धरानमा स्वतन्त्र उम्मेदवार हर्कले लिए १ हजार बढीको अग्रता, इटहरीमा हेमकर्णको अग्रता कायमै

सुनसरी, जेठ ६ : सुनसरीको दुई उपमहानगरपालिका धरान र इटहरीको मतगणना जारी छ। धरानमा स्वतन्त्र उम्मेदवार हर्कराज राईले १ हजार बढी मतको अग्रता लिँदा इटहरीमा नेपाली कांग्रेसका हेमकर्ण पौडेलले अग्रतालाई निरन्तरता दिएका छन्।
लौरौ चुनाव चिन्ह पाएका हर्कले ११ हजार ४ सय ८० मत प्राप्त गर्दा नेपाली कांग्रेसका किशोर राईले १० हजार ३ सय ९२ मत प्राप्त गरेका छन्। यस्तै एमालेकी मञ्जु भण्डारी सुवेदीले ८ हजार ४ सय ६८ मत प्राप्त गरेकी छिन्।
उपमेयरमा भने माओवादीका आइन्द्रविक्रम बेघाले १९ हजार ९ सय ३८ मत प्राप्त गर्दा एमालेका पदमप्रसाद लिम्बूले ११ हजार ४ सय २ मत प्राप्त गरेका छन्।
यस्तै इटहरी उमहानगरपालिमा कांग्रेसका हेमकर्ण पौडेलले २३ हजार ६ सय ७७ मत ल्याउँदा नेकपा एमालेका यामकुमार सुब्बाले १९ हजार ९ सय ९५ मत ल्याएका छन्।
इटहरीमा उपमेयरमा एमालेले फराकिलो अग्रता बनाएको छ। एमालेकी संगीता चौधरीले २२ हजार ९ सय ७७ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टले १३ हजार ४ सय ७९ मत प्राप्त गरेका छन्।











