विश्वशान्तिका लागि बुद्धका सन्देश अहिले पनि उत्तिकै महत्त्वपूर्ण : प्रधानमन्त्री
लुम्बिनी, जेठ २ : प्रधानमन्त्री शेरबहादुर देउवाले विश्व शान्तिका लागि भगवान् बुद्धका सन्देशहरू अहिले पनि उत्तिकै महत्त्वपूर्ण रहेका बताएका छन्।बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आज...
लुम्बिनी, जेठ २ : प्रधानमन्त्री शेरबहादुर देउवाले विश्व शान्तिका लागि भगवान् बुद्धका सन्देशहरू अहिले पनि उत्तिकै महत्त्वपूर्ण रहेका बताएका छन्।
बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आज (सोमबार) आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अहिले विश्वमा युद्धसमेत भइरहेको भन्दै अहिंसा र शान्तिको बुद्ध दर्शन अहिले पनि उत्तिकै महत्त्वपूर्ण रहेका बताएका हुन्।
‘विश्वका विभिन्न भूभागका मानिसहरूले अहिले हिंसा, वैमनश्यता र युद्धको सामना गरिरहनुपरेको छ। सशस्त्र बन्ने होडबाजी आदि कारणले जनजीवन चुनौतीपूर्ण बन्दै गएको छ,’ उनले भने, ‘यस्तो परिप्रेक्ष्यमा भगवान् बुद्धका उपदेशहरू अझै सान्दर्भिक र माननीय भएका छन् । पारस्परिक सम्मान, अहिंसा, सद्भाव आदि विश्वका लागि भगवान् बुद्धका सन्देशहरू अहिले पनि उत्तिकै महत्त्वपूर्ण रहेका छन् ।’
गौतम बुद्धले नेपाल र भारतलाई आपसमा भावनात्मक रूपमा जोडेको बताउँदै प्रधानमन्त्री देउवाले भने, ‘दुवै देशका नागरिकका लागि गौतम बुद्ध उत्तिकै श्रद्धेय हुनुहुन्छ, उहाँको अमूल्य दर्शन र शिक्षाले दुवै देशका नागरिकलाई नजिकबाट प्रभावित पारेको छ।’
गौतम बुद्धका चार उपदेशले मानवजीवन पापमुक्त भइरहेको प्रधानमन्त्री देउवाको भनाइ थियो। ‘जीवनलाई रोग, शोक र दुःखबाट माथि उठाउन, शान्ति स्थापनाका लागि बुद्धका शिक्षा आज पनि विगतकै जत्तिको सान्दर्भिक छन्,’ उनले भने, ‘आज विश्वका विभिन्न ठाउँमा मानवजातिले हिंसा, ईर्ष्या र युद्धको सामना गरिरहनुपरेको छ। यस्तो परिप्रेक्ष्यमा भगवान् बुद्धका उपदेश सान्दर्भिक र मननयोग्य बन्न पुगेका छन् ।’
भगवान् बुद्धको जन्मभूमि लुम्बिनीलाई पुजेर राख्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो। उनले विश्वशान्ति कायम राख्न, नेपाल र भारतका तीर्थयात्रीहरूलाई जोड्न लुम्बिनीको संरक्षण गर्ने प्रतिबद्धता उनले व्यक्त गरे। बुद्ध दर्शनलाई चिनाउन नेपाल र भारतमा बुद्ध सर्किट बनाउन लागिपर्ने पनि उनले बताए ।
प्रधानमन्त्री देउवाले कोभिड १९, भूकम्प लगायतका कठिन समयमा भारतले गरेको सहयोगप्रति आभारसमेत प्रकट गरे।











