमलामाईमा यसअघि एमालेले जित हात पारेको थियो।

अघिल्लो निर्वाचनमा कमलामाई र दुधौली दुवै नगरपालिका जितेको एमालेले यसपटक ती दुवै पालिकामा हार बेहोर्नुपरेको छ। फिक्कलमा भने एमालेले पहिलेको बिरासत बचाएको छ। यसअघि कांग्रेसले जितेको गोलन्जोरमा एमालेले विजयको झन्डा फहराइदिएको छ।

कुन दलले कहाँ जिते उपप्रमुख/उपाध्यक्ष ? 

नौ पालिकामा कांग्रेसले चार, माओवादी केन्द्रले तीन र एमालेले दुई उपप्रमुख/उपाध्यक्षमा जित हात पारेका छन्।

कांग्रेसले दुधौली नगरपालिका प्रमुख र सुनकोसी, मरिन र हरिहरपुरगढी गाउँपालिका उपाध्यक्षमा जित हासिल गरेको छ।

माओवादी केन्द्रले तीनपाटन, गोलन्जोर र घ्याङलेख गाउँपालिकामा उपाध्यक्ष जितेको छ। एमालेले भने कमलामाई नगरपालिका उपप्रमुख र गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष मात्रै आफ्नो पोल्टामा पारेको छ।

अघिल्लो निर्वाचनमा भने एमालेले चार (कमलामाई, दुधौली, तीनपाटन र फिक्कल), माओवादी केन्द्रले तीन (सुनकोसी, मरिन र हरिहरपुरगढी) र कांग्रेसले दुई (गोलन्जोर र घ्याङलेख) स्थानीय तहको उपप्रमुख÷उपाध्यक्ष पदमा बाजी मारेका थिए।                   

यस्तो छ नौ पालिकाको नतिजा

१. कमलामाई नगरपालिका 

कमलामाई नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उपेन्द्र पोखरेल विजयी भएका छन्। उपप्रमुख भने एमालेकी मन्जु देवकोटाले जितेकी छन्।

एमालेका महेन्द्रदेव श्रेष्ठलाई १ हजार ६ सय ११ मतले पछि पार्दै प्रमुखमा निर्वाचित भएका पोखरेलले १४ हजार १ सय ८७ मत प्राप्त गरे। श्रेष्ठ १२ हजार ५ सय ७६ मतभन्दा अघि बढ्न सकेनन्। कांग्रेस सिन्धुली सभापतिसमेत रहेका पोखरेल यसअघि एमालेका खड्ग खत्रीसँग प्रमुखमा पराजित भएका थिए।  

उपप्रमुख निर्वाचित देवकोटाले १२ हजार ६ सय ९४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दीर्घराज श्रेष्ठले ११ हजार ६ सय ८७ मत ल्याए। देवकोटा यसअघि पनि उपप्रमुख नै थिइन्। 

१४ वटा वडा रहेको कमलामाईमा एमालेले सातवटा वडामा विजय प्राप्त गरेको छ। वडा ३ मा खड्गप्रसाद चौलागाईं, ७ मा कर्णबहादुर घिसिङ, ८ मा कोमलकुमार श्रेष्ठ, ११ मा रामबहादुर थिङ, १२ मा भीमबहादुर गुर्मछान, १३ मा केशरबहादुर कार्की र १४ मा राजन न्यौपानेलाई मतदाताले वडाध्यक्ष बन्ने अवसर दिएका छन्।

कांग्रेसले पाँचवटा वडामा जित हासिल गरेको छ। कांग्रेसबाट वडाध्यक्ष जित्नेहरू वडा १ का नरेश गोले, ४ का महेन्द्रप्रसाद ढकाल, ५ का पूर्णबहादुर खड्का, ६ का उज्जकुमार थापा र ९ का विनोद प्रधान हुन्।  

माओवादी केन्द्र भने दुईवटा वडामा सीमित भएको छ। जसमध्ये वडा २ मा इन्द्र वाइबा र १० मा दीपबहादुर कार्कीले जित हात पारेका छन्। 

२. दुधौली नगरपालिका

दुधौलीमा माओवादी केन्द्रले प्रमुख र कांग्रेसले उपप्रमुखमा बाजी मारेका छन्। प्रमुखमा निर्वाचित दिनेश अधिकारीले १५ हजार ८ सय ३८ मत प्राप्त गर्दा एमालेका लक्ष्मणकुमार कार्की ५ हजार १ सय ८६ मतले पछाडि परे। कार्कीले १० हजार ६ सय ५२ मत पाए। दुधौलीमा यसअघि एमालेका घनश्याम राउत अध्यक्ष थिए। 

