Kathmandu Press

वाणगंगामा एमाले र कपिलवस्तुमा जसपा विजयी

कपिलवस्तु, जेठ ५ : कपिलवस्तुको वाणगंगा नगरपालिकाको प्रमुख र उपप्रमुख एमालेले जित हात पारेको छ भने कपिलवस्तु नगरपालिकाको प्रमुख उपप्रमुखमा जनता समाजवादी पार्टी...
वाणगंगामा एमाले र कपिलवस्तुमा जसपा विजयी

कपिलवस्तु, जेठ ५ : कपिलवस्तुको वाणगंगा नगरपालिकाको प्रमुख र उपप्रमुख एमालेले जित हात पारेको छ भने कपिलवस्तु नगरपालिकाको प्रमुख उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) ले विजय हासिल गरेको छ।

वाणगगंगामा एमालेका नगर प्रमुखका उम्मेदवार चक्रपाणि अर्यालले १८ हजार ९९९ मत प्राप्त गरी निर्वाचन जितेका हुन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रविराज आचार्यले १८ हजार ३६० मत प्राप्त गरेका हुन्। दुवैबीच ६३९ मतको अन्तर छ।

त्यसैगरी, उपप्रमुखमा एमालेकै रीता चौधरीले १९ हजार ३९८ मत ल्याई चुनाव विजयी भइन्। उनका प्रतिस्पर्धी कांग्रेसकी तारावती थारूले १८ हजार ४६४ मत प्राप्त गरेका छन्। वाणगंगामा एमालेले नगरप्रमुख र उपप्रमुखसहित ६ वटा वडा जितेको छ। कांग्रेसले चार वडा र माओवादीले एउटा वडा जितेको छ।

कपिलवस्तुको नगरप्रमुखमा जनता समाजवादी पार्टी नेपालको तर्फबाट सुदीप पौडेल निर्वाचित भएका छन्। पौडेलले ११ हजार ९०६ मत प्राप्त गरेका छन्। पौडेलले एमालेबाट प्रमुखको उम्मेदवार बनेका डा. राजेश गुप्तालाई ३ हजार १२४ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन्। गुप्ताले ८ हजार ७८२ मत पाए।

त्यस्तै उपप्रमुखमा जसपाकै सुनिता गुप्ता निर्वाचित भएकी छन्।  उनी ९ हजार ५७० मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी एमालेकी तुलसा पाण्डेय गैरेले ९ हजार ३७९ मत प्राप्त गरेका छन्।

कपिलवस्तुका वडामा भने कांग्रेसले धेरै सिट जितेको छ। वडा ३ ,५, ८,१० र १२ कांग्रेसले जितेको छ। वडा २ ,४,६ र ९ एमालेले जितेको छ। वडा १, ११ र  ७ मात्र जसपाले जितेको छ।

प्रकाशित मिति: १३:४७ बजे, बिहीबार, जेठ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्