बैतडीमा कांग्रेस र एमाले बराबर
बैतडी, जेठ ४ : स्थानीय तहको निर्वाचनमा बैतडीमा नेपाली कांग्रेस र नेकपा (एमाले)ले बराबरी जित हासिल गरेका छन्। मतपरिणामअनुसार कांग्रेस र एमालेले चार/चार...
बैतडी, जेठ ४ : स्थानीय तहको निर्वाचनमा बैतडीमा नेपाली कांग्रेस र नेकपा (एमाले)ले बराबरी जित हासिल गरेका छन्। मतपरिणामअनुसार कांग्रेस र एमालेले चार/चार तथा नेकपा (माओवादी केन्द्र) र स्वतन्त्र उम्मेदवार एक/एक पालिकामा विजयी भएका छन्।
कांग्रेसले पुर्चैंडी र पाटन नगरपालिका तथा शिवनाथ र सिगास गाउँपालिकामा जित हासिल गरेको छ। एमाले दशरथचन्द नगरपालिका तथा पञ्चेश्वर, दोगडाकेदार र सुर्नया गाउँपालिकामा विजयी भएको छ। यस्तै माओवादी केन्द्र मेलौली नगरपालिकामा तथा डिलासैनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।
पुर्चाैंडीमा कांग्रेसका दीपकबहादुर बम नगरप्रमुख तथा उपप्रमुखमा कांग्रेसकै मीना धानुक विजयी भए। बमले एमाले र धानुकले माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गरेका छन्। बमले ५ हजार ८८० तथा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कर्णबहादुर कुँवरले ३ हजार ९६५ मत ल्याए। उपप्रमुखमा धानुकले ५ हजार २०० उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी जानकी बोहराले ४ हजार ६१२ मत ल्याए।
यस्तै पाटन नगरपालिकामा कांग्रेसका गौरीसिंह रावल ६ हजार ८६९ मत ल्याएर विजयी भए। रावलले निकटतम प्रतिद्वन्द्वी एमालेका नारायण भण्डारीलाई एक हजार ५७९ मतान्तरले पराजित गरेका हुन। शिवनाथ गाउँपालिकामा कांग्रेसका कर्णसिंह साउदले एमालेकी सुकन्तला साउदलाई ३१६ मतान्तरले पछि पार्दै विजयी भए। साउदले तीन हजार १६५ मत प्राप्त गरे।
यसैगरी सिगास गाउँपालिकामा कांग्रेसका हरिसिंह धामी तीन हजार ४४९ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जस्वीरसिंह बोहराले एक हजार ६४९ मत प्राप्त गरे। दशरथचन्द नगरपालिकाको प्रमुखमा एमालेका पुष्कराज जोशी ‘लख्खाभाइ) ६ हजार ६८५ मत ल्याइ विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गजेन्द्र रावलले पाँच हजार ४२७ मत ल्याए।
यस्तै पञ्चेश्वर गाउँपालिकामा एमालेका गोरखबहादुर चन्द विजयी भए। उनले तीन हजार ७४२ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रमेश भण्डारीले दुई हजार ४८८ मत प्राप्त गरे। दोगडाकेदार गाउँपालिकामा एमालेका चक्र कार्की विजयी भए। उनले चार हजार ९१७ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवराज जोशीले चार हजार ९१ मत पाए। सुर्नया गाउँपालिकामा एमालेका अम्मर कुँवरले नेकपा (एकीकृतका समाजवादी) का नरेन्द्र विष्टलाई २६ मतले पराजित गरे। कुँवरले दुई हजार ३५० तथा विष्टले दुई हजार ३२४ मत प्राप्त गरे।
यसैगरी मेलौली नगरपालिका प्रमुखमा माओवादी केन्द्रका भीमबहादुर चन्द विजयी भए। उनले तीन हजार ९६ तथा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जगदीश नायकले दुई हजार ३७६ मत प्राप्त गरे। डिलासैनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी विजयी भए। जोशीले तीन हजार १८९ तथा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका लोकेन्द्र रानाले दुई हजार ६४१ मत पाए। बैतडीमा १० स्थानीय तहमा ८४ वडाध्यक्ष र ३३६ वडा सदस्य निर्वाचित भएका छन्।