कांग्रेसबाट उपप्रमुख बनेका चन्द्रकिशोर थारूले १४ हजार २ सय १३ मत ल्याउँदा एमालेकी बालकुमारी अधिकारीले १० हजार ६ सय ११ मत पाइन्। थारू यसअघि वडा ५ का अध्यक्ष थिए भने अधिकारी उपप्रमुख थिइन्।  

१४ वटा वडा रहेको दुधौलीमा कांग्रेसले सातवटा वडामा जित हासिल गरेको छ। जसमा वडा १ मा जयबहादुर पौड्याल, ३ मा भद्राकुमारी माझी, ४ मा रितबहादुर विश्वकर्मा, ५ मा यदुप्रसाद काफ्ले, ६ मा कमानसिंह आलेमगर, ७ मा राजन दाहाल र ८ मा केशव बराल रहेका छन्। 

एमालेले चारवटा वडामा विजयको झन्डा गाडेको छ। वडा २ मा रितेश राउत, ९ मा देवप्रसाद अधिकारी, १० मा कुमार शर्मा र ११ मा पवन कार्की एमालेबाट वडाध्यक्षमा विजयी भएका हुन्।

माओवादी केन्द्रले तीनवटा वडामा विजय प्राप्त गरेको छ। जसमा वडा १२ मा दिनेशकुमार भट्टराई, १३ मा दीपक खड्का र १४ मा भैरबहादुर पुलामीमगर रहेका छन्।

३. तीनपाटन गाउँपालिका

तीनपाटन गाउँपालिका अध्यक्षमा कांग्रेसका कर्णबहादुर मगर ९ हजार २ सय ३९ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका छत्रबहादुर दाहालले ८ हजार ४२ मत ल्याए। उनीहरूबीच १ हजार १ सय ९७ मतको अन्तर रह्यो। मगर यसअघि पनि अध्यक्ष थिए। त्यतिबेला पनि निकटतम प्रतिद्वन्द्वी एमालेका दाहाल नै थिए। उनीहरूबीच १९ मतको अन्तरले हारजित भएको थियो। 

त्यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रका धनबहादुर पुलामी विजयी भए। उनले ८ हजार ३ सय ९९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी पदममाया तामाङले ७ हजार ९ सय ८ मत पाइन्। पुलामी यसअघि पालिका अध्यक्षमा हारेका थिए भने तामाङ यसअघि उपाध्यक्ष थिइन्। 

११ गाउँपालिका रहेको तीनपाटनमा कांग्रेसले नौवटा वडामा जित हासिल गरेको छ। कांग्रेसबाट  वडा २ मा मुकुन्द पौडेल, ३ मा लालबहादुर स्याङ्तान, ४ मा खड्गबहादुर भुजेल, ६ मा वीरबहादुर पुलामी, ७ मा युवराज पहाडी, ८ मा कृष्णप्रसाद गौतम, ९ मा मोहनबहादुर गौतम, १० मा पुण्यहरि भुजेल र ११ मा तिलकबहादुर बस्नेत क्षेत्री वडाध्यक्ष बन्न सफल भए।

एमालेले दुईवटा वडामा जित हासिल गर्‍यो। वडा १ मा गोविन्दबहादुर राउत र ५ मा भुपालसिंह तामाङ एमालेबाट वडाध्यक्ष बनेका छन्। माओवादी केन्द्रले भने एउटा पनि वडाध्यक्ष जित्न सकेन।

४. फिक्कल गाउँपालिका

फिक्कल गाउँपालिकामा एमालेले पहिलाको जितलाई कायम राखेको छ। यसअघि उपाध्यक्ष रहेकी पार्वती सुनुवारले झिनो मतान्तरले फिक्कलको नेतृत्व गर्ने अवसर पाएकी छन्।

उनले ४ हजार ६२ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नृपबहादुर भुजेलले ४ हजार १७ मत पाएका छन्। उनीहरूबीच ४५ मतको अन्तरमा विजय–पराजय भएको हो।  फिक्कलमा यसअघि धनबहादुर कार्की अध्यक्ष थिए।  

उपाध्यक्षमा राजु बराल विजयी भएका छन्। यसअघि वडा ५ का अध्यक्ष रहेका उनले ४ हजार २ सय ५६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी माओवादी केन्द्रका लोकेन्द्रबहादुर कार्कीले ३ हजार ४ सय २६ मत पाए।

