धनुषाका चार पालिकाको नतिजा : दुईमा कांग्रेस, एकएकमा एमाले र जसपा विजयी
धनुषा, जेठ ३ : धनुषाको चार पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। तीमध्ये दुई वटा पालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जितेको छ...
धनुषा, जेठ ३ : धनुषाको चार पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। तीमध्ये दुई वटा पालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जितेको छ भने एमाले र जनता समाजवादी पार्टी (जसपा) ले एकरएक पालिकामा जित हासिल गरेका छन्।
धनुषाको धनौजी गाउँपालिका र लक्ष्मीनियाँ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने औरही गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा एमाले तथा जनकनन्दनी गाउँपालिकाको अध्यक्षमा जसपाका उम्मेदवार विजयी भएका छन्।
लक्ष्मीनियाँ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका भोगेन्द्र मिश्र र उपाध्यक्षमा फूलकुमारी यादवनी विजयी भएका छन्। अध्यक्षमा तीन हजार ७६५ मत ल्याए कांग्रेसका मिश्र निर्वाचित हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी जसपाका शत्रुधन यादव तीन हजार ४९७ मत प्राप्त गरे।
यस्तै उपाध्यक्षमा कांग्रेसकै फूलकुमार यादवनी ३ हजार ६२८ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी जसपाका विमलाकुमारी यादव ३ हजार ४६० मत ल्याए।
यस्तै धनुषाको धनौजी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएको छ। धनौजी गाउँपालिकाको अध्यक्षमा दुई हजार २६२ ल्याएर कांग्रेसका राजकुमार साह विजयी भएका छ भने उपाध्यक्षमा कांग्रेसकै रामवतीदेवी मण्डल दुई हजार ४३० मतका साथ विजयी भए।
अध्यक्षमा निर्वाचित साहका निकटतम प्रतिद्वन्द्वी लोपसाका जीवेन्द्र झाले दुई हजार १६२ तथा उपाध्यक्षका निकटतम प्रतिद्वन्द्वी लोसपाकै रञ्जितादेवी मण्डलले एक हजार ९०१ मत प्राप्त गरेको निर्वाचन अधिकृत पोषराज खनालले जानकारी दिए।
धनुषाको औरही गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। अध्यक्षमा एमालेका उमाशङ्करप्रसाद साह र उपाध्यक्षमा पुनमकुमारी साह निर्वाचित भएको निर्वाचन अधिकृत रत्नेश शशीले जानकारी दिए।
अध्यक्षमा ३ हजार ३२६ मत ल्याएर साह निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बह्मदेव यादवले दुई हजार ९२३ मत ल्याए। उपाध्यक्षमा एमालेकै पुनमकुमारी साह दुई हजार ९४९ मत ल्याएर निर्वाचित हुनुभएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रिंकीकुमारी मण्डलले दुई हजार ७९० मत प्राप्त गर्नुभयो। कुल छ वटा वडा रहेको सो गाउँपालिकामा १४ हजार ४६८ मतदाता रहेको जनाएको छ।
यस्तै धनुषाको जनकनन्दनी गाउँपालिकाको अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएको छ।
गाउँपालिका अध्यक्षमा तीन हजार १५८ मत प्राप्त गरी जसपाका दिपीनदेव यादव र उपाध्यक्षमा कांग्रेसका कमला सहगल दुई हजार ९९८ मतसहित निर्वाचित भएको निर्वाचन अधिकृत ठूलोबाबु दाहालले जानकारी दिए।
अध्यक्षमा निर्वाचित यादवका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुदेशकुमार चौधरीले दुई हजार ७७८ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा निर्वाचित सहगलका निकटतम प्रतिद्वन्द्वी जसपाका गीता सुडीले दुई हजार ८४० मत प्राप्त गरे।











