५९ स्थानीय तहको प्रमुखका साथ कांग्रेस पहिलो स्थानमा
काठमाडाैं, जेठ २ : गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। आज अपराह्न ३ः१५ बजेसम्म...
काठमाडाैं, जेठ २ : गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। आज अपराह्न ३ः१५ बजेसम्म सार्वजनिक १३९ स्थानीय तहको मत परिणामअनुसार नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ।
एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छन्। कांग्रेसले हालसम्म ५९ पालिकाको नेतृत्व आफ्नो हातमा पारेको छ। कांग्रेसले उपप्रमुख र उपाध्यक्षमा पनि ५९ स्थानमै विजय हासिल गरेको छ।
यस्तै ४९ पालिकामा एमाले र २९ पालिकामा माओवादी केन्द्र विजयी भएको निर्वाचन आयोगले जनाएको छ। एमालेले उपप्रमुख/उपाध्यक्ष ४७ तथा माओवादी केन्द्रले उपप्रमुख/उपाध्यक्ष २१ ठाउँमा जितेको छ।
नेकपा एकीकृत समाजवादीले २ अध्यक्ष र ७ उपाध्यक्ष तथा अन्य दलले पनि २ अध्यक्ष र ४ उपाध्यक्ष जितेका छन्। यस्तै नेपाल मजदुर किसान पार्टीले एक प्रमुख र एक उपप्रमुख पद जितेको छ।
यो समाचार तयार पार्दासम्म कांग्रेस १ हजार १०२ वडामा विजयी भएको छ। कांग्रेसका तर्फबाट एक हजार ९२ महिला सदस्य, एक हजार ५३ दलित महिला सदस्य र दुई हजार १६१ वडा सदस्य विजयी भएका छन्।
यस्तै एमाले ८४५ वडामा विजयी भएको छ। एमालेले ९०९ महिला सदस्य, ८८९ दलित महिला सदस्य र एक हजार ८३२ वडा सदस्य जितेको छ।
यसैगरी माओवादी केन्द्रले ४६७ वडामा जित हासिल गरेको छ। माओवादीका तर्फबाट ४३९ महिला सदस्य, ४६८ दलित महिला सदस्य र ८२१ वडा सदस्य निर्वाचित भएका छन्।
एकीकृत समाजवादीले ६९ वडामा जित हासिल गरेको छ। अन्य दल र स्वतन्त्रका तर्फबाट १८४ जना वडाध्यक्षमा निर्वाचित भएका छन्।











