Kathmandu Press

एकै परिवारका पाँच दाजुभाइ राजनीतिमा, दुई गाउँपालिका अध्यक्ष र एक वडाध्यक्षमा निर्वाचित

यी दाजुभाइको पार्टी फरक भए पनि पारिवारिक जमघट र नातामा कुनै फरक पर्दैन। जितेन्द्र भन्छन्, ‘पार्टीमा आ–आफ्ना विचार र सिद्धान्त लिएर हिँडेका छौँ। पारिवारिक सम्बन्ध सधैँ उस्तै छ।’
एकै परिवारका पाँच दाजुभाइ राजनीतिमा, दुई गाउँपालिका अध्यक्ष र एक वडाध्यक्षमा निर्वाचित

काठमाडाैं, जेठ ७ :  यसपालिको स्थानीय तहको निर्वाचनका लागि एउटै परिवारका चार सहोदर दाजुभाइले फरक–फरक पद र स्थानबाट उम्मेदवारी दिँदा तीन भाइ निर्वाचित भएका छन्। ओखलढुंगा, मानेभञ्ज्याङ गाउँपालिका– १ स्थायी घर भएका होमराज रुम्दाली (राई) का दुई श्रीमतीबाट जन्मेका पाँच भाइ छोरामध्ये चार भाइ राजनीतिमा सक्रिय छन्।

साइँला भाइ ४१ वर्षीय जितेन्द्र रुम्दाली नेपाली कांग्रेसबाट धनकुटाको साँगुरीगढी गाउँपालिका अध्यक्षमा निवार्चित भएका छन्। त्यस्तै, काइँला भाइ ज्ञानेन्द्र रुम्दाली कांग्रेसबाटै ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन्। ‘हाम्रा जेठा दाजु (राजकुमार रुम्दाली) नेपाली कांग्रेसबाट मानेभञ्ज्याङ पालिका– १ को वडाध्यक्षमा निर्वाचित हुनुभएको छ,’  कांग्रेस धनकुटा प्रदेशसभा ‘क’ क्षेत्रीय सभापति समेत रहेका जितेन्द्र भन्छन्, ‘कान्छो (दीपेन्द्र रुम्दाली) भने मानेभञ्ज्याङ गाउँपालिकाको उपाध्यक्षमा हार बेहोर्नुप¥यो, भाइले जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएको थियो।’

Hardik ivf

रुम्दाली परिवारको पुर्खौली घर मानेभञ्ज्याङ गाउँपालिका– १ मा हो। जितेन्द्र दुई दशकदेखि धनकुटा भेडेटारको साँगुरीगढी गाउँपालिका– ६ मा स्थायी बसोबास गर्दै आएका छन्। ‘०४२ सालमा बुबाको निधन हुँदा म चार वर्षको थिएँ, त्यसयता मैले धनकुटामा आफन्तकहाँ बसेर पढेँ,’ उनले भने, ‘धनकुटामा अध्ययन सकेर व्यवसाय गर्दै जाँदा यहीँको बासिन्दा बन्न पुगेँ।’

स्नातक उत्तीर्ण जितेन्द्र विद्यार्थी जीवनदेखि नेपाली कांग्रेससँग सम्बद्ध छन्। जितेन्द्रका अनुसार, दाजुभाइको अंश भागबन्डा भएको छैन। सबै भाइको विवाह भइसकेको छ। ‘व्यवसायका  क्रममा दाजुभाइहरु फरक–फरक स्थानमा बसे पनि चाडपर्वमा एकै स्थानमा भेला हुन्छौँ,’ जितेन्द्र भन्छन्।

राजनीतिक पृष्ठभूमि

जितेन्द्रका पिता होमराज रुम्दाली शिक्षक थिए। होमराजका बुबा दलबहादुर राई र भाइ गोपाल राई नेपाली कांग्रेसका नेता थिए। ‘राजनीतिक पृष्ठभूमि भएको परिवारमा हुर्केकाले हामी पनि राजनीतिमा आयौँ होला,’ जितेन्द्र भन्छन्, ‘जेठा दाजु (राजकुमार), साइँलो म, काइँलो (ज्ञानेन्द्र) कांग्रेसको सिद्धान्तलाई फलो गरिरहेका छौँ।’

माइला धीरेन्द्र र कान्छा दीपेन्द्र जनता समाजवादी पार्टीमा छन्। यी दाजुभाइको पार्टी फरक भए पनि पारिवारिक जमघट र नातामा कुनै फरक पर्दैन। जितेन्द्र भन्छन्, ‘पार्टीमा आ–आफ्ना विचार र सिद्धान्त लिएर हिँडेका छौँ। पारिवारिक सम्बन्ध सधैँ उस्तै छ।’

अघिल्लोपटक पराजित, यसपालि निर्वाचित जितेन्द्र

अघिल्लो स्थानीय तहको निर्वाचनमा जितेन्द्रले साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट उम्मेदवारी दिएका थिए। त्यतिबेला उनले एक हजार एक सय मतान्तरले पराजय बेहोर्नुपरेको थियो। ‘पराजय भए पनि पाँच वर्षसम्म पालिकावासीको सहयोगमा निरन्तर लागिपरेँ,’ उनी भन्छन्, ‘यसपालि पालिकावासीले विश्वास गर्नुभयो।’

अघिल्लोपटक एमालेका उम्मेदवार कुमारजंग याख्खाले जितेन्द्रलाई पराजित गरेका  थिए। यसपालि पनि जितेन्द्रका प्रतिस्पर्धी कुमारजंग नै थिए, यसपालि भने हार–जित बदलियो।

साँगुरीगढी पर्यटकीय स्थल भएकाले पर्यटन क्षेत्रको विकास गर्ने जितेन्द्रको योजना छ। ‘भेडेटार पर्यटकीय स्थल हो, तर यहाँको प्रचार–प्रसार हुन सकेको छैन,’ होटल व्यवसायी तथा होटल एसोसिएसन भेडेटारका वर्तमान अध्यक्ष समेत रहेका जितेन्द्र भन्छन्, ‘प्रदेश सरकारसँग समन्वय गरेर भेडेटारलाई पर्यटकीय नगरका रूपमा स्थापना गर्ने मुख्य लक्ष्य छ। पर्यटकीय क्षेत्र, शिक्षा, स्वास्थ्य, स्थानीय स्रोत–साधनलाई प्राथमिकतामा राखेर काम गर्नेछु। स्थानीय युवालाई रोजगारी दिने र स्थानीय उत्पादनलाई बढी प्राथमिकता दिने योजना छ।’

प्रकाशित मिति: ११:२२ बजे, शनिबार, जेठ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्