१८ करोडमा खरिद गरिएको ‘मास प्रिन्ट’ मै समस्या, ७ लाख सवारी चालक रसिदको भरमा
काठमाडौं, कात्तिक ६ : झण्डै १८ करोडमा कार्डसहित खरिद गरेर ल्याएको ‘मासप्रिन्ट’ दुई महिना भइसक्दा पनि यातायात व्यवस्था विभागले च....

काठमाडौं, कात्तिक ६ : झण्डै १८ करोडमा कार्डसहित खरिद गरेर ल्याएको ‘मासप्रिन्ट’ दुई महिना भइसक्दा पनि यातायात व्यवस्था विभागले चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) अझै सञ्चालनमा ल्याउन सकेको छैन।
विभागले ‘मासप्रिन्ट’ ल्याएको दुई हप्ताभित्रै जडानको काम सकेर छपाई सुरु गर्ने भने पनि जडानमा विभिन्न प्राविधिक समस्या आएको र जनशक्तिको कारण देखाउँदै छपाईको भाका सार्दै आएको छ।
‘मासप्रिन्ट’ सञ्चालनमा नआउँदा झण्डै सात लाख बराबरको चालक अनुमतिपत्र (स्मार्टलाइसेन्स) पाउनबाट बञ्चित भएका छन्। ‘मासप्रिन्टले’ एक पटकमा ४ सय ५० वटा चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) प्रिन्ट गर्ने र मासिक ३ लाखसम्म छाप्न सक्ने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल दाबी गर्छन्।
विभागले ‘मासप्रिन्ट’ सञ्चालनमा ल्याउन नसक्दा अहिले पुरानै मेसिनबाट स्मार्ट लाइसेन्स छपाईको काम गर्नु परेको महानिर्देशक हमाल बताउँछन्। विभागका अनुसार हाल पुरानो मेसिनले घण्टाको ४० वटा मात्र छपाई गरिरहेको छ। विभागमा हाल ८ देखि १० वटा पुराना छपाई मेसिन छन्। साना क्षमताका अहिलेका छपाई मेसिनले प्रतिघण्टा ४० वटासम्म छाप्ने विभागका महानिर्देशक हमालले जानकारी दिए।
‘मासप्रिन्टको’ जडानको काम सकिएको र अब तिहारपछि परीक्षणमा ल्याउने तयारी छाैँ,’ महानिर्देशक हमालले भने। बाहिरको मेसिन जडानका लागि प्राविधिक र जनशक्ति पनि बाहिरबाटै ल्याउन पर्ने अनेक समस्याले गर्दा ढिलो भएको उनको भनाइ छ।
‘तिहारपछि सञ्चालनमा आउने पक्का हो, छाप्न थालेपछि तीन महिनामा सबै बाँडेर सक्छौँ’, महानिर्देशक हमालले भने। छपाई मेसिनको क्षमता कम हुँदा पास गरेका चालकहरुले पनि १५ महिनादेखि लाइसेन्स पाउन सकेका छैनन्। चालकहरुले स्मार्ट लाइसेन्स नपाउँदा रसिदको भरमा चालकले सवारी चलाउन बाध्य भएका छन्।
देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट परीक्षा उत्तीर्ण गरेकाहरुको चालक अनुमतिपत्र छपाई यातायात व्यवस्था विभागले गर्दै आएको छ। जसका कारण पनि चाप धान्न विभागलाई हम्मेहम्मे परेको छ।
विभागमा छपाइ मेसिनको क्षमताभन्दा धेरै चालक अनुमतिपत्र छाप्नुपर्ने भएकाले सेवाग्राहीहरुले समयमा चालक अनुमति पत्र नपाएको महानिर्देशक हमालको भनाइ छ।
‘माग धेरै छ। तर मेसिन बिग्रिने समस्याले लाइसेन्समा समस्या आएको छ,’ उनले भने।












-(7)-1765197040.jpg)