तेह्रथुमको चार स्थानीय तहमा गठबन्धनका उम्मेदवार विजयी
तेह्रथुम, जेठ ३ : तेह्रथुमको लालीगुराँस नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका अर्जुनकुमार माबोहाङ पुनःनिर्वाचित भएका छन् । नेकपा (एमाले)का उम्मेदवार गणेश सेनेलाई एक हजार...
तेह्रथुम, जेठ ३ : तेह्रथुमको लालीगुराँस नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका अर्जुनकुमार माबोहाङ पुनःनिर्वाचित भएका छन् । नेकपा (एमाले)का उम्मेदवार गणेश सेनेलाई एक हजार ७९५ मतको अन्तरले पराजित गर्दै माबोहाङ पुनः नगरप्रमुख निर्वाचित भएका हुन् । माबोहाङले पाँच हजार १३९ मत प्राप्त गरी विजयी हुँदा सेनेले तीन हजार ३४४ मात्र मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय लालीगुराँसले जनाएको छ ।
नगर उपप्रमुखमा पनि कांग्रेसकै जमुना मगर कार्की चार हजार ८८७ मत प्राप्त गरी विजयी भइन्। उनले एमालेका उम्मेदवार छविमाया तिम्सिनालाई एक हजार २९३ मतान्तरले पराजित गरेकी हुन्। कांग्रेसले लालीगुराँस नगरपालिकाका वडा नं २, ३, ४, ७, ८ र ९ मा विजय हासिल गरेको छ। एमालेले वडा नं १ र ६ तथा ५ मा एमालेकै सहयोगमा स्वतन्त्रका उम्मेदवार विजयी भएका छन्।
हिलिहाङमा कांग्रेसका अधिकारी र एमालेका सेढाईँ विजयी
जिल्लाको हिलिहाङ गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसका समरबहादुर अधिकारी र उपाध्यक्षमा एमालेका सुमित्रा उप्रेती सेढाईँ विजयी भएका छन् । गए राति सम्पन्न मतगणनानुसार गाउँपालिका अध्यक्षमा गठबन्धनका अधिकारीले एमालेका भुवानीप्रसाद लिङ्देनलाई २०७ मतान्तरले पराजित गरेका हुन् । अधिकारीले चार हजार ५६५ मत प्राप्त गर्दा निवर्तमान गाउँपालिका अध्यक्षसमेत रहेका लिङ्देनले चार हजार ३५८ मत प्राप्त गरे। अध्यक्षमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भवानीविक्रम लिङ्देनले १११ मत प्राप्त गरे।
गाउँपालिकाको उपाध्यक्षमा भने गठबन्धनको नेकपा (एकीकृत समाजवादी)का भवानीप्रसाद लिङ्देनलाई २८ मतान्तरले पराजित गर्दै एमालेका सुमित्रा उप्रेती सेढाईँ विजयी भएका छन् । सेढाईँले चार हजार १४६ मत प्राप्त गर्दा लिङ्देनले चार हजार ११८ मत प्राप्त गरे। सेढाईँ निवर्तमान गाउँपालिका उपाध्यक्ष हुन्।
हिलिहाङमा एमालेबाट बहुमत वडाध्यक्ष र बहुमत गाउँसभा सदस्य निर्वाचित भएका छन्। हिलिहाङको वडा नं १ मा कांग्रेसका सन्तोष लिङदेन, वडा नं २ मा एमालेका भीमप्रसाद हेम्ब्या, वडा नं ३ मा एमालेका वीरेन्द्रकुमार योङहाङ, वडा नं ४ मा एकीकृत समाजवादीका वृहस्पति गिरी, वडा नं ५ मा एमालेका बिर्खबहादुर सुहाङ र वडा नं ७ मा एमालेका धनकुमार पन्थाक प्यानलसहित वडाध्यक्ष निर्वाचित भएका छन् । वडा नं ६ मा भने कांग्रेसका गणेश योङहाङ एक सदस्यसहित वडाध्यक्ष निर्वाचित हुँदा बाँकी तीन सदस्य एमालेले जितेको छ । अघिल्लो निर्वाचनमा यस गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित सातै वडाका वडाध्यक्ष एमालेले जितेको थियो।
फाल्गुनन्दमा गठबन्धनका आङदेम्बे र नेम्वाङ विजयी
