रम्भामा रोकिएको मतगणना कार्य एक हप्तापछि सुरु
पाल्पा, जेठ ६ : पाल्पाको रम्भा गाउँपालिकामा विवाद उत्पन्न भएपछि स्थगित भएको मतगणना कार्य एक हप्तापछि पुनः सञ्चालन भएको छ। सर्वदलीय बैठक बसेर...
पाल्पा, जेठ ६ : पाल्पाको रम्भा गाउँपालिकामा विवाद उत्पन्न भएपछि स्थगित भएको मतगणना कार्य एक हप्तापछि पुनः सञ्चालन भएको छ। सर्वदलीय बैठक बसेर आज अपराह्नबाट मतगणना गर्न थालिएको निर्वाचन अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिए।
उनका अनुसार शुक्रबार बिहानैदेखि गणना गर्ने भनिए पनि सबै दलको सहमतिपश्चात दिउँसोदेखि मात्रै सुरु भएको हो। वडा नं ५ ताहुँको मतगणना गर्ने क्रममा विवाद भएपछि गत वैशाख ३१ गते साँझ ५ बजेदेखि स्थगित भएको थियो। मतगणना सकिएर जोड्ने क्रममा ७४ फर्जी मत भेटिएपछि गणना कार्य स्थगित भएको हो। यहाँ एक हजार ९२२ मत खसेको थियो।
निर्वाचन आयोगले कर्मचारी व्यवस्थापन गरेर रोकिएको मतगणना सुरु गर्न निर्वाचन कार्यालय पाल्पा र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो। आयोगले प्रशासनलाई विशेष सुरक्षा व्यवस्था गरेर भए पनि मतगणना गर्न निर्देशन दिएको हो।
सत्तारूढ गठबन्धनका विभिन्न दलहरुले विज्ञप्ति जारी गर्दै सार्वजनिक नतिजाप्रति असहमति जनाउँदै पुनः मतदानको माग गरेका थिए। विवादका क्रममा मतगणनास्थलमा गठबन्धनका कार्यकर्ता र प्रहरीबीच झडपसमेत भएको थियो। पाल्पाको अन्य नौ पालिकाको नतिजा सार्वजनिकपश्चात् नयाँ जनप्रतिनिधिले पदभार ग्रहणसमेत गरिसकेका छन्।