६ वटा वडा रहेको फिक्कलमा एमालेले चारवटामा कब्जा जमाएको छ। जसमा वडा २ मा शंकरबहादुर भण्डारी, ३ मा टेकबहादुर रजन, ५ मा वैकुण्ठलाल पहाडी र ६ मा कुलेन्द्रबहादुर मगर रहेका छन्। 

फिक्कलमा माओवादी केन्द्र एउटा मात्र वडामा जित निकाल्न सफल भएको छ। वडा १ मा विजयी होमबहादुर सुनुवार फिक्कलका माओवादी केन्द्रबाट वडाध्यक्ष बन्ने एक्ला नेता हुन्।

फिक्कलमा कांग्रेस पनि कमजोर देखिएको छ। कांग्रेसबाट वडाध्यक्ष जित्ने मोहन मगर पनि एक्लै हुन्। उनी वडा ४ का अध्यक्ष बन्न सफल भए।      

५. गोलन्जोर गाउँपालिका

गोलन्जोर गाउँपालिकामा एमालेका शंकरराज बरालले कांग्रेसका पुष्पबहादुर कार्कीलाई पराजित गर्दै अध्यक्षमा विजय प्राप्त गरे। बरालले ४ हजार ७ सय ४४ मत ल्याउँदा कार्की ४ हजार ४ सय ६३ मतमा रोकिए। कार्की यसअघि सो गाउँपालिकाका अध्यक्ष थिए। अध्यक्षमै दोहोरिने उनको प्रयासलाई मतदाताले विफल तुल्याइदिए।

गोलन्जोर उपाध्यक्षमा भने माओवादी केन्द्रले जित दर्ता गराएको छ। एमालेकी ममता देवकोटालाई पछि पार्दै माओवादी केन्द्रका ज्वालाप्रसाद देवकोटाले विजयको झन्डा गाडेका छन्। न्यौपानेले ४ हजार २ सय ४२ मत ल्याउँदा देवकोटाले ३ हजार ८ सय ३८ मत आफ्नो पक्षमा पारिन्। 

सातवटा वडा भएको गोलन्जोरमा कांग्रेसका तीन, माओवादी केन्द्र र एमालेका दुई÷दुई उम्मेदवार वडाध्यक्ष बन्न सफल भए। कांग्रेसबाट वडा २ मा दौलत कार्की, ४ मा भक्तबहादुर भुजेल र ६ मा रविनकुमार श्रेष्ठ वडाध्यक्ष भए।             

माओवादी केन्द्रबाट वडा १ मा सोमप्रसाद बराल र ३ मा कृष्णप्रसाद पोखरेल वडाध्यक्ष चुनिए। एमालेबाट वडा ५ मा गोविन्दबहादुर लुंगेली र ७ मा रेगनराज थापाले वडाध्यक्ष जिते।      

६. सुनकोसी गाउँपालिका 

सुनकोसी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रकी दीपा बोहरा दाहाल र उपाध्यक्षमा कांग्रेसका कपिलकुमार कोइराला विजयी भएका छन्।

यसअघि पनि अध्यक्ष रहेकी दाहालले यसपालि ५ हजार ३ सय ७६ मत प्राप्त गरिन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रोशनराज गिरीले ५ हजार ९८ मत पाए।

उपाध्यक्षमा विजयी कोइराला ६ हजार ५ सय ९४ मत आफ्नो पोल्टामा पार्दा उनलाई पछ्याइरहेकी एमालेकी हेमकुमारी अधिकारी ३ हजार ५ सय ९८ मतमै रोकिइन्। 

कांग्रेसबाट वडा १ मा रामकुमार श्रेष्ठ, २ मा जीवन बुर्जा, ३ मा चन्द्रबहादुर श्रेष्ठ र ४ मा यमबहादुर जर्घामगर विजयी भए।

माओवादी केन्द्रले दुईवटा वडाध्यक्षमा विजय हासिल गरेको छ। जसमा वडा ५ बाट सुरथकुमार बसेल र ६ बाट महिन्द्रबहादुर थापा निर्वाचित भए।

एमालेले एउटै वडामा चित्त बुझाउनुपर्‍यो। वडा ७ अध्यक्षमा माओवादी केन्द्रबाट लोकबहादुर कार्की विजयी भए। 

