काठमाडौंमा बालेनको फराकिलो अग्रता, ६ महानगरमा कसले कति मत पाए ?
६ महानगरपालिकामध्य एकबाहेक सबैमा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।
काठमाडौं, जेठ १ : स्थानीय तह निर्वाचन अन्तर्गत देशभर मतगणना जारी छ। देशभरका ७५३ स्थानीय तहमध्य ६ महानगरपालिकामा शनिबारदेखि मतगणना सुरु भएको थियो। सबै महानगरपालिकामा सत्ता गठबन्धनले तालमेल गरेर चुनाव लडेका थिए।
६ नगरपालिकामध्य काठमाडौं महानगरपालिकामा स्वतन्त्रतर्फका उम्मेदवारले अग्रता लिएको छ भने बाँकी पाँच महानगरमा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्।
आइतबार अपराह्नसम्मको नतिजाअनुसार बालेन साहले ३ हजार ५३२ मतसहित अगाडि छन् भने एमाले उम्मेदवार केशव स्थापितले १ हजार ८५६ मत प्राप्त गरेका छन्। गठबन्धनकी उम्मेदवार सिर्जना सिंह भने म१ हजार ६६८ मतसहित तेस्रो स्थानमा छिन्।
त्यस्तै राप्रपाका मदनदास श्रेष्ठले २८२, स्वतन्त्र उम्मेदवार सुमन सायमीले २८१ मत ल्याउँदा विवेकशील साझाकी समीक्षा बास्कोटाले २३ मत ल्याएकी छन्।
उपमेयरमा भने एमालेकी सुनिता डंगोलले ३ हजार ३१७ मत ल्याएकी छन्। त्यस्तै गठबन्धनका रामेश्वर श्रेष्ठले ९६२ मत ल्याउँदा राप्रपाका विनिता मगैयाले ७६२ मत ल्याएकी छन्।
भरतपुरमा रेणुको झिनो अग्रता
भरतपुरको मेयरमा रेणु दाहालले झिनो अग्रता कायम गरेकी छन्। उनले २०३८ मत ल्याउँदा नेकपा एमालेका विजय सुवेदीले १ हजार ९९८ मत ल्याएका छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ सुवेदीले ६६१ मत ल्याएका छन्।
उपमेयरतर्फ कांग्रेसका चित्रसेन अधिकारीले २ हजार २४० मत ल्याउँदै अग्रता कायम गरेका छन् भने राप्रपाकी हिमला गुरुङले १ हजार ६०२ मत ल्याएकी छन्।
ललितपुरमा चिरिबाबुको दोब्बर अग्रता
ललितपुरमा गठबन्धनका उम्मेदवार चिरीबाबु महर्जनले दोब्बर मतान्तरले अग्रता लिएका छन्। उनले ८७७ मत ल्याउँदा एमालेका हरिकृष्ण व्यञ्जनकारले ४०२ मत ल्याएका छन् भने राप्रपाका अष्टबहादुर महर्जनले १०८ मत ल्याएका छन्।
त्यस्तै उपमेयरतर्फ एमालेकी मन्जली शाक्य बज्राचार्यले ५०९ मत ल्याएकी छन् भने माओवादी केन्द्रका बाबुराजा बज्राचार्यले ३४० मत ल्याएका छन्।
पोखरामा धनराज आचार्य अगाडि
पोखरा महानगरको मेयरमा पनि गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । गठबन्धबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य १ हजार १२१ मतसहित अगाडि छन् भने एमाले उम्मेदवार कृष्णबहादुर थापाले १०४० मत पाएका छन्। राप्रपाका शंकर खरालले १८४ मत ल्याएका छन्।
उपमेयरतर्फ नेपाली कांग्रेसकी कोपिला रानाभाट १ हजार २४६ मतसहित अगाडि छन्। त्यस्तै एमालेकी मञ्जुदेवी गुरुङले १ हजार १६५ मत ल्याएकी छन् भने राप्रपाकी रन्जनाकुमारी सेन पौडेलले १६५ मत ल्याएकी छन्।
वीरगञ्जमा सरावगी पछि परे
वीरगन्ज महानगरपालिकामा नेकपा एमालेबाट उम्मेदवार बनेका विजय सरावगी पछि परेका छन्। यहाँ गठबन्धनबाट जनता समाजवादी पार्टीका उम्मेदवार राजेशमान सिंहले १ हजार ८१० मतसहित अग्रता लिएका छन्। सरावगीको भने ७४७ मत छ। त्यस्तै राप्रपाका गिरीश गिरीले ४५ मत पाएका छन्।
उपमेयरतर्फ कांग्रेसका इम्तियाज आलमले १ हजार ३३७ मत ल्याएका छन् भने लोकतान्त्रिक समाजवादीका पुरुषोत्तमलाल झाले १८३ मत प्राप्त गरेका छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार रम्भा मिश्रले १०२ मत ल्याएका छन्।
विराटनगरमा नागेशको अग्रता
विराटनगर महानगरपालिकामा गठबन्धनले अग्रता लिएको छ। आइतबार अपराह्नसम्मको परिणामअनुसार गठबन्धनबाट कांग्रेसका उम्मेदवार नागेश कोइरालाले ३ हजार १३९ मत सहित अग्रता कायम गरेका छन्।
एमालेका सागरकुमार थापाले २ हजार २६२ मत ल्याउँदा स्वतन्त्रतर्फका उम्मेदवार उमेशकुमार यादवले ७१५ मत ल्याएका छन्।
त्यस्तै उपमेयरतर्फ एमालेकी शिल्पा कार्कीले २ हजार ७६२ मत ल्याएका छन् भने जसपाका अमरेन्द्र यादवले १ हजार ६३२ मत ल्याएका छन्।
सबै महानगरपालिकामा मतगणना जारी छ।