फाल्गुनन्द गाउँपालिकामा कांग्रेससहितको गठबन्धनका उम्मेदवार विजयी भएका छन्। गाउँपालिकाको अध्यक्ष कांग्रेसका वृजहाङ आङदेम्बे र उपाध्यक्षमा माओवादी केन्द्रका ठाकुरसिं नेम्वाङ विजयी भएका हुन् । गाउँपालिका अध्यक्षमा आङदेम्बेले निवर्तमान गाउँपालिका अध्यक्षसमेत रहेका एमालेका वीरबहादुर कुरुम्बाङलाई एक हजार ९६ मतान्तरले पराजित गरे। आङदेम्बेले पाँच हजार ७३९ मत प्राप्त गर्दा कुरुम्बाङले चार हजार ६४३ मत प्राप्त गरे।
यस्तै उपाध्यक्षमा माओवादीका ठाकुरसिं नेम्वाङले जनता समाजवादी पार्टीकी बविता नेम्वाङलाई ६५७ मतान्तरले पराजित गरे। ठाकुरसिंले पाँच हजार १०० मत प्राप्त गर्दा एमालेसँगको तालमेलमा उम्मेदवार बनेकी बविताले चार हजार ४४३ मत प्राप्त गरे। फाल्गुनन्दका सातवटा वडामध्ये छ वटामा गठबन्धन र एउटामा एमाले विजयी भएको छ ।
फाल्गुनन्द–१ मा होमप्रसाद आङदेम्बे, २ मा सन्तोष नेम्वाङ, ३ मा सुखवीर नेम्वाङ, ४ मा दलबहादुर नेम्वाङ, ५ मा विष्णुकुमार चेम्जोङ, ६ मा नारायणप्रसाद आङदेम्बे र वडा नं ७ मा देउकुमार आङदेम्बे वडाध्यक्ष निर्वाचित भएका हुन् । विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा यस गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र पाँच वडाध्यक्ष कांग्रेसले जितेको थियो । तर निर्वाचित गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङको निधनपछि यहाँ उपनिर्वाचन हुँदा अध्यक्षमा तत्कालीन नेकपामा कुरुम्बाङ ८०६ मतले विजयी भएका थिए। तर यसपटक गठबन्धनले एक वडामा बाहेक सबै पदमा विजय हासिल गरेको छ ।
फालेलुङमा गठबन्धनका थाम्सुहाङ र जबेगू विजयी
जिल्लाको फालेलुङ गाउँपालिकामा कांग्रेससहितको गठबन्धनका उम्मेदवार विजयी भएका छन् । एउटा वडाको वडाध्यक्ष र तीन सदस्यबाहेक गाउँपालिकाका सबै पदमा गठबन्धन विजयी भएको हो ।
फालेलुङको अध्यक्षमा कांग्रेसका वीरविक्रम थाम्सुहाङ पाँच हजार ७७९ मतसहित विजयी हुनुभयो । अध्यक्षमा एमालेका जयप्रकाश केरुङले दुई हजार ६२१ मत प्राप्त गरेका छन्। अध्यक्षमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कुमार केरुङले १८८, मङ्गोल नेशनल अर्गनाइजेशनका टुकप्रसाद थाम्सुहाङले १५७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका देविन्द्र खत्रीले १४८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय फालेलुङले जनाएको छ।
फालेलुङका उपाध्यक्षमा माओवादीका महेन्द्रहाङ जबेगू विजयी भएका छन् । जबेगू पाँच हजार २१४ मतसहित विजयी हुँदा एमालेका सुजता बान्तवा राईले दुई हजार ८७५ मत प्राप्त गरे। अघिल्लोपटक झिनो मतान्तरले गाउँपालिका अध्यक्षमा पराजित जबेगू यसपटक गाउँपालिका उपाध्यक्षमा विजयी भएका हुन्।
फालेलुङमा वडा नं १ मा टेकबहादुर गुरागाईँ, २ मा तिलबहादुर खत्री, ३ मा शक्तिप्रसाद केरुङ, ४ मा सन्तवीर राई, ५ मा भरतकुमार खपाङ्गी, ६ मा अमरवीर राई, ७ मा टेकबहादुर केरुङ र ८ मा श्रीहाङ केरुङ वडाध्यक्ष विजयी भएका छन्। अघिल्लो निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा पहिलो र दोस्रो मत ल्याएका कांग्रेस र माओवादी तथा तेस्रो मत ल्याउने एमालेका उम्मेदवार कमलप्रसाद जबेगूसमेत गठबन्धनमा आवद्ध थिए । अघिल्लो निर्वाचनमा दुईवटा वडा जितेको एमालेले भने यसपटक पदमा विजय हासिल गर्न सकेन।