७. मरिण गाउँपालिका

मरिण गाउँपालिकामा विमर्श मोक्तान अध्यक्षमा निर्वाचित भए। एमालेका गोविन्दलाल माझीलाई उनले पराजित गरेका थिए। यसअघि वडा ३ का अध्यक्ष रहेका मुक्तानले ५ हजार १ सय ९४ मत ल्याए। उनका निकटतम प्रतिस्पर्धी माझीले ४ हजार ७ सय ६० मत पाए। 

उपाध्यक्षमा कांग्रेसका विमला माझीले ५ हजार २ सय ८१ मत ल्याएर विजयी हुँदा मन्जु माझीले ५ सय ८ मत ५ सय ८ मतमै चित्त बुझाउनुप¥यो।

सातवटा वडा भएको मरिणमा  माओवादी केन्द्रले ६ वटा वडाध्यक्ष आफ्नो पोल्टामा पा¥यो। जसमा वडा १ मा हिराबहादुर गुर्मछान मगर, २ मा कमलबहादुर आले मगर, ३ मा जिबहादुर श्रेष्ठ, ५ मा दीपक माझी र ६ मा हर्कवीर माझी र ७ मा चन्द्रबहादुर थिङ   छन्। 

माओवादी केन्द्रले उम्काएको वडा ४ मा एमालेका जितबहादुर काल्तान विजयी भए।

८. हरिहरपुरगढी गाउँपालिका

हरिहरपुरगढी गाउँपालिकाको नेतृत्व माओवादी केन्द्रले पाएको छ। उपाध्यक्षको जिम्मेवारी कांग्रेसले पाएको छ। माओवादी केन्द्रका बज्रध्जव वाइबा हरिहरपुरगढी ४ हजार ७ सय २९ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी मानबहादुर वाइबाले ३ हजार ६ सय १६ मत प्राप्त गरे। यसअघि हरिहरपुरगढीमा माओवादी केन्द्रकै कारसाङ लामा अध्यक्ष थिए।

उपप्रमुखमा विजयी चेखबहादुर थिङले ५ हजार ७ सय ३ मत हासिल गरे। उनले एमालेकी निर्मला ठाडामगरलाई पराजित गरेका थिए। निर्मलाको मत २ हजार ८ सय ५५ आएको थियो।

आठवटा वडा रहेको हरिहरपुरगढीमा ६ वटा वडा माओवादी केन्द्रले जितेको छ भने एमाले र कांग्रेस १÷१ वटा वडाध्यक्षमा सीमित हुन पुगेका छन्। माओवादी केन्द्रबाट वडा ३, ४, ५, ६, ७ र ८ मा क्रमशः कुलबहादुर भोलन, कमलकुमार राई, साइँला लामा, यकबहादुर मोक्तान, बिचबहादुर मोक्तान र धनबहादुर मोक्तान वडाध्यक्षमा निर्वाचित भएक छन्। वडा १ मा एमालेका जितबहादुर थिङले बाजी मार्दा वडा २ मा कांग्रेसका विश्व राई विजयी भए।        

९. घ्याङलेख गाउँपालिका 

घ्याङलेख गाउँपालिकाको अध्यक्षमा कांगे्रस र उपाध्यक्षमा माओवादी केन्द्रले जित हासिल गरेका छन्। कांग्रेसका जगतबहादुर भोलन २ हजार १ सय ८३ मतसहित नेतृत्व हात पार्दा उनलाई पछ्याइरहेका चतुरमान लो १ हजार ३ सय ८३ मतमै रोकिए। भोलन यसअघि पनि अध्यक्ष थिए।

उपाध्यक्षमा माओवादी केन्द्रका शंकरमान घलान २ हजार ९ सय ८३ मत ल्याएर विजयी हुँदा एमालेकी प्रमिला वाइबाले १ हजार ५ सय २८ मत मात्र प्राप्त गर्न सकिन्। 

पाँचवटा वडा भएको घ्याङलेखमा चारवटा वडामा माओवादी केन्द्र र एउटा वडामा एमाले विजयी भएको छ। माओवादी केन्द्रबाट वडा १ मा सोमबहादुर भोलन, २ मा रोशनकुमार भोलन, ४ मा अमृत वाइबा र ५ मा ज्ञानबहादुर सिजाली मगर विजयी भए भने वडा ३ मा एमालेका निश्चल सुनुवारले जित हात पारे।     

७९ वडामा कुन दललाई कति वडाध्यक्ष ?

