Kathmandu Press

गौतम बुद्ध विमानस्थलको शुभारम्भले दिगोे आर्थिक विकासको आधार तयार भयो : प्रधानमन्त्री

काठमाडाैं, जेठ २ : प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको आज औपचारिक उद्घाटन गरेका छन्।विमानस्थलको आज भैरहवामा उद्घाटन गर्दै उनले मुलुकको पर्यटन र...
गौतम बुद्ध विमानस्थलको शुभारम्भले दिगोे आर्थिक विकासको आधार तयार भयो : प्रधानमन्त्री

काठमाडाैं, जेठ २ : प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको आज औपचारिक उद्घाटन गरेका छन्।

विमानस्थलको आज भैरहवामा उद्घाटन गर्दै उनले मुलुकको पर्यटन र दिगो आर्थिक विकासको आधार तयार भएको बताए। 

उनले विमानस्थल सञ्चालनमा आएसँगै पर्यटकको आवागमन बढ्ने विश्वास पनि व्यक्त गरे। प्रधानमन्त्री देउवाले नेपाल पर्यटनका अधिक सम्भावना रहेको देश भएकाले यहाँका सम्भावना र गौतम बुद्धको जन्मस्थल लुम्बिनी बारेको सन्देश संसारमा पुर्‍याउन यो विमानस्थल सहयोगीसिद्ध हुने पनि बताए।  

गृहमन्त्री बालकृष्ण खाणले गौतम बुद्ध विमानस्थलले पर्यटन प्रवर्धनमा ठूलो टेवा पुग्ने बताए। उनले कोभिड महामारीका कारण विमानस्थल निर्माणमा केही ढिलाइ भए पनि सबैको प्रयत्नले सफलतापूर्वक सम्पन्न भएको बताए।

उनले विमानस्थल निर्माणमा भूमिका निर्वाह गर्ने पूर्वप्रधानमन्त्री तथा पूर्वपर्यटनमन्त्रीलाई धन्यवाद दिए। उनले सबैको साथ र सहयोगका कारण विमानस्थल निर्माणको काम सम्पन्न भएको बताए।

पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले बुद्धभूमिबाट  नेपालको शान्ति र समृद्धिको सन्देश विश्वभर प्रवाह हुने बताए। उनले शान्तिको सन्देश लिएर नेपाली र अन्तरराष्ट्रिय विमानस्थल गौतम बुद्ध विमानस्थलबाट संसारभर पुग्ने विश्वार व्यक्त गरे। 

उनले  पर्यटन मन्त्रालयमार्फत सञ्चालनमा रहेका पाँच वटा राष्ट्रिय गौरवका आयोजनामध्ये सम्पन्न हुने आयोजनाका रुपमा गौतमबुद्ध विमानस्थल रहेको बताए।  यी पाँचवटै आयोजना सम्पन्न भएपछि मुलुकको पर्यटन र आर्थिक विकासले फड्को मार्ने बताए। 

उनले आजैदेखि त्रिभुवन विमानस्थल र गौत बुद्ध विमानस्थल २४ सै घण्टा सञ्चालन हुने घोषणा गरे।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले राष्ट्रिय गौरवका आयोजना अन्तर्गत निर्मित यो विमानस्थल अन्तरराष्ट्रिय उडान सञ्चालनमा आएपश्चात त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्प बन्नुका साथै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा प्राविधिक समस्या भई वायुयान उडान अवतरण हुन नसक्ने अवस्थामा छिमेकी मुलुकमा पुर्‍याएर अवतरण गराउनुपर्ने बाध्यता अन्त्य भएको बताए।

सिद्धार्थनगर नगरपालिकामा अवस्थित यस विमानस्थललाई नेपालको एक बहुआयामिक आयोजनाको रुपमा लिइएको जनाउँदै उनले यो गौतम बद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार हुनुका साथै विश्वलाई यस क्षेत्रसँग जोड्ने सम्पर्क माध्यम भएको जनाए।

सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरूमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरबाहीले रोकिएको थियो। पछिल्लो पटक सन् २०२० को मार्चसम्म निर्माण सक्ने योजना रहे पनि कोभिड–१९ महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिक रुपमा सञ्चालनमा आएको हो।

एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब रु ११ अर्ब खर्च भएको प्राधिकिरणले जनाएको छ।

अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै निर्माण प्रक्रिया अघि बढाइनेछ। चिनियाँ निर्माण कम्पनीद्वारा निर्मित यो विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भए लगत्तै आन्तरिक एयरलाइन्सले उडान गरिरहेका छन्।

यहाँबाट निजी क्षेत्रको बुद्धएयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्सलगायत कम्पनीले उडान भर्दै आएका छन्। 

प्रकाशित मिति: १३:२१ बजे, सोमबार, जेठ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्