महिलामाथि घटेका घटनाप्रति महिला गैरसरकारी संस्था चिन्तित, पीडितलाई न्याय दिलाउन माग
काठमाडौं, जेठ ६ : आफूमाथि भएको यौन शोषण, बलात्कारको घटनाको बारेमा सामाजिक सञ्जाल मार्फत एक युवतीले सार्वजनिक गरेको भिडियोले महिला गैर सरकारी संस्था...
काठमाडौं, जेठ ६ : आफूमाथि भएको यौन शोषण, बलात्कारको घटनाको बारेमा सामाजिक सञ्जाल मार्फत एक युवतीले सार्वजनिक गरेको भिडियोले महिला गैर सरकारी संस्था महासंघको ध्यानाकर्षण गराएको छ ।
महासंघले शुक्रबार एक बिज्ञप्ति जारी गर्दै आजको आधुनिक युगसम्म पुग्दा महिलामाथिको हिंसा, हत्या, बलात्कार, शोषण, अन्याय, अत्याचारलगायतका विरुद्ध पटक पटक आवाज उठाउँदा पनि दिनानुदिन यस्ता घटनाहरु बढिरहेकोप्रति संस्थाले खेद प्रकट गर्दै यसको घोर भत्सर्ना समेत गरेको हो ।
हाम्रो समाजमा बलात्कार जस्तो जघन्य अपराध हरेक पल हरेक दिन घट्दै आएकोले यसमा पूर्ण रोक लाग्न नसकनु सिंगो समाजमाथिकै दुर्भाग्य भएको भन्दै सन् २०१४ मा एउटा सौन्दर्य प्रतियोगितामा भाग लिन पुगेकी युवतीमाथि भएको पटक पटकको बलात्कारको घटनाले मर्माहत भएको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।
पीडितले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको भिडियोमा कार्यक्रमका कोरियोग्राफर ४० वर्षीय मनोज पाण्डेले होटेल एभरेष्टमा कार्यक्रम छ भनी बोलाएर नियत बस औषधि मिसाइएको कागती पानी सेवन गराई बेहोस भएपछि बलात्कार गरि भिडियो बनाएको र सोही भिडियो सार्वजनिक गरिदिने डर धम्की देखाउँदै पटक पटक बलात्कार गरेको बताइएको छ । त्यतिबेला आफू जम्मा १६ वर्षको मात्र भएको र घटनापछि आफू डिप्रेसनमा गएका कारण तुरुन्त त्यसलाई सार्वजनिक गर्न नसकेको पीडित युवतीले बताएको पनि विज्ञप्तीमा जनाइएको छ ।
युवतीले आफू डिप्रेसनबाट मुक्त हुन र न्यायको लागि सिंगो नागरिक समाज, राज्य, सरकार तथा आम नेपाली समक्ष भिडियो सार्वजनिक गरेको जनाउँदै महिलाहरुले नेतृत्व गरेको गैर सरकारी संस्थाहरुको छाता संघ महिला गैर सरकारी संस्था महासंघले पनि पीडितको न्यायको लागि र पीडकलाई हदैसम्मको कारवाहीको लागि जोडदार माग गरेको छ ।
यस्ता पीडकलाई राजनीतिक संरक्षण नगरी हदैसम्मको कारवाही गरी यस्ता घटना पुन दोहोरिन नदिन राज्यका हरेक संयन्त्रको महासंघले ध्यानाकर्षण गराउँदै महासंघले घटनाको तुरुन्त छानविनका लागि पनि जोडदार माग पनि गरेको छ ।