सिन्धुलीका नौ पालिकामा रहेका ७९ वटा वडामा सबैभन्दा बढी वडाध्यक्ष कांग्रेसले हात पारेको छ। ३० वटा वडामा कांग्रेस विजयी भएको छ। माओवादी केन्द्रले २६ वटा वडामा जित निकाल्दा एमाले २३ वटा वडाध्यक्षमा सीमित हुनुपरेको छ। 

कांग्रेसले तीनपाटनमा ९, दुधौलीमा ७, कमलामाईमा ५, सुनकोसीमा  ४, गोलन्जोरमा ३ र फिकल र हरिहरपुरगढीमा १/१ वडामा गरी ३० वडाध्यक्ष जितेको छ। मरिन र घ्याङलेखमा भने वडाध्यक्षमा कांग्रेस निल भएको छ।

माओवादी केन्द्रले मरिण र हरिहरपुरगढीमा ६/६, घ्याङलेखमा ४, दुधौलीमा ३, कमलामाईमा, सुनकोसी र गोलन्जोरमा २/२ र फिकलमा १ वडामा गरी २६ वडाध्यक्ष जितेको छ। तीनपाटनमा भने माओवादी केन्द्रले एउटा पनि वडाध्यक्ष जित्न सकेन।

एमालेले कमलामाईमा ७, दुधौली र फिक्कलमा ४/४, तीनपाटन र गोलन्जोरमा २/२ तथा सुनकोसी, मरिण, घ्याङलेख र हरिहरपुरगढीमा १/१ वडामा गरी जम्मा २३ वडाध्यक्ष आफ्नो पोल्टामा पारेको छ।   

स्थानीय तहको निर्वाचन–२०७४ मा भने २७ वडामा कांग्रेस, ३२ वडामा एमाले र २० वडामा माओवादी केन्द्रले जितेका थिए।

त्यतिबेला कमलामाईमा कांग्रेसले ६, एमालेले ७ र माओवादी केन्द्रले १ वडामा जितको नतिजा पाएका थिए। दुधौलीमा कांग्रेस ४, एमाले ६ र माओवादी केन्द्र ४ वटा वडामा विजयी भए।

त्यसैगरी तीनपाटनमा कांग्रेसले ४, एमालेले ६ र माओवादी केन्द्र १ वडामा वडाध्यक्ष जित्दा फिक्कलमा कांग्रेस २ र एमाले ४ वडा आफ्नो पोल्टामा पारेका थिए। माओवादी केन्द्र भने वडाध्यक्षविहीन बनेको थियो।

गोलन्जोरमा कांग्रेस ५, एमाले १ र माओवादी केन्द्र १ वडामा निर्वाचित हुँदा सुनकोसीमा भने कांग्रेसले २, एमालेले ३ र माओवादी केन्द्रले २ वडाध्यक्ष आफ्नो पक्षमा पारेका थिए।

मरिनमा ७ वटै वडा माओवादी केन्द्रले जित्दा कांग्रेस र एमाले शून्यमा चित्त बुझाउन बाध्य बनेका थिए। घ्याङलेखमा कांग्रेसले ३ र  एमालेले २ वडाध्यक्ष हात पार्दा माओवादी केन्द्रको नजिता शून्य भएके थियो। हरिहरपुरगढीमा कांग्रेसले १, एमाले ३ र माओवादी केन्द्रले ४ वडाध्यक्ष जितेका थिए।

प्रमुख पदमा दुई महिला

सिन्धुलीका दुई पालिकाका मुख्य पदमा महिलाले नेतृत्व गर्ने अवसर पाएका छन्। 

सुनकोसी गाउँपालिकाकी दीपा बोहरा दाहाल र फिक्कल गाउँपालिकाकी पार्वती राई यसपटकको निर्वाचनमा विजयी भएका हुन्। 

उनीहरू दुवै यसअघि पनि स्थानीय सरकार हाँकेका अनुभवी जनप्रतिनिधि हुन्। बोहरा दाहाल यसअघि सुनकोसीकी अध्यक्ष थिइन् भने सुनुवार फिक्कलकी उपाध्यक्ष थिइन्।

यसपटक उपप्रमुख/उपाध्यक्षमा दुई महिलाले मात्र मौका पाएका छन्। जसमा कमलामाई उपप्रमुख एमालेकी मन्जु देवकोटा र मरिण उपाध्यक्ष कांग्रेसकी विमला माझी मात्र हुन्। यसअघि उपप्रमुख/उपाध्यक्षमा नौ महिला थिए। सुनकोसीमा मात्र पुरुष उपाध्यक्ष थिए।

