Kathmandu Press

एघारमध्य दुई उपमहामनगरमा स्वतन्त्र उम्मेदवार अगाडि, कहाँ कसको अग्रता ?

मतगणना जारी रहेको १० उपमहानगरपालिकामध्य चार उपमहानगरमा कांग्रेस, दुई उपमहानगरमा एमाले, दुईमा स्वतन्त्र उम्मेदवार, माओवादी केन्द्र र राप्रपाले एक÷एक उपमहानगरमा अग्रता लिएको छ । तुलसीपुरमा मतगणना हुन सकेको छैन।
एघारमध्य दुई उपमहामनगरमा स्वतन्त्र उम्मेदवार अगाडि, कहाँ कसको अग्रता ?

काठमाडौं, जेठ ३ : स्थानीय तहको निर्वाचन सम्पन्न भएको चौथो दिन देशभरका ११ उपमहानगरपालिका मध्य १० उपमहानगरको मतगणना जारी छ। सबै उपमहानगरपालिकामा गठबन्धनले तालमेल गरेको छ । 

पाँच दलबीच तालमेल भएपनि १० मध्य पाँच उपमहानगरपालिकामा मात्रै गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्। तुलसीपुरको मतगणना अझै सुरु भएको छैन। ७ उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिएको कांग्रेसले ४ वटा उपमहानगरमा मात्रै अग्रता लिएको छ। 

त्यस्तै माओवादी केन्द्रले दुई उपमहानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएको भएपनि एउटामा मात्रै अग्रता लिइरहेको छ। बाँकी ६ उपमहानगरपालिकामध्य दुई उपमहानगरमा नेकपा एमाले र दुईमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले एक उपमहानगरमा अग्रता लिएको छ।

धनगढीमा स्वतन्त्र उम्मेदवारको दोब्बर अग्रता 

धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले फराकिलो मतान्तरले अग्रता लिएका छन् । मंगलबार साँझसम्मको मतपरिणाम अनुसार हमालले ७ हजार ८१६ मत पाएका छन् भने कांग्रेसका नृपबहादुर वडले ३ हजार ८७१ मत पाएका छन्। एमालेका रणबहादुर चन्द १ हजार ९२१ मतसहित तेस्रो स्थानमा छन्।

उपप्रमुखमा भने गठबन्धनबाट माओवादी केन्द्रकी शान्तिकुमारी अधिकारी क्षेत्रीले झिनो अग्रता लिएकी छन्। उनले ३ हजार ४१६ मत पाउँदा एमालेकी कन्दकलाकुमारी रानाले ३ हजपार ३०७ मत ल्याएकी छन्। यहाँ स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार ९ सय मत ल्याएका छन् भने राप्रपाका दुर्गादत्त पन्तले १५५ मत ल्याएका छन्।

हेटौंडामा चर्को प्रतिस्पर्धा

हेटौंडा उपमहानगरपालिकाको मेयरका लागि गठबन्धन र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ। साँझसम्म राप्रपाका दीपकबहादुर सिंहले अग्रता लिएका छन् । उनले ८ हजार ६९३ मतसहित अग्रता लिइरहेका छन् भने माओवादी केन्द्रकी मीना कुमारी लामाले ८ हजार ३५३ मत पाएकी छन्। यहाँ नेकपा एमालेका अनन्त प्रसाद पौडेलले ६ हजार ८५३ मत पाएका छन्। 

उपप्रमुखतर्फ गठबन्धनबाट कांग्रेसका उम्मेदवार राजेश बानियाँले ११ हजार ७९१ मत सहित फराकिलो अन्तरले अग्रता लिएका छन्। त्यस्तै नेकपा एमालेकी सुमित्रा काफ्लेले ८ हजार ३३ मत पाएकी छन्। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी इन्दीरा न्यौपानेले १ हजार ५७६ मत ल्याएकी छन्। 

बुटवलमा कांग्रेस अगाडि 

मंगलबार साँझसम्मको मत परिणाम अनुसार बुटवल उपमहानगरपालिकामा गठबन्धनबाट कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले फराकिलो अग्रता बनाएका छन्। उनले ११ हजार ९८६ मत ल्याउँदा नेकपा एमालेका बाबुराम भट्टराईले ७ हजार ८७९ मत पाएका छन्। त्यस्तै मृगेन्द्रकुमार शेरचन २ हजार २८५ मत ल्याएर तेस्रो स्थानमा छन्। 

उपमेयरमा नेकपा एमालेकी सावित्रादेवी अर्यालले अग्रता लिएकी छन् । उनले ८ हजार ८१४ मत पाउँदा एकीकृत समाजवादीका चीनबहादुर गुरुङले ६ हजार ३७६ मत पाएकी छन्। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी भगवती पाण्डेले २ हजार ३६३ मत पाएकी छन्।
 

नेपालगञ्ज उपमहानगरमा विष्टको दोब्बर अग्रता 

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार प्रशान्त विष्टले दोब्बर मतान्तरले अग्रता कायम गरेका छन्। उनले १२ हजार ८०६ मत पाउँदा एमालेका पशुपति दयाल मिश्रले ६ हजार १४ मत पाएका छन्। राप्रपाका नन्दलाल वैश्य ५ हजार १५५ मत तेस्रो स्थानमा छन्। 

उपमेयरतर्फ जसपाका कमरुद्दीन राई १० हजार ४२३ मतसहित अगाडि छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका बिन्दु चर्ति मगरले ६ हजार ६६१ मत ल्याउँदा एमालेकी शान्तिदेवी ढकाल ५ हजार ७१७ मत सहित तेस्रो स्थानमा छिन्। यहाँ राप्रपा नेपालकी राजश्री शाहले ४७६ मत ल्याएकी छन्। 

धरानमा पनि कांग्रेस अगाडि 

सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार किशोर राईले ५ हजार ७११ मतसहित अग्रता लिएका छन् भने स्वतन्त्र उम्मेदवार हर्कराज राई ५ हजार ११३ मतसहित दोस्रो स्थानमा रहेर प्रतिस्पर्धामा छन्। त्यस्तै एमालेकी मन्जु भन्डारी ५ हजार ३५ मत ल्याएकी छन्। 

उपप्रमुखमा एमालेका पदमप्रसाद लिम्बुले ६ हजार ५०१ मतसहित अग्रता लिएका छन् । यहाँ माओवादी केन्द्रका अइन्द्रविक्रम बेघा ६ हजार ४१२ मतसहित प्रतिस्पर्धामा छन्। त्यस्तै राप्रपाकी पूर्णमाया राईले २३५ मत पाएकी छन्। 

इटहरीमा पौडेलको फराकिलो अग्रता 

सुनसरीकै इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले अग्रता लिएका छन् । उनले १० हजार १०२ मत पाउँदा एमालेका यामकुमार चुङ्गवाङ सुब्बाले ८ हजार ५९ मत ल्याएका छन्। त्यस्तै राप्रपाका आकाश हाङ्ग लिम्बुले ९३७ मत पाएका छन्। 

उपप्रमुखतर्फ एमालेकी संगीताकुमारी चौधरीले ९ हजार २१ मतसहित अग्रता लिएकी छन् भने एकीकृत समाजवादीका केशवकुमार विष्टले ६ हजार १४८ मतसहित चौधरीलाई पछ्याइरहेका छन्। राप्रपाकाी बबिताकुमारी चौधरीले १ हजार २२२ मत पाएकी छन्। 

घोराहीमा एमाले अगाडि 

दाङको घोराही उपमहानगरपालिकामा नेकपा एमालेका नरुलाल चौधरीले १८ हजार १२६ मतसहित अग्रता लिएका छन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका हेमराज शर्मा पोख्रेलले १४ हजार ५०२ मत ल्याएका छन् भने राप्रपाकी सरिता देवकोटा २ हजार ७६१ मतसहित तेस्रो स्थानमा छन्। 

उपप्रमुखमा एमालेले अग्रता लिएको छ। एमालेकी हुमाकुमारी डिसीले १७ हजार ५६१ मत पाउँदा कांग्रेसका भुपबहादुर डाँगी क्षेत्रीले १३ हजार ३८७ मत पाएका छन्। राप्रपाका विभु बुढाथोकी १ हजार ८६७ मतसहित तेस्रो स्थानमा छन्। 

जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको दोब्बर अग्रता

धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडीले दोब्बर मतान्तरले अग्रता कायम गरेका छन् । उनले ३ हजार ५१० मत पाउँदा एमालेका शिवशंकर साहले १ हजार ५११ मत पाएकी छन्। अर्का स्वतन्त्र महतोले १ हजार ५ मत पाउँदा लोसपाका मनोज चौधरीले ७३१ मत पाएका छन्। 

उपप्रमुखमा कांग्रेसका किशोरी साहले  ३ हजार ४४२ मतसहित अग्रता लिएका  छन् । एमालेकी रुणादेवी झाले  १ हजार ७३७ मत पाएकी छन् भने स्वतन्त्र उम्मेदवार निर्मलकुमार चौधरीले १ हजार ११० मत पाएका छन्। लोसपाका रिताकुमारी मिश्रले ६७८ मत पाएकी छन्। 

जितपुर सिमरामा मोआवादीको अग्रता

बाराको जितपुरसिमरा उपमहानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार राजन पौडेलले अग्रता लिएका छन् । उनले १३ हजार ७७१ मत पाएका छन् भने सरस्वतीदेवी चौधरीले १२ हजार ७१२ मत पाएकी छन् । लोसपाका संजयकुमार साह ३ हजार ८९० मतसहित तेस्रो स्थानमा छन्। 

उपप्रमुखमा एमालेका भोलाप्रसाद अधिकारीले १२ हजार ९५६ मतसहित अग्रता लिएका छन् । यहाँ कांग्रेसकी मेघा शाही १२ हजार २४३ मतसहित दोस्रो स्थानमा छिन् भने लोसपाकी विपि मोक्तानले ३ हजार ६७२ मत पाएकी छन् ।

कलैयामा एमालेका साह अगाडि 

बाराको कलैया उपमहानगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार विनोदप्रसाद साहले ७ हजार तीनसय मतले अग्रता लिएका छन्। कांग्रेसका राजेश राय यादव ४ हजार ५५३ मतसहित दोस्रो स्थानमा छन् भने लोसपाका जयप्रकाश साह तेलीले २३१ मत पाएकी छन्। 

उपप्रमुखतर्फ जनता समाजवादीका प्रमोदप्रसाद गुप्ताले ५ हजार ४५० मतसहित अग्रता लिएका छन् । एमालेका रौशन परविन ४ हजार ५५८ मतसहित दोस्रो स्थानमा छिन् भने लोसपाकी नासरिन नाजले २१२ मत पाएका छन्। 

 


 

प्रकाशित मिति: १९:०८ बजे, मंगलबार, जेठ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्