Kathmandu Press

प्रतिनिधि सभा बैठकमा एमालेले विरोधको स्वरुप परिवर्तन गर्ने

काठमाडौं, जेठ ३ ः सङ्घीय संसद्को एघारौँ अधिवेशन प्रारम्भ भएको छ। आज अपराह्न ४ बजेदेखि सुरु भएको प्रतिनिधिसभा बैठकको प्रारम्भमा सभामुख अग्निप्रसाद सापकोटाले...
प्रतिनिधि सभा बैठकमा एमालेले विरोधको स्वरुप परिवर्तन गर्ने
फाइल तस्बिर

काठमाडौं, जेठ ३ : सङ्घीय संसद्को एघारौँ अधिवेशन प्रारम्भ भएको छ। आज अपराह्न ४ बजेदेखि सुरु भएको प्रतिनिधिसभा बैठकको प्रारम्भमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाए । 

बैठकको प्रारम्भ मै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ं का सांसदहरुले आसनबाट उभिएर विरोध जनाएपछि सभामुखले एमालेका सांसद प्रदीप ज्ञवालीलाई बोल्न समय दिएका थिए। उनले सम्बोधन गर्दै सदनमा आफ्नो पार्टीले लगातार विरोध गर्नुको कारण बारे बताए। 

उनले मुलुक स्थानीय तहको निर्वाचनपछि नयाँ कोर्षमा गएकाले एमालेले संसद् गर्दै आएको विरोधलाई आजदेखि नयाँ स्वरुपमा परिवर्तन गरेको जानकारी गराए। एमालेले आफ्नो पार्टीले कारबाही गरेको १४ सांसदको कारबाहीको सूचना टाँस गर्नुपर्नेलगायत माग राखी अघिल्लो अधिवेशनदेखि निरन्तर बैठक अवरोध गर्दै आएको थियो ।

उनले आफ्ना सांसदलाई कारबाही गरिएको सम्बन्धित मुद्दाको फैसला गर्न अदालतले गरेको ढिलाइप्रतिसमेत असन्तुष्टि जनाए । उक्त विषयमा आफ्नो अडान यथावत रहेको उनको भनाइ थियो । मुलुकको वर्तमान आर्थिक सङ्कटका बारेमा आफ्नो पार्टी निकै चिन्तित रहेको बताउँदै उनले सबै मिलेर समाधानमा पहल गर्न सरकारलाई आग्रह गरे। त्यसका लागि नयाँ ढङ्गको बहस र सोचको आवश्यकता रहेको उल्लेख गर्दै उनले एमालेले त्यसबारेमा संसद्मा आवाज उठाउने बताए।

स्थानीय तहको निर्वाचनमा सत्ता पक्षबाट आचारसंहिता उल्लङ्घन भएको आरोप लगाउँदै सांसद ज्ञवालीले सुरक्षा निकाय र कर्मचारीतर्फबाट आफूलाई सहयोग नभएको टिप्पणी गरे । निर्वाचनमा आफ्नो पार्टीलाई चौतर्फी घेराबन्दी पारिएको बताउँदै उहाँले सत्ताको दुरुपयोग भएको आरोपसमेत लगाए । यसैगरी सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको व्यहोरा पनि पढेर सुनाएका थिए। 

प्रकाशित मिति: १७:२८ बजे, मंगलबार, जेठ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्