दाङको शान्तिनगरको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी
दाङ, जेठ ३ : दाङको शान्तिनगर गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका प्रमोद बस्नेत र उपाध्यक्षमा प्रेमा बुढाथोकीले विजय हासिल गरेका छन्।नवनिर्वाचित बस्नेतले पाँच...
दाङ, जेठ ३ : दाङको शान्तिनगर गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका प्रमोद बस्नेत र उपाध्यक्षमा प्रेमा बुढाथोकीले विजय हासिल गरेका छन्।
नवनिर्वाचित बस्नेतले पाँच हजार ७१६ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का विष्णु केसीले चार हजार ५२४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय शान्तिनगरले जनाएको छ।
त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार मोहन वलीले दुई हजार ७९४ मत प्राप्त गर्नुभएको छ।
त्यस्तै उपाध्यक्षमा कांग्रेसका प्रेमा बुढाथोकीले पाँच हजार ७५० मत ल्याएर विजयी हुनुभएको छ। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कमला भण्डारीले चार हजार २८ मत प्राप्त गरेका छन्। मओवादी केन्द्रका उम्मेदवार राधिका परियारले तीन हजार ८० मत प्राप्त गरिन्।
यसअघि पनि शान्तिनगरमा कांग्रेसले नै जितेको थियो। शान्तिनगरमा कूल २० हजार ८६३ मतदाता रहेकोमा १४ हजार ८०१ मत खसेको थियो। २०७४ सालको स्थानीय तहको निर्वाचनमा शान्तिनगर गाउँपालिकामा एमालेले एउटा मात्रै वडा जितेको थियो भने माओवादीले तीन वटा र कांग्रेसले तीन वटा वडा जितेको तर, यस पटक एमालेले एउटा वडा थप्न सफल भयो। एमालले वडा ४ र ६ जित्न सफल भयो।
यसअघिको निर्वाचनमा पनि एमालेले ४ नम्बर वडा जितेको थियो भने कांग्रेसले जितेको ६ नम्बर वडा पनि जित्न सफल भएको छ।
त्यस्तै कांग्रेसले अहिले वडा ३, ५ र ७ नम्बर जित्न सफल भएको छ। ३ नम्बर यसअघि कांग्रेसले नै जितेको थियो भने वडा ५ र ७ लाई माओवादी केन्द्रबाट खोस्न सफल भएको छ तर कांग्रेसले यसअघि जितेको २ नम्बर वडा आफ्नो हातमा ल्याउन सकेन।
उक्त वडा स्वतन्त्रका सुनिल वली जित्न सफल हुनुभएको छ। वली कांग्रेसमा आबद्ध भए पनि पार्टीले टिकेट नदिएपछि स्वतन्त्र भएर चुनाव लडेका थिए।
सोही वडा कांग्रेसका दाङ जिल्ला सभापति शङ्कर डाँगी, निवर्तमान गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीको वडा हो।
माओवादीले वडा नं १ जितेको र सोही वडामा पुरानै वडाध्यक्ष जङ्गबहादुर पुनः निर्वाचित हुनुभएको छ। अहिले माओवादीले दुईवटा वडा गुमाउनुपर्याे।
बबईको अध्यक्ष उपाध्यक्षमा कांग्रेसको जित
पश्चिम दाङको बबई गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेका कुलबहादुर केसी उपाध्यक्षमा बमकुमारी खड्काले विजय हासिल गर्नुभएको छ।
नवनिर्वाचित केसीले हजार ६१५ मत प्राप्त गर्नुभएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भुवनेश्वर पौडेलले पाँच हजार ५३८ मत प्राप्त गरेका छन्। माओवादी केन्द्रका उम्मेदवार भीमबहादुर वलीले दुई हजार १८ मत प्राप्त गरेकाे निर्वाचन अधिकृतको कार्यालय हापुरेले जनाएको छ। पौडेल निर्वतमान अध्यक्ष छन्।
त्यस्तै उपाध्यक्ष कांग्रेसका बमकुमारी खड्का छ हजार ४०० मत प्राप्त गरी विजयी हुनुभएको छ। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सावित्रा विश्वकर्माले पाँच हजार ४१४ र माओवादी केन्द्रका अञ्जु घर्तीले दुई हजार २५६ मत प्राप्त गर्नुभएको छ।
विश्वकर्मा निर्वतमान उपाध्यक्ष हुनुहुन्छ। कूल २२ हजार १४४ मतदाता रहेकोमा १५ हजार ४२४ अर्थात् ६१.६५ प्रतिशत मत खसेको थियो।











