‘जेल बसे पनि पार्टीले विश्वास गरेन, अब वडावासीको विश्वास जित्ने काम गर्छु’
यसपालिको स्थानीय तह निर्वाचनमा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका– १ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार सुन्दर ओली निर्वाचित भएका छन् ।
काठमाडौं, जेठ ३ : यसपालिको स्थानीय तह निर्वाचनमा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका– १ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार सुन्दर ओली निर्वाचित भएका छन् । खसेको कुल मत (१११४) मध्ये माओवादी केन्द्रका लक्ष्मण ओलीलाई १६० मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् ।
वडा सदस्यमा पनि स्वतन्बाटै कमला बोहरा, लालसरा कामी, खड्कबहादुर पुन र पूर्णबहादुर बुढा विजयी भएका छन् ।
पार्टीले टिकट नदिएपछि स्वतन्त्र
सुन्दर १४ वर्षको उमेरदेखि जानी–नजानी माओवादी पार्टीसँग जोडिन पुगेका थिए, योबीचमा उनी पार्टीभित्र विभिन्न पदमा सक्रिय रहे । विद्यार्थी आन्दोलनबाट माओवादी पार्टीमा लागेका उनले प्रदेशको संयोजक, अध्यक्ष, इन्चार्ज लगायत एक दर्जनभन्दा बढी पदमा रहेर काम गरे ।
अघिल्लो स्थानीय निर्वाचनमा उनलाई जनतासँग प्रत्यक्ष जोडिएर सेवा गर्ने रहर थियो । ‘त्यतिबेला अग्रजलाई पालो दिनुपर्ने भनियो, ठीकै थियो,’ उनी भन्छन्, ‘यसपालि पनि पार्टीले टिकट नदिने भएपछि विकल्प खोजेर जनतामाझ आएँ । पार्टीको झन्डा बोकेर मात्र होइन, स्वतन्त्र रूपमा उम्मेदवारी दिएर पनि जनताको सेवा गर्न सकिन्छ भन्ने सोच आयो र स्वतन्त्र रूपमा उम्मेदवारी दिएँ ।’
सुन्दरले वैशाख १२ गते स्वतन्त्रको प्यानल बनाएर उम्मेदवारी दिएका थिए । वैशाख १७ गते उनीहरूले चुनाव चिह्न ‘धारा’ पाए । त्यसपछिका १० दिनभित्र प्रत्येक वडावासीको घरदैलोमा पुगेको सुन्दर बताउँछन् । छोटो समयमै वडावासीले विश्वास गरेकाले विजय सम्भव भयो,’ सुन्दर भन्छन्, ‘लामो समय पार्टीमा सक्रिय रहेँ, जेल बसेँ तर पार्टीले विश्वास गरेन । अब वडावासीको विश्वास जित्ने गरी काम गर्छु । अबको पाँच वर्षमा नमुना वडा बनाउने गरी काम गर्छौं ।’
ठूला योजना बनाएर अलमलिनुभन्दा स–साना कामबाट सुधार गर्दै अघि बढ्नुपर्ने उनको बुझाइ छ । एक घर एक धारा, सचेतनाका कार्यक्रम, सीप तालिम, वडाका स्रोत र साधनलाई परिचालन गरी आत्मनिर्भर हुने लगायत आफूहरूको योजना रहेको सुन्दर बताउँछन् । ‘योसँगै वडाभित्रका विकृतिलाई हटाउन पहल गर्छौं,’ उनले भने ।
तीन वर्ष जेल
०५३ को माघमा सुन्दरले स्थानीय त्रिवेणी उच्च माविबाट कक्षा १० को टेस्ट दिएका थिए । फागुनमा एसएलसी हुँदै थियो । त्यतिबेला उनको गाउँमा माओवादी जनयुद्धको प्रभाव बढिरहेको थियो । माओवादीलाई सघाएको भन्दै प्रहरीले उनलाई पक्राउ ग¥यो । ‘मेरो हजुरबुवाले आफू जमानत बसेर मलाई एक सातामा जेलबाट छुटाउनुभयो,’ ओली भन्छन्, ‘पछि माओवादीमा लागेको थाहा पाए हजुरबुबालाई नै थुनामा राख्ने भन्दै प्रहरीले मलाई छाडेको थियो । त्यसपछि म प्रहरीको निगरानीमा परेँ ।’
त्यतिबेलासम्म उनी सक्रिय रूपमा माओवादीमा लागेका थिएनन् । विद्यालयमा माओवादी नेता तथा कार्यकर्ताले विभिन्न कार्यक्रममा बोलाउँदा उनी त्यहाँ जान्थे । ‘कार्यक्रममा जाँदा माओवादीमा लागेको भनी नजिकका आफन्तले प्रहरीलाई खबर दिए छन्,’ सुन्दर भन्छन्, ‘त्यतिबेला माओवादीलाई प्रहरीले जहाँ भेट्यो, त्यहीँ मारिदिन्थ्यो । माओवादीमा लागेको भनी प्रहरीले पक्रेपछि सुरक्षाकै जोखिम बढ्यो । राजनीतिमा लाग्ने सोच थिएन, ज्यान जोगाउन माओवादीका नेतासँग आश्रय लिन पुगेँ ।’
त्यसपछि माओवादीका विभिन्न कार्यक्रममा जाँदा राजनीतितर्फ चासो र बुझाइ बढ्दै गएको उनी बताउँछन् । सुरुका डेढ वर्ष उनी भूमिगत भएका थिए । ०५९ सालमा अर्घाखाँची जिल्लाबाट उनलाईं नेपाली सेनाले गिरफ्तार ग¥यो, तीन वर्ष जेल बसे । जेलबाट छुटेपछि (०६४ देखि) उनले अध्ययनलाई अगाडि बढाए र दोस्रो श्रेणीमा एसएलसी पास गरे ।
अहिले उनी नेपालगन्जको ल क्याम्पसमा अध्ययनरत छन् । शिक्षा, राजनीति र व्यवसायलाई सँगसँगै अगाडि बढाउँदै आएका छन् । उनको परिवारको अटो ग्यारेज, अर्गानिक चिया फर्मको व्यवसाय छ । ‘अब व्यवसायमा होइन, वडावासीको सेवामा लाग्छु,’ उनले भने ।











-(86)-1764936079.jpg)
