सर्लाहीका चार पालिकाको परिणाम : तीनमा कांग्रेस, एकमा माओवादी विजयी
सर्लाहीका हरिपुर नगरपालिका, धनकौल र ब्रम्हपुरी गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी हुँदा रामनगर गाउँपालिकामा माओवादीका उम्मेदवार विजयी भएका छन्।
काठमाडाैं, जेठ २ : देशकै सबैभन्दा बढी २० वटा स्थानीय तह रहेको सर्लाहीका चार स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ। सोमबार साँझसम्म सर्वाजनिक मतपरिणाम अनुसार चार मध्ये ३ पालिकामा नेपाली कांग्रेस विजयी भएको छ भने १ मा नेकपा माओवादी केन्द्रले जीत निकालेको छ।
सर्लाहीका हरिपुर नगरपालिका, धनकौल र ब्रम्हपुरी गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी हुँदा रामनगर गाउँपालिकामा माओवादीका उम्मेदवार विजयी भएका छन्।
हरिपुरमा पञ्जियार निर्वाचित
हरिपुर नगरपालिकाको मेयरमा कांग्रेसका गोपाल पञ्जियार निर्वाचित भएका छन्। उनले ६ हजार ९ सय ३८ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी माओवादीका सुनिलकुमार बुढाथोकीले ३ हजार ८ सय ८७ मत प्राप्त गरे। निवर्तमान नगरप्रमुख एकीकृत समाजवादीका जमिरुद्दिन मन्सुरले २ हजार ८ सय ५ मत प्राप्त गरे।
यस्तै, उपप्रमुख कांग्रेसकै उम्मेदवार निलमदेवी राय यादव विजयी भइन् । यादव ५ हजार ५ सय ८३ मत पाउँदा नेकपा एकीकृत समाजवादीकी शीला कार्कीले ४ हजार ७६ मत प्राप्त गरिन्।
धनकौलमा पुरानै अनुहार
धनकौल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा रामआश्रय साह र उपाध्यक्षमा अकली सहनी विजयी भएकी छन् । दुवै यसअघि पनि सोही पदमा निर्वाचित भएका थिए।
अध्यक्षमा निर्वाचित भएका साहले ४ हजार ४ सय ७७ मत गरे । उनका निकटतम प्रतिस्पर्धी माओवादीका फकिरा महतोले ३ हजार ३ सय ७८ मत प्राप्त गरे।
उपाध्यक्षमा पुनः निर्वाचित भएकी सहनीले ४ हजार ५ सय ४ मत ल्याउँदा माओवादीकी निलमकुमारी देवी सहनीले ३ हजार २ सय २५ मत ल्याइन्।
ब्रम्हपुरीमा कांग्रेसको ‘क्लिनस्वीप’
ब्रह्मपुरी गाउँपालिकामा नेपाली कांग्रेसले क्लिनस्वीप गरेको छ । कांग्रेसले ब्रह्मपुरीका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षसहित सबै सदस्य पद जित्दै क्लिनस्विप गरेको हो ।
अध्यक्षमा रामपदारथ साह ४ हजार ६ सय ६८ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका विनोदकुमार साहले ३ हजार २ सय ७१ मत ल्याए।
यस्तै उपाध्यक्षमा कांग्रेसकै श्यामकला यादव ४ हजार ६ सय १० मत ल्याएर निर्वाचित भइन् । उपाध्यक्षमा लोकतान्त्रिक समाजवादीकै गीतादेवी रायले तीन हजार ३११ हजार प्राप्त गरिन् ।
कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरुमा वडा नं. १ मा निरञ्जनप्रसाद कलवार, २ मा शंकर साह तेली, ३ मा गौतमकुमार यादव, ४ मा श्यामप्रसाद साह, ५ मा नवीनकुमार यादव, ६ मा हिरेन्द्रकुमार यादव र ७ मा रामसागर महतो कोइरी छन् ।
रामनगरमा देशकै कान्छा अध्यक्ष
रामनगर गाउँपालिकामा २२ वर्षीय राजाबाबु यादव निर्वाचित भएका छन् । उनी अहिलेसम्म निर्वाचित सबैभन्दा कान्छा अध्यक्ष हुन्।
माओवादी केन्द्रबाट निर्वाचित भएकाले यादव ४ हजार ८१ मत ल्याउँदै पालिका अध्यक्ष बनेका हुन्। उनका प्रतिस्पर्धी कांग्रेसका हरिनन्द यादवले २ हजार ३ सय ९२ मत प्राप्त गरे।
त्यसैगरी उपाध्यक्षमा पनि माओवादीकै गीता देवी विजयी भइन्। उनले ३ हजार ५ सय २३ मत प्राप्त गर्दा। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कौशलीया साहले २ हजार ६ सय २७ मत प्राप्त गरे।











