मोरङको ग्रामथानमा कांग्रेस, उर्लाबारीमा एमाले विजयी
ग्रामथानको अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारु ७ हजार ६ सय ५ मत प्राप्त गरे भने उर्लाबारीमा निर्वाचित एमालेका गंगाप्रसाद खरेलले १२ हजार १ सय ५६ मत प्राप्त गरे।
काठमाडाैं, जेठ ६ : मोरङको ग्रामथान गाउँपालिकामा नेपाली कांग्रेस तथा उर्लाबारी नगरपालिकामा नेकपा एमाले विजयी भएको छ।
ग्रामथानको अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारु ७ हजार ६ सय ५ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शिवनारायण माझी थारुले ६ हजार ९३ मत प्राप्त गरे ।
उपाध्यक्षमा एमालेकी गुणावतीदेवी थारु ६ हजार १ सय २३ मत ल्याउँदै निर्वाचित भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी भुखनीकुमारी माझीले ५ हजार ४ सय ४८ मत प्राप्त गरिन्।
७ वडा रहेको यस पालिकामा पाँचमा एमाले तथा एक÷एकमा कांग्रेस र माओवादी केन्द्र विजयी भएका छन् ।
यसैगरी उर्लाबारी नगरपालिकाको प्रमुखमा एमालेका गंगाप्रसाद खरेल निर्वाचित भएका छन्। उनले १२ हजार १ सय ५६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खड्गबहादुर फागोले १० हजार २ सय ९० मत प्राप्त गरे।
उपप्रमुखमा एमालेकी मीनाकुमारी खतिवडा १० हजार ७२८ मत प्राप्त गरी विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सीता कार्कीले १० हजार ६४० मत प्राप्त गरिन्।
९ वडा रहेको उर्लाबारीका ५ वडा एमाले र ४ वडा कांग्रेसले जितेको छ।











