६२६ पालिका गनिसक्दा २८८ पालिकामा कांग्रेसकाे जित, १७९ मा एमाले र १११ मा माओवादी विजयी
कांग्रेसले नगरपालिका उपप्रमुख र गाउँपालिक उपाध्यक्ष गरी २६१ स्थानमा जितेको छ भने ४० स्थानमा अग्रता लिइरहेको छ।
काठमाडौं, जेठ ६ : स्थानीय तह निर्वाचन-२०७९ निर्वाचनअन्तर्गत हालसम्म ६२६ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसक्दा २८८ पालिकामा विजय हासिल गर्दै नेपाली कांग्रेस अग्रस्थानमा रहन सफल भएको छ।
आज (शुक्रबार) अपराह्न १ः३० बजेसम्म सार्वजनिक परिणामअनुसार कांग्रेसले नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्ष गरी २८८ पालिकामा जित हासिल गरिसक्दा ३८ पालिकामा अग्रता लिइरहेको छ।
कांग्रेसले नगरपालिका उपप्रमुख र गाउँपालिक उपाध्यक्ष गरी २६१ स्थानमा जितेको छ भने ४० स्थानमा अग्रता लिइरहेको छ।
दोस्रो स्थानमा रहेको एमालेले प्रमुख र अध्यक्ष गरी १७९ पालिकामा जित हासिल गरेको छ भने १८ पालिकामा अग्रस्थान कायम गरेको छ। उपप्रमुख–उपाध्यक्षमा एमाले २०१ स्थानमा विजयी भएको छ भने ३० अग्रता कायम गरेको छ।
तेस्रो स्थानमा माओवादी केन्द्र रहेका छ। माओवादी केन्द्र १११ स्थानमा विजयी भएको छ भने ८ पालिकामा अग्रस्थानमा छ। हालसम्म माओवादी केन्द्रले उपप्रमुख र उपाध्यक्ष गरी ११९ जितेको छ भने ८ स्थानमा अग्रता कायम गरेको छ।
जनता समाजवादी पार्टी (जसपां) ले २० वटा पालिका प्रमुखमा जित हात पार्दा १४ स्थानको मतगणनामा अगाडि बढिरहेको छ। जसपाले २१ उपप्रमुख–उपाध्यक्ष तिजेको छ भने सोही पदका लागि २ स्थानमा अग्रता लिइरहेको छ।
नेकपा एकीकृत समाजवादीले पनि १४ पालिकामा प्रमुख पद जितिसकेको छ भने ५ स्थानमा अग्रता कायम गरेको छ। २१ स्थानमा उपप्रमुख र उपाध्यक्ष जितिसकेको एकीकृत समाजवादीले २ स्थानमा अग्रता लिइरहेको छ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ७ वटा प्रमुख/अध्यक्ष पद जितेको छ भने ८ वटामा अग्रता लिएको छ। उपप्रमुख÷उपाध्यक्ष पदमा ७ वटामा विजय हासिल गरेको लोसपाले ५ स्थानमा अग्रता कायम भने गरिरहेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) लगायत अन्य विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुले २५ पालिकाको प्रमुखमा विजय हासिल गर्दा ८ स्थानमा अगाडि लिइरहेका छन्।
पालिका उपप्रमुखमा पनि १५ स्वतन्त्र उम्मेदवारले जितिसक्दा ३ स्थानमा अग्रता लिइरहेका छन्।











