पोखरामा गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै
पोखरा, जेठ २: स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन्।सोमबार बिहान ८ बजेसम्म आठ हजार...
पोखरा, जेठ २: स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन्।
सोमबार बिहान ८ बजेसम्म आठ हजार ६९३ मत गणना भएका छन्। जसमा गठबन्धनबाट मेयरका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले तीन हजार ४६५ मत प्राप्त गरेका छन्।
त्यसैगरी नेकपा (एमाले) का मेयरका उम्मेदवार कृष्णबहादुर थापाले तीन हजार १०८ मत प्राप्त गरेका छन्। गठबन्धनका आचार्यले ३५७ मतले अग्रता हासिल गरेका छन्।
उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट तीन हजार ६०० मत पाएकी छन्। त्यस्तै, एमालेकी मञ्जुदेबी गुरुङले तीन हजार ५७५ मत पाएकी छन्।
महानगरको वडा नं १ मा एमालेले विजय भएको छ। वडा नं १ मा एमालेका वडाअध्यक्ष पदका उम्मेदवार साहारा प्रधानले एक हजार १४५ मत ल्याई विजय भएकी हुन्। उनका प्रतिस्पर्धी कांग्रेसका वडाध्यक्षका उम्मेदवार सीता गुरुङले एक हजार १०४ मत ल्याइन्।
वडा नं २ मा कांग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार दिवशमान प्रधानाङ्ग एक हजार ८१९ मतसहित विजय भएका छन्। उनका प्रतिस्पर्धी एमालेका दीपक शाहीले एक हजार ७९२ मत प्राप्त गरेका छन्।