पाँचदलीय गठबन्धनका कारण यसपालि पालिकाका दुई प्रमुख पदमध्ये एकमा महिला हुनैपर्ने व्यवस्था लागु हुन नसक्दा महिला जनप्रतिनिधिको संख्या घट्न पुगेको हो। एउटै दलले उम्मेदवारी दिँदा ती दुई पदमध्ये एउटामा महिला हुनैपर्ने संवैधानिक व्यवस्था छ। गठबन्धनमा एक दलले एउटा मात्र उम्मेदवारी दिने हुँदा महिलाले उम्मेदवारीबाट वञ्चित हुनुपर्ने अवस्था आएको हो।

७९ वटा वडामा वडाध्यक्ष एकजनामात्र महिला छिन्। उनी दुधौली–३ मा निर्वाचित भद्राकुमारी माझी हुन्।

गठबन्धनले माओवादी–कांग्रेसलाई फाइदा 

पाँच दलको केन्द्रीय गठबन्धनले स्थानीय तहको निर्वाचनमा आवश्यकताअनुसार तलैसम्म तालमेल गर्ने निर्देशन दिए पनि सिन्धुलीको हकमा कांग्रेस र माओवादी केन्द्रबाहेक अरू तीन दलका लागि त्यो निर्देशन उपयोगी  हुन सकेन। 

कांग्रेस र माओवादी केन्द्रले भने सबै पालिका र सबै वडामा उम्मेदवार भागबन्डा गरेका थिए। सोही तालमेलले सिन्धुलीको मुख्य शक्तिका रूपमा रहेको एमालेलाई धक्का दिन गठबन्धन सफल भएको छ। गठबन्धनकै कारण यसअघि तीन पालिका जितेको एमाले दुईवटामा खुम्चिएको छ। गठबन्धनकै दबदबाले गर्दा २०७४ सालमा ३२ वटा वडा जितेको एमाले २३ वटामा सीमित बन्न पुगेको छ। 

गठबन्धनको सबैभन्दा बढी फाइदा पालिकाको हकमा माओवादी केन्द्रलाई र वडाका हकमा कांग्रेसलाई भएको छ। यसअघि तीन पालिका जितेको माओवादी केन्द्र पुरानो बिरासत जोगाउँदै अर्को एक थपेर चारवटा पालिका जित्न सफल भएको छ। त्यसैगरी पहिला २७ वटा वडा जितेको कांग्रेस पनि यसपालि तीनवटा बढाएर ३० वटा वडाध्यक्ष जित्न सफल भएको छ।

सिन्धुली एमालेमा ठुलै पहिरो नगए पनि आंशिक क्षति भने भएको छ। एकातिर गठबन्धनको पेलान अर्कातिर पार्टी विभाजन भई बनेको नेकपा एकीकृत समाजवादीको आफू नजिते पनि एमालेलाई हराउने नीतिका कारण एमालेका लागि यसपालिको निर्वाचन चुनौतीपूर्ण नै बनेको थियो। तर पनि सहिनसक्नुको क्षति भने एमालेलाई भएाके छैन।   

तर गठबन्धन दलकै एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चालाई ठुला दल कांग्रेस र माओवादी केन्द्रले ‘बाइपास’ गरेका गुनासो तिनै दलका नेताकार्यकर्ताले गरेका थिए। एकीकृत समाजवादीले आफ्नै तरिकाले एकाध ठाउँमा उम्मेदवारी दिनेहरूले खासै मत बटुलन सकेनन्।

यसका बाबजुद एकीकृत समाजवादी सिन्धुलीका अध्यक्षसमेत रहेका सूर्यबहादुर पाख्रिन कमलामाई–१ मा सदस्य उठेर विजयी पनि भएका छन्। एकीकृत समाजवादीले कमलामाई र दुधौली नगरपालिकाका केही वडामा अध्यक्ष, सदस्य पदमा उम्मेदवारीको थियो।  

जसपाले पनि केही ठाउँमा पालिका अध्यक्षदेखि सदस्यसम्म उम्मेदवारी दिए भए जित्न भने सकेन। राष्ट्रिय जनमोर्चाले सिन्धुलीमा उम्मेदवारी दिने मामिलामा खासै चासो दिएको देखिएन। 

प्रकाशित मिति: १३:५३ बजे, शनिबार, जेठ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्