Kathmandu Press

यस्ताे छ खोटाङकाे निर्वाचन परिणाम 

खोटाङ, जेठ ७ : गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा प्रदेश तथा केन्द्रका प्रभावशाली नेताहरूको वडा तथा पालिकामा फरक राजनीतिक दलका उम्मेदवार...
यस्ताे छ खोटाङकाे निर्वाचन परिणाम 

खोटाङ, जेठ ७ : गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा प्रदेश तथा केन्द्रका प्रभावशाली नेताहरूको वडा तथा पालिकामा फरक राजनीतिक दलका उम्मेदवार विजयी भएका छन्।

१० स्थानीय तह रहेको खोटाङमा आफ्नो गृहवडा तथा पालिकामा अर्कै पार्टीका उम्मेदवार विजयी भएपछि प्रदेशका मन्त्री तथा केन्द्रीयस्तरका नेताहरूको पार्टीभित्रै आलोचना भइरहेको छ। 

एमालेका पोलिटब्यूरो सदस्य एवं प्रमुख सचेतक विशाल भट्टराईको गृहपालिका खोटेहाङ गाउँपालिकामा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका उदिमबहादुर राई प्रमुख र नेपाली कांग्रेसका रुपेश राई उपप्रमुखमा विजयी भएका छन्।

२०७४ सालमा सम्पन्न पहिलो स्थानीय तहको निर्वाचनमा दुवै पदमा एमाले विजयी भएको सो गाउँपालिकामा यस वर्षको निर्वाचनमा एमालेको तर्फबाट प्रमुखमा उम्मेदवार बनेकी कविता राई र उपप्रमुखका उम्मेदवार राजन बञ्जरा पराजित भएका छन्। 

प्रमुखमा उदिमबहादुरले तीन हजार ७२८ मत ल्याएर विजयी हुँदा कविताले तीन हजार ६९० मत प्राप्त गरेका छन्। उपप्रमुखमा जित हासिल गरेका रुपेशले ३ हजार ७६३ मत ल्याउँदा राजनले तीन हजार ३१० मत प्राप्त गरेका छन्।

एमाले प्रमुख सचेतक भट्टराईको गृहवडा खोटाङबजारमा भने एमालेका शिवप्रसाद फुँयाल विजयी भएका छन्। कांग्रेसका प्रेम थापालाई १६५ मतले पछि पार्दै एमाले उम्मेदवार फुँयाल वडाध्यक्षमा निर्वाचित भएका हुन्। 

यस्तै नेपाली कांग्रेस प्रदेश १ का महामन्त्री भूपेन्द्र राईको गृहपालिकाको प्रमुख र उपप्रमुख दुवैमा एमालेका उम्मेदवार विजयी भएका छन्। कांग्रेसका उम्मेदवार नइन्द्र राईलाई ६४१ मतले पछि पार्दै एमालेका लोकेन्द्र राई प्रमुखमा विजयी भएका हुन्।

लोकेन्द्रले दुई हजार ८०३ मत ल्याएर विजयी हुँदा नइन्द्रले दुई हजार १६२ मत प्राप्त गरेका छन्। उपप्रमुखमा कांग्रेसकी रमा कटवाललाई ४२१ मतले हराउँदै एमालेकै अरुणा थापामगर विजयी बनेका छन्। अरुणाले दुई हजार ७३३ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी रमाले २ हजार ३ सय १२ मत प्राप्त गरेका छन्। २०७४ सालको निर्वाचनमा सो गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै कांग्रेसले जितेको थियो। 

माओवादी केन्द्रका नेता एवं प्रदेश १ का खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राईको गृहपालिका साकेला गाउँपालिकाको प्रमुखमा कांग्रेसका रविप्रकाश राई विजयी भएका छन्। उपप्रमुखमा भने माओवादी केन्द्रकी उम्मेदवार बिर्सिका राई निर्वाचित भएका छन्। रविप्रकाशले एक हजार ८५० मत ल्याएर विजयी हुँदा माओवादी केन्द्रका अर्जुनकुमार खड्काले एक हजार ७७२ मत प्राप्त गरेका छन्। खड्का निवर्तमान पालिका प्रमुखसमेत हुन्। 

यस्तै नेकपा एकीकृत समाजवादीका नेता एवं प्रदेश १ का सामाजिक विकासमन्त्री राजन राईको गृहपालिका केपिलासगढी गाउँपालिकामा कांग्रेसका समिर राई अध्यक्षमा विजयी भएको छ। एकीकृत समाजवादीका उम्मेदवार माइतीराज राईलाई ४३६ मतले पछि पार्दै कांग्रेसका समिर राई विजयी भएको हुन्।

समीरले दुई हजार २४४ मत ल्याएर विजयी हुँदा माइतीराजले एक हजार ८०८ मत प्राप्त गरेका छन्। सो गाउँपालिकाको उपप्रमुखमा जनता समाजवादीका उम्मेदवार गुरुराज राईले जित हासिल गरेका छन्।

गुरुराजले एक हजार ९८३ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका मैया सुनुवारले एक हजार ७६१ मत प्राप्त गरेका छन्। मन्त्री राईको गृहवडा बास्पानीमा भने एकीकृत समाजवादीका तुलाराम राई विजयी भएका छन्।

एमालेकी केन्द्रीय सदस्य एवं प्रदेश १ का पूर्वसामाजिक विकासमन्त्री उषाकला राईको वडा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा माओवादीका खगेन्द्र राई विजयी भएका छन्। अघिल्लो निर्वाचनमा एमालेबाट निर्वाचित डिल्लीकुमार राईलाई हराउँदै माओवादीका उम्मेदवार खगेन्द्र वडाध्यक्षमा विजयी भएका हुन्। 

यस्तै कांग्रेस जिल्ला सभापति विष्णुकुमार राईको वडा दिप्रुङ चुइचुम्मा गाउँपालिका-३ छोरम्बुमा एमालेका भूपेन्द्र बस्नेत विजयी भएका छन्। बस्नेतले ३९५ मत ल्याएर विजयी हुँदा कांग्रेसका महेन्द्र राईले २५५ ल्याएका छन्।

१० स्थानीय तह रहेको जिल्लामा गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले छ तथा माओवादी र एमालेले दुईरदुई स्थानीय तह जितेका छन्।

अघिल्लो अर्थात् २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेले पाँच, कांग्रेसले चार र माओवादी केन्द्रले एक स्थानीय तह जितेको थियो। 

प्रकाशित मिति: १३:१७ बजे, शनिबार, जेठ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्