रोल्पाका ६ पालिकामा माओवादी केन्द्र विजयी
रोल्पा, जेठ ३ : रोल्पाको एक नगरपालिकासहित पाँच गाउँपालिकामा माओवादी केन्द्र र दुई पालिकामा नेपाली कांग्रेस विजयी भएको छ।रोल्पा नगरपालिका, थवाङ, परिवर्तन, सुनिलस्मृति,...
रोल्पा, जेठ ३ : रोल्पाको एक नगरपालिकासहित पाँच गाउँपालिकामा माओवादी केन्द्र र दुई पालिकामा नेपाली कांग्रेस विजयी भएको छ।
रोल्पा नगरपालिका, थवाङ, परिवर्तन, सुनिलस्मृति, माडी, लुग्री गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ भने गङ्गादेव र रुन्टिगढी गाउँपालिकामा कांग्रेस विजयी भएको छ।
रोल्पा नगरपालिकाको नगर प्रमुखमा माओवादीका सुरेन्द्र थापा घर्तीले ७ हजार ६०३ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शेरबहादुर थापाले ३ हजार ६५८ मत प्राप्त गरे।
उपप्रमुखमा माओवादीका गीता आचार्यले सात हजार ७४१ मत प्राप्त गरी विजयी भए भने उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी पुष्पा श्रेष्ठले ३ हजार ७१९ मत प्राप्त गिरन्।
दसवटा वडा रहेको रोल्पा नगरपालिकामा माओवादीले नौ वटा वडामा जितेको छ। नगरपालिकाको एउटा वडा भने कांग्रेसले जितेको छ।
थवाङ गाउँपालिका माओवादी विजयी भएको छ। निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उमेदवार दर्जित रोकामगरलाई ६१६ मतान्तरले पछि पार्दै माओवादीका ऋषिकेशव बुढामगर निर्वाचित भएका हुन्। बुढाले २ हजार १२२ मत पाउँदा रोकाको पक्षमा एक हजार ५०६ मत आएको थियो।
उपाध्यक्षमा माओवादीका सर्मिला बुढामगर २ हजार १२२ मत ल्याई विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस एमाले स्वतन्त्र गठबन्धनका उम्मेदवार रायबहादुर पुनले १ हजार ४६८ मत प्राप्त गरेका थिए। थवाङमा माओवादी केन्द्रविरुद्ध कांग्रेस–एमाले–स्वतन्त्रले चुनावी तालमेल गरेका थिए।
त्यसैगरी परिवर्तन गाउँपालिकामा माओवादीका शुकबहादुर बुढामगर ३ हजार ३११ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विश्वकुमार चन्दले ३ हजार १३१ मत प्राप्त गरे। उपाध्यक्षमा माओवादीका कलादेवी खत्रीनी ३ हजार ३८७ मत प्राप्त गरी विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी सपना बुढामगरले २ हजार ३०८ मत प्राप्त गरे। सो गाउँपालिकामा कांग्रेस–एमाले–एकीकृत समाजवादी–स्वतन्त्रले चुनावी तालमेल गरेका थिए।
रुन्टीगढी गाउँपालिकामा कांग्रेसका जनक पुनले ४ हजार ३९१ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका गोविन्द पुनले ३ हजार ७०८ मत प्राप्त गरेका थिए।
उपाध्यक्षमा नेपाली कांग्रेसका सरिता केसी निर्वाचित भएकी छन्। उनले चार हजार ४३७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कौशिला घर्ती क्षेत्रीले ३७०८ मत प्राप्त गरिन्।
माडी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका अमरसिंह घर्तीमगरले तीन हजार ८३० मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विजय घर्ती मगरले ३ हजार ३७१ मत प्राप्त गरेका थिए।
उपाध्यक्षमा माओवादीका जयपुरी घर्तीमगरले ३ हजार ९६६ मत प्राप्त गरी विजयी भएका छन्। उपाध्यक्षमा नेपाली कांग्रेसका कृष्ण विकले ३ हजार ५० मत ल्याएका छन्। जिल्लामा १ नगरपालिकासहित ९ गाउँपालिका रहेको छ।











