लामो उडानमा यात्रुको अवस्था अध्ययन गर्न न्यूयोर्कदेखि सिड्नी
लामो दूरीको उडानको मानसिक र भौतिक सीमा परीक्षण गर्न गत सप्ताहन्त कान्तासले न्यूयोर्कदेखि सिड्नीसम्मको पहिलो सिधा व्यावसायिक उडान भरेको छ।
अष्ट्रेलियाको राष्ट....
लामो दूरीको उडानको मानसिक र भौतिक सीमा परीक्षण गर्न गत सप्ताहन्त कान्तासले न्यूयोर्कदेखि सिड्नीसम्मको पहिलो सिधा व्यावसायिक उडान भरेको छ।
अष्ट्रेलियाको राष्ट्रिय ध्वजावाहकले यो बर्ष योजना बनाएको तीन वटा “अल्ट्रा लङ हल” परीक्षण उडानमध्ये यो पहिलो हो।
अनुसन्धाताहरूले १९ घण्टै ननस्टप यात्रामा यात्रुलाई पर्ने प्रभाव अनुगमन गरेका थिए। करिब ४० जना यात्रु र चालक दल बोइङ ७८७ मा सवार भएका थिए। अधिकांश कान्तासकै कर्मचारी रहेका थिए। गत शुक्रबार न्यूयोर्कबाट उडेको सो विमान आइतबार बिहान अष्ट्रेलिया पुगेको थियो।
उडानको भार कम गर्न यात्रु संख्या सीमित राखिएको थियो। करिब १६ हजार किलोमिटर लामो सो दूरी पूरा गर्नलाई बीचमा इन्धन नभरी यात्रा पूरा गरिएको थियो। विमान प्रशान्तमाथि पश्चित दिशामा उडेको थियो।
कुनै पनि एयरलाइन्सले यो कीर्तिमान बनाएको छैन। अस्ट्रेलियाको कान्तासका प्रमुख कार्यकारी अधिकृत एलन जोयसले यसलाई “उड्डयनमा अन्तिम सीमा” बताएका छन्।
विमानमा सवार अष्ट्रेलियाका दुई विश्वविद्यालयका वैज्ञानिकहरूले यात्रुको निद्राको प्रवृत्ति, मेलाटोनिनको स्तर र खानाको अनुगमन गरेका थिए भने पाइलटहरूले पनि मष्तिष्कको तरंग र सतर्कता मापन गर्ने एउटा उपकरण लगाएका थिए। न्यूयोर्क र सिड्नीबीच १५ घण्टाको समय भिन्नता छ। “जेटल्याग”को प्रभाव पनि निरीक्षण गरिएको थियो।
“प्रस्थान र आगमन स्थानबीच समयको अधिक भिन्नता र पश्चिमभन्दा पूर्व यात्रा गर्दा मानिसहरू बढी जेटल्यागको अनुभव गर्छन् भन्ने हामीलाई थाहा छ,” युनिभर्सिटी अफ सिड्नीका प्राध्यापक स्टिफन सिम्पसनले भने, “तर जेटल्यागबारे मानिसहरू एकदमै भिन्न अनुभव गर्छन्। जेटल्याग र यात्राको थकान के कारणले हुन्छ भन्नेबारे अझ धेरै अनुसन्धान आवश्यक छ। यसो हुनसके लामी दूरीको उडानको प्रभाव कम गर्न सक्छौं।”
कान्तासले पोहोर साल अष्ट्रेलियाको पर्थदेखि लन्डनसम्म पहिलो सीधा उडान सेवा सुरू गरेको थियो। १७ घण्टा लामो सो यात्रा विश्वकै लामो यात्रुवाहक उडान मध्ये एक हो। कान्तासले आउने महिनाहरूमा लन्डनदेखि सिड्नीसम्मको अर्को परीक्षण उडान पनि गर्नेछ। अर्थतन्त्र बलियो भए एयरलाइन्सले म्याराथन रूटमा व्यावसायिक सेवा सुरू गर्नेबारे विचार गरिरहेको छ। वर्षको अन्त्यमा उडानको वैधानिकताबारे निर्णय लिइनेछ। यो अन्तत: व्यावसायिक निर्णय भएको जोयसले बताए।
पाइलटहरूको चिन्ता
अर्को बाधा संस्थाभित्रै हुनेछ। कान्तासका पाइलटहरूले “अल्ट्रा लङ रेञ्ज” उडानको प्रभाव र त्यसका सुरक्षा मापदण्डबारे प्रश्न उठाएका छन्।
कान्तासका पाइलटहरूको प्रतिनिधित्व गर्ने दि अष्ट्रेलियन एन्ड इन्टरनेसनल पाइलट्स एसोसिएसन (एआइपिए) ले यी परीक्षण उडानहरूले सीमीत तथ्याङ्क मात्रै उपलब्ध गराउने भएकाले वास्तविक उडानमा पर्याप्त मात्रामा लागू नहुने जनाएको छ।
एआइपिएका सुरक्षा निर्देशक शेन लोनीले चालक दलमा पर्ने प्रभावबारे एउटा दीर्घकालीन वैज्ञानिक अध्ययन गर्नुपर्ने माग गरेका छन्। “उच्च कार्यसम्पादन प्रदर्शन गर्न अत्यधिक लामो उडानका क्रममा पर्याप्त मात्रा गुणस्तरीय विश्राम पाइँदैन कि भनेर पाइलटहरू चिन्तित छन्। कुनै अनिच्छित परिणाम नहोस् भन्ने सुनिश्चित गर्न प्रारम्भिक उडानमा उल्लेखनीय सावधानी अपनाउनुपर्छ भन्ने हाम्रो विश्वास हो,” उनले भने।
कान्तासका एक अधिकारीले ती परीक्षण उडानहरू सुरक्षित उडान कसरी गर्ने, त्यसको मूल्याङ्कनसम्बन्धी कार्यको एउटा अंश मात्रै भएको बताए। एयरबस र बोइङ दुवैले ती लामो दूरीको यात्राका लागि विमानहरू प्रस्ताव गरेका छन्। कुन कम्पनी छनोट हुनेछ भन्ने पूर्वनिर्धारित नभएको जोयसले बताए।