अपराह्रन १ बजे बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बस्दै
स्थानीय तहको निर्वाचनपछि सत्तारूढ गठबन्धनका नेताहरूको बैठक पहिलोपटक बस्न लागेको हो।
काठमाडाैं, जेठ ७ : आज (शनिबार) अपराह्न १ बजे सत्तारूढ गठबन्धनको बैठक बस्दैछ।
प्रधामन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा सत्ता गठबन्धनअन्तर्गतका पाँच दलका शीर्ष नेताहरूको सहभागिता रहनेछ।
स्थानीय तहको निर्वाचनपछि सत्तारूढ गठबन्धनका नेताहरूको बैठक पहिलोपटक बस्न लागेको हो।
बालुवाटार स्रोतका अनुसार स्थानीय तहको निर्वाचनअन्तर्गत धेरैजसो पालिकाको अन्तिम मत परिणाम आइसकेको अवस्थामा त्यसबाट गठबन्धनलाई प्राप्त उपलब्धिबारे प्रारम्भिक समीक्षा हुनेछ।
स्थानीय तहको नतिजालाई लिएर गठबन्धन उत्साहित भएको छ। गठबन्धनले सबै दललाई फाइदा पुगेको गठबन्धन दलकै नेताहरूले बताउने गरेका छन्।
आज (शनिबार) अपराह्न १२ बजेसम्मको मतपरिणाम अनुसार गठबन्धन दलअन्तर्गत नेपाली कांग्रेस अग्रस्थानमा छ। ३०६ वटा पालिकामा जित हासिल गरेको कांग्रेसले १९ पालिकामा अग्रता लिइरहेको छ।
माओवादी केन्द्रलाई ११८ पालिकामा जित हासिल भएको छ। माओवादीले ३ पालिकामा अग्रता लिइरहेको छ।
जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी पार्टीले पनि क्रमशः २५ र १७ पालिकाको नेतृत्व आफ्नो पक्षमा पारेका छन्।











