मोरङको बेलबारीमा एमाले र रतुवामाईमा कांग्रेसकाे जित
माेरङ, जेठ ६ : वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा मोरङका दुई नगरपालिका बेलबारी र रतुवामाईको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।विराटनगरस्थित प्रदेश...
माेरङ, जेठ ६ : वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा मोरङका दुई नगरपालिका बेलबारी र रतुवामाईको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।
विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयका अनुसार बेलबारी नगरपालिकाको प्रमुखमा एमालेका दिलप्रसाद राईले १६ हजार ४२२ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेन्द्रप्रसाद सुवेदीले १५ हजार ६२० मत प्राप्त गरे।
उपप्रमुखमा कांग्रेसका नितु थापाले १३ हजार ७३१ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तीलकुमारी न्यौपानेले १३ हजार ६०५ मत प्राप्त गरे। ११ वटा वडा रहेको बेलबारीमा वडाध्यक्ष छवटामा कांग्रेस, चारवटामा एमाले र एक वडामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।
त्यस्तै रतुवामाई नगरपालिकाको प्रमुखमा कांग्रेसका नागेश्वरप्रसाद सिंह गनगाँई १३ हजार १३५ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका दुर्गाबहादुर विष्टले ११ हजार २५२ मत प्राप्त गरे।
उपप्रमुखमा एमालेका दमयन्तादेवी चुडाल नौ हजार ३७४ मत प्राप्त गरी विजयी भएका छन्। उनको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सुमन कालिकोटेले ८ हजार ४ सय ७९ मत प्राप्त गरे। १० वटा वडा रहेको यस पालिकामा पाँचवटामा एमाले, चारवटामा कांग्रेस र एकमा माओवादी केन्द्रका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन्।











