Kathmandu Press

काठमाडौं महानगरमा बालेनको मतान्तर दोब्बर, सुनिताको तेब्बर 

मेयरमा बालेनले ११ हजार मत ल्याउँदा केशव स्थापितले ५ हजार ९५६ मत पाएका छन् भने उपमेयरमा एमालेकी सुनिता डंगोलले १० हजार ७४४ मत पाउँदा गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले३ हजार ४८ मात्रै पाएका छन्।
काठमाडौं महानगरमा बालेनको मतान्तर दोब्बर, सुनिताको तेब्बर 

काठमाडौं, जेठ ३ : काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) साहले अग्रता कायमै  राखेका छन् । महानगरको  वडा ३, ४, ५, ६, ३१ र ३२ मा मतगणना जारी रहँदा बालेनले  एमाले उम्मेदवार केशव स्थापितलाई दोब्बर मतान्तरले पछि पार्दै अग्रता लिएका हुन्।

पछिल्लो मतपरिणामअनुसार बालेनले ११ हजार १३ मत पाएका छन् भने एमालेका स्थापितले ५ हजार ९५६ मत पाएका छन् । त्यस्तै गठबन्धनबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ५ हजार २११ मत ल्याएकी छन्।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले ७१४, स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६३३ मत ल्याएका छन् भने विवेकशील साझाकी समीक्षा बास्कोटाले ७८ मत ल्याएकी छन्। 

उपमेयरतर्फ एमालेकी सुनिता डंगोलले पनि फराकिलो मतान्तरले अग्रता कायम गरेकी छन् । उनले गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठलाई तेब्बर मतान्तरले पछि पार्दै अग्रता लिएकी छन्। 

डंगोलले १० हजार ७४४ मत पाउँदा श्रेष्ठले ३ हजार ४८ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी बिनिता मगैयाले २ हजार २०२ मत पाएकी छन् भने विवेकशील साझाकी कृति कंसाकरले ३९६ मत ल्याएकी छन्। 

वडा नम्बर १ र २ को मतपरिणाम यसअघि नै सार्वजनिक भइसकेको छ । परिणामअनुसार वडा १ मा  एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ, २ मा एमालेकै  तर्फबाट राजेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् । हाल कामपामा २५ हजार ९४ मतणाना भइसकेको छ । जसमा ८८२ मत बदर भएको छ । महानगरमा कूल मतदाता तीन लाख २४२ रहेकोमा जम्मा ६३ दशमलव ४९ प्रतिशत मतदाताले मतदान गरेको आयोगको भनाइ छ।  

प्रकाशित मिति: १४:२० बजे, मंगलबार, जेठ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्