आयात बढेका कारण अर्थतन्त्रमा चाप : वर्षमान पुन
काठमाडाैं, जेठ ६ : नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले चालू आर्थिक वर्षमा धेरै नै आयात बढेका कारण अर्थतन्त्रमा चाप परेको बताएका छन्।शुक्रबार...
काठमाडाैं, जेठ ६ : नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले चालू आर्थिक वर्षमा धेरै नै आयात बढेका कारण अर्थतन्त्रमा चाप परेको बताएका छन्।
शुक्रबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तमाथिको छलफलमा भाग लिँदै उनले निर्यातमा केही वृद्धि भए पनि आयात धेरै नै भएका कारण अर्थतन्त्रमा चाप परेको बताएका हुन्।
उनले स्वदेशी वस्तु उत्पादनलाई प्रोत्साहन नगरेसम्म आयात कम नहुने देखिएको धारणा राखे। मुलुकको आर्थिक समस्या समाधानका लागि केही नीतिगत एवं संरचनागत क्षेत्रमा सुधार गर्नुपर्ने उनको भनाइ छ।
पुनले वैदेशिक ऋणको भुक्तानी र दायित्वमा वृद्धि भएकाले वैदेशिक मुद्राको सञ्चितिमा प्रभाव पर्ने भएकाले यसतर्फ ध्यान जानुपर्ने बताए।
उनले ऊर्जा सुरक्षालाई विशेष प्राथमिकताका राखेर लगानी वृद्धि गर्न र जलाशययुक्त आयोजनालाई विशेष प्राथमिकतामा राख्न सुझाव दिए।











