विराटनगरमा कोइराला ४ हजार बढी मतान्तरसहित अग्रस्थानमा, पछिपछि एमालेका सागर
गठबन्धन दल जनता समाजवादी पार्टी नेपालका तर्फबाट उपप्रमुखका उम्मेदवार अमरेन्द्र यादव प्रतिस्पर्धीसँग ६ हजार ७३७ मतले पछाडि रहेका छन्।
विराटनगर, जेठ ५ : विराटनगर महानगरपालिकामा गठबन्धन दलका प्रमुखको उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाले चार हजार ८३५ मतले अग्रता लिएका छन्।
यसैगरी गठबन्धन दल जनता समाजवादी पार्टी नेपालका तर्फबाट उपप्रमुखका उम्मेदवार अमरेन्द्र यादव प्रतिस्पर्धीसँग ६ हजार ७३७ मतले पछाडि रहेका छन्।
मुख्य निर्वाचन कार्यालयका अनुसार महानगर प्रमुखका उम्मेदवार कोइरालाले १९ हजार १७३, नेकपा एमालेका सागर थापाले १४ हजार ३३८, स्वतन्त्र उम्मेदवार उमेश यादवले ६ हजार १८७ र राप्रपाका प्रल्हादप्रसाद साहले तीन हजार ७०८ मत प्राप्त गरेका छन्।
यसैगरी उपप्रमुखमा एमालेका शिल्पा निराला कार्कीले १६ हजार ५५२, गठबन्धन दलतर्फका यादवले ९ हजार ८१५, राप्रपाको विन्दाकुमारी लुइँटेल आचार्यले ४ हजार ४९३ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने पोखरेलले तीन हजार ५४९ मत प्राप्त गरेका छन्।
यसैबीच विराटनगर महानगर वडा १५ को वडाध्यक्षमा नेपाली कांग्रेसका प्रकाश साह १ हजार ८९७ मत ल्याई निर्वाचित भएका छन्। महानगरमा अहिले वडा ३, ४, ५, ६, ८, ११, १२ र १४ को मतगणना भइरहेको छ।











