नेपाली चलचित्र स्वर्णिम महोत्सव कात्तिक तेस्रो साता हुने
काठमाडाैं, कात्तिक ७ : नेपाल चलचित्र निर्माता संघको आयोजनामा हुन लागेको तराई, पहाड, हिमालको उत्सव- 'नेपाली चलचित्र स्वर्णिम महोत्सव -२०७६'....

काठमाडाैं, कात्तिक ७ : नेपाल चलचित्र निर्माता संघको आयोजनामा हुन लागेको तराई, पहाड, हिमालको उत्सव- 'नेपाली चलचित्र स्वर्णिम महोत्सव -२०७६' को औपचारिक घोषणा भएको छ।
बिहीबार पत्रकार सम्मेलन गरी संघले दर्शक र कलाकारबीचको दूरी कम गर्न महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो। महोत्सव कात्तिक २१, २२ र २३ गते वीरगञ्जमा हुनेछ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणाले चलचित्र संघलाई पनि उद्योगको रुपमा लैजानुपर्ने बताइन्। ‘नेपालमा उद्योग भन्ने बित्तिकै उत्पादनमुलक वस्तु मात्र सोच्छाैं,’ उनले भनिन्,‘नेपाली चलचित्र, गीतसंगीतले अहिले निकै फड्को मारिसकेको छ। ’
उनले नेपाललाई चलचित्र सुटिङ क्षेत्र बनाउन लागेको कुरा निकै राम्रो रहेको बताइन्। चलचित्रको भाषाको माध्यमबाट भाषा, कला, साहित्य र संस्कृतिको जगर्ना एवं पर्यटन प्रवर्द्धन गर्ने महोत्सवको प्रमुख उद्देश्य हो। संघका अनुसार देशका ठूला उद्योगपति र चलचित्रकर्मीबीचच सहकार्य गर्दै स्वदेशी तथा विदेशी लगानीलाई आकर्षित गर्नु पनि महोत्सवको अर्को पाटो हो।
चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले वीरगञ्जमा दर्शकहरुले देखाएको प्रेमको सम्झदै त्यहाँको जीवनशैलीलाई नेपाली चलचित्रमा समेट्न नसकेकोमा दुःख लागेको बताए। ‘वर्षौ पहिले पनि २ प्रतिशतले नेपाली फिल्म हेर्ने गर्थे,’ उनले भने,‘अहिले पनि त्यो संख्या बढेको छैन।’
उनका अनुसार महोत्सवमा भारतीय कलाकारहरु पनि सहभागी हुनेछन्। भारतीय चलचित्र थ्रि इडिएट्स, मुन्ना भाई, पीके चलचित्रका छायाँकार सिके धरोहरका साथमा फोटोग्राफर, भिडियाग्राफर पनि सहभागी हुनेछन्। महोत्सवमा नेपाली कलाकार र भारतीय कलाकारबीच अन्तर्क्रिया पनि हुनेछ।
‘तराई, पहाड र हिमालको उत्सव, नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६’ नारा तय गरिएको छ। चलचित्र विकास बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघको व्यवस्थापन हुने महोत्सवको सह–आयोजकमा वीरगञ्ज उद्योग संघ रहेको छ।












