चितवनको कालिका र इच्छाकामनामा एमाले विजयी

काठमाडौं, जेठ ४ : चितवनको कालिका नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
प्रमुखमा नेकपा एमालेका विनोद रेग्मीले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शिवराम केसीलाई १४३ मतान्तरले विजयी भएका हुन् । रेग्मीले १० हजार ७१४ मत प्राप्त गर्दा केसीले १० हजार ५७१ मत प्राप्त गरे ।
यस्तै उपप्रमुखमा पनि नेकपा एमालेकै बिमला लामाले १० हजार ४४० मत प्राप्त गरे भने गठबन्धनबाट उपप्रमुखको उम्मेदवार बनेकी माओवादी केन्द्रकी सबिता लामाले नौ हजार ६७८ मत प्राप्त गरे ।
यस पालिकामा २४ हजार ३५० मत खसेको थियो । उक्त पालिकामा वडा नं १, ५, ६, ७ र १० मा कांग्रेस, वडा नं २, ४, ९ र ११ मा एमाले तथा वडा नं ३ र ८ मा माओवादी केन्द्र विजयी भयो ।
इच्छाकामना गाउँपालिकामा पनि एमाले
जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार विजयी भए । पाँच दलीय गठबन्धनलाई पराजित गर्दै गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी भएको हो ।
एमालेका तर्फबाट उम्मेदवार बनेका दानबहादुर गुरुङले कांग्रेसकी गीताकुमारी गुरुङलाई एक हजार ५०२ मताअन्तरले पराजित गरे । दानबहादुरले ६ हजार ११० मत प्राप्त गर्दा गठबन्धनकी गीता कुमारीले चार हजार ६०८ मत प्राप्त गरे ।
यस्तै उपाध्यक्षमा एमालेकी माया सिलवाल विजयी भए । उनले गठबन्धनका प्रताप गुरुङलाई ३०० मतान्तरले पराजित गरे । सिलवालले पाँच हजार ३४४ तथा गुरुङले पाँच हजार ४४ मत प्राप्त गरे ।
बाह्र हजार नौ मत खसेको यस पालिकामा वडा नम्बर २, ३, ४, ५ र ६ मा एमाले, वडा नं ७ मा कांग्रेस र वडा नं १ मा माओवादी केन्द्र विजयी भयो छ ।











