बैतडीका आठ पालिकाको नतिजा आउँदा कांग्रेस र एमाले तीन–तीनवटामा विजयी

बैतडी, जेठ ३ : बैतडीका आठ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। १० स्थानीय तह रहेको जिल्लामा पुर्चौंडी नगरपालिका र दोगडाकेदार गाउँपालिकाबाहेक अन्य तहको मतपरिणाम सार्वजनिक भएको हो।
बैतडीमा हालसम्म कांग्रेस र एमालेले तीन/तीन, माओवादी केन्द्रले एक र स्वतन्त्रले एक तहमा जित हासिल गरेका हुन्। कांग्रेसले पाटन नगर, शिवनाथ र सिगास गाउँपालिका प्रमुखमा विजयी प्राप्त गरेको छ। एमालेले दशरथचन्द नगर, पञ्चेश्वर गाउँपालिका र सुर्नया गाउँपालिकामा जित हासिल गरेको हो। त्यस्तै माओवादीका उम्मेदवार मेलौली नगर र स्वतन्त्र डिलाशैनी गाउँपालिकामा विजयी भएका छन्।
जिल्लाको पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा एमालेका गोरखबहादुर चन्द र उपाध्यक्षमा एमालेकै बीना भट्ट विजयी भएका छन्। यस्तै शिवनाथ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका कर्णसिंह साउद र उपाध्यक्षमा एमालेका सकुन्तला साउद विजयी भए। मेलौली नगर प्रमुखमा माओवादीका भीमबहादुर चन्द र उपप्रमुखमा कांग्रेसका पार्वती बोहरा विष्ट विजयी भए।
यस्तै दशरथचन्द नगर प्रमुखमा एमालेका पुष्करराज जोशी र उपप्रमुखमा कांग्रेसका कौशिला चन्द विजयी भएका छन्। पाटन नगर प्रमुखमा कांग्रेसका गौरीसिंह रावल र उपप्रमुखमा माओवादीका कमलसिंह बोहरा विजयी भए। यस्तै सुर्नया गाउँपालिकाको अध्यक्षमा एमालेका अम्मरबहादुर कुँवर र उपाध्यक्षमा नेपाली कांग्रेसका मञ्जु बोहरा विजयी भएका छन्।
सिगासको अध्यक्षमा कांग्रेसका हरिसिंह धामी र उपाध्यक्षमा एमालेका धाना धामी विजयी भएको छन् भने डिलाशैनीको अध्यक्षमा स्वतन्त्रका सन्तोशप्रकाश जोशी र उपाध्यक्षमा कांग्रेसका भगीरथ बोहराले जित हासिल गरेका छन्।











