गैंडाकोट प्रमुख–उपप्रमुखमा कांग्रेस विजयी
नवलपरासी, जेठ ४ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ।यसअघि सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा गैंडाकोटमा नगर प्रमुख गुमाएको...
नवलपरासी, जेठ ४ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ।
यसअघि सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा गैंडाकोटमा नगर प्रमुख गुमाएको कांग्रेसले यसपटक बहुमत वडाध्यक्षसहित नगरप्रमुख र उपप्रमुख जितेको हो।
गैंडाकोटको नगरप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार मदनभक्त अधिकारी निर्वाचित भएका छन्। एमालेका उम्मेदवार छत्रराज पौडेललाई २ हजार ८ सय ४९ मतान्तरले पछि पार्दै गैंडाकोटको नगरप्रमुखमा अधिकारी विजयी भएको हो।
नगरप्रमुखमा निर्वाचित अधिकारीले १६ हजार ४ सय ५५ मत प्राप्त गर्दा निवर्तनमा नगर प्रमुखसमेत रहेका एमाले उम्मेदवार पौडेलले १३ हजार ६ सय ६ मत प्राप्त गरे।
त्यसैगरी गैँडाकोट नगर उपप्रमुखमा समेत कांग्रेसकी उम्मेदवार शान्ति कोइराला निर्वाचित भएकी छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नगर उपप्रमुखका उम्मेदवार तुलाराम पौडेललाई करिब दोब्बर मतान्तरले पराजित गर्दै कोइराला नगर उपप्रमुखमा निर्वाचित भएका हुन्।
नगर उपप्रमुखमा निर्वाचित कोइरालाले १६ हजार ११४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी पौडेलले ८ हजार ६ सय ४० मतमात्रै प्राप्त गरे।
जम्मा १८ वटा वडा रहेको गैँडाकोटमा नगरप्रमुख र उपप्रमुख जितेको कांग्रेसले ११ वटा वडाध्यक्ष समेत जितेको छ।
गैँडाकोटको नगरप्रमुख गुमाएको एमालेले ६ वटा वडाध्यक्ष जितेको छ भने माओवादी केन्द्रले एउटा वडाध्यक्ष जितेको छ।











