चुनाव हार्ने भएपछि एमालेले भन्याे- गठबन्धनले धाँधली गर्याे
काठमाडाैं, जेठ : मतदान र मतगणनाका क्रममा सत्ता गठबन्धनले योजनाबद्ध धांधली गरेको एमालेले आरोप लगाएको छ।स्थानीय निर्वाचन सम्पन्न भएर देशभर मतगणना जारी रहँदा...
काठमाडाैं, जेठ : मतदान र मतगणनाका क्रममा सत्ता गठबन्धनले योजनाबद्ध धांधली गरेको एमालेले आरोप लगाएको छ।
स्थानीय निर्वाचन सम्पन्न भएर देशभर मतगणना जारी रहँदा अग्रतामा गठबन्धनभन्दा पछाडि परेको एमालेले आज (आइतबार) एक विज्ञप्ति जारी गरेर एमालेले त्यस्तो आरोप लगाएको हो।
सत्ताधारी गठबन्धनको स्थानीय निर्वाचन नगराउने षड्यन्त्रलाई परास्त गर्दै २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको तर स्वतन्त्र, निष्पक्ष र धांधलीरहित हुनुपर्ने निर्वाचनलाई भय र त्रासबिना मतदान र मतगणना हुनुपर्नेमा सत्ताधारी गठबन्धनले त्यसलाई पुरै बेवास्ता गरी जसरी पनि जित्न धांधलीका साहारा लिएको आरोप एमालेको छ।
‘सत्ता गठबन्धनले लोकतन्त्रको लोकतान्त्रिक अभ्यासको खिल्ली उडाएको छ र हामीले निर्वाचन आयोगलाई अचारसंहितामा भएको त्रुटी सच्याउन अनुरोध गर्दा अनेक टिप्पणी गर्ने सत्ता गठबन्धन दलका नेताहरुका निरन्तर आचारसंहिता विपरीत कार्यप्रति नेकपा एमाले खेद व्यक्त गर्दछ,’ एमालेका महासचिव शंकर पोखरेलद्वारा जारी गरिएको विज्ञिप्तमा भनिएको छ।
निर्वाचनका क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र एमालेको विपक्षमा परिचालित भएको विज्ञप्तिमा उल्लेख छ।
जनताले स्वतन्त्र, निष्पक्ष र धांधलीरहित तबरबाट आफ्नो जनप्रतिनिधि छनोट गर्ने र ती जनप्रतिनिधिमार्फत् राज्य सञ्चालनमा सहभागी हुन पाउनु नै लोकतन्त्रको आधारभूत पक्ष भएकाले संविधान निर्माणका क्रममा एमाले राज्यको माथिल्लो तह संघीय सरकारदेखि स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने पक्षमा उभिएको पनि जनाइएको छ।
३२ वटा पालिकाको मतपरिणाम सार्वजनिक हुँदा एमालेले १४ वटामा जित हासिल गर्दा गठबन्