मदन भण्डारीले देखाएको मार्ग निर्देशनलाई अघि बढाउन चुनौती : पोखरेल

काठमाडौं, जेठ ३ : नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जननेता मदन भण्डारीले देखाउनुभएको मार्ग निर्देशलाई अघि बढाउने चुनौती पार्टीलाई रहेको बताएका छन्।
२९ औँ मदन आश्रित स्मृति दिवसको अवसरमा आयोजना भएको कार्यक्रममा उपाध्यक्ष पोखरेलले नेताद्वय भण्डारी र आश्रितले देखाएको मार्गदर्शनलाई आत्मसात् गर्दै राष्ट्रिय अभियान पूरा गर्ने जिम्मा पार्टीको रहेको बताए। फरक प्रसङ्गमा उनले भने, ‘केही दिनअघि सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणामले पनि आफ्नो पार्टीमा जनमत बलियो रहेको छ।’ आगामी दिनमा पनि जनमतमा टेकेर लोकतन्त्रलाई थप बलियो बनाउनुपर्ने विचार उपाध्यक्ष पोखरेलले राखे। कार्यक्रममा पार्टीका महासचिव शङ्कर पोखरेलले देशलाई कमजोर बनाउने बहाना एमालेलाई मान्य नहुने धारणा राखे।
महासचिव पोखरेलले प्राविधिकरुपमा केही स्थानीय तहमा पराजय भोग्नुपरे पनि समग्र पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जनमतको हिसाबले एमाले लोकप्रिय रहेको बताए।
स्मृति दिवसमा नेताहरु सुवासचन्द्र नेम्वाङ, अष्ठलक्ष्मी शाक्य, प्रदीपकुमार ज्ञवाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, विष्णु पौड्याललगायतका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।











