घोराही उपमहानगरपालिकामा एमालेको अग्रता कायमै
दाङ, जेठ ३ : दाङको घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धनलाई पछि पार्दै नेकपा एमालेले अग्रता कायम राखेको छ। पछिल्लो मतपरिणामअनुसार घोराहीमा नेकपा (एमाले) का उम्मेदवार नरुलाल...
दाङ, जेठ ३ : दाङको घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धनलाई पछि पार्दै नेकपा एमालेले अग्रता कायम राखेको छ।
पछिल्लो मतपरिणामअनुसार घोराहीमा नेकपा (एमाले) का उम्मेदवार नरुलाल चौधरीे तीन हजार १२४ मतले अगाडि छन्। चौधरीले १६ हजार ८९८ मत प्राप्त गरेका छन् भने गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का हेमराज शर्माले १३ हजार ७७४ मत प्राप्त गर्नुभएको प्रदेश निर्वाचन कार्यालय घोराहीले जनाएको छ।
उपप्रमुख पदमा पनि एमालेले अग्रतालाई फराकिलो बनाउँदै लगेको छ । एमालेबाट उपप्रमुखमा उम्मेदवार हुमा डिसीले १६ हजार ३७३ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनबाट कांग्रेस उम्मेदवार भुपबहादुर डाँगीले १५ हजार ४६६ मत प्राप्त गरेका छन्।
यसअघि आठ वडाको मतगणना सम्पन्न भएको छ । वडा नं १, २, १४, १७ र १८ मा नेकपा ९एमाले० का अध्यक्षका उम्मेदवार विजयी भएका छन भने वडा नं १३, १६, १९ मा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
अहिले वडा नं ३, ४, ९, १०, ११, १२ र १५ को मतगणना भइरहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । घोराही उपमहानगरपालिकामा कूल एक लाख १२ हजार ९२७ मतदाता रहेकामा ७६ हजार ५२९ अर्थात् ६७।७६ प्रतिशत मत खसेका थियो।











