ललितपुरका २९ मध्ये ९ वडाको गणना सकिँदा ५ वडाध्यक्षमा कांग्रेस
ललितपुर, जेठ ५ : ललितपुर महानगरपालिकमा हालसम्म नौ वटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। नेकपा ९एकीकृत...
ललितपुर, जेठ ५ : ललितपुर महानगरपालिकमा हालसम्म नौ वटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। नेकपा ९एकीकृत समाजवादी०ले दुई र नेकपा एमालेले एक र एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।
नेपाली कांग्रेसबाट वडा नं ४ मा सन्तोष खड्का, वडा नं ६ मा रुपेन्द्रराज शाक्य, वडा नं ७ मा कुलबहादुर महर्जन वडा नं ८ मा बाबुरत्न महर्जन र वडा नं १० मा रवीन व्यञ्जनकार विजयी हुनुभएको छ। वडा नं २ मा नेकपा एकीकृत समाजवादीका राजेशकुमार महर्जन र ३ मा श्रीगोपाल महर्जन विजयी भएका छन्। वडा नं १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार र वडा नं ५ मा एमालेका विकासमान श्रेष्ठले जितेका छन्। हाल वडा नं ९, ११ र १२ को गणना जारी छ।
वडा नं १० मा यसअघि १० पटकसम्म सोही स्थानबाट विजयी भएका स्वतन्त्र उम्मेदवार नरसिंह व्यञ्जनकार विजयी हुन सकेनन्। रविनले ८२५ मत पाउनुभएको छ भने निकटम प्रतिस्पर्धी नरसिंहले ५७८ मत पाएका छन्।
महानगरमा २९ वडा रहेकामा हालसम्म नौ वडाको मात्रै परिणाम आएको छ। शुक्रबार मतदान भएपछि शनिबारदेखि मतगणना सुरु भएको थियो। सुरुमा एक ठाउँमा मात्रै गणना भएकामा हाल तीन वडाको एकै पटक गणना भइरहेको छ। अन्तिम मतपरिणाम आउन अझै केही दिन लाग्ने देखिएको छ।
महानगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्यको अग्रता कायम रहेको छ। पछिल्लो विवरणअनुसार नेपाली कांग्रेसका उम्मेदवार महर्जनले १७ हजार ७०० र एमालेका हरिकृष्ण व्यञ्जनकारले नौ हजार ५४४ मत पाएका छन्।
उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जली शाक्यले नौ हजार ६६६ मत र माओवादी केन्द्रका बाबुराजा बज्राचार्यले ६ हजार २८ मत पाएका छन्।











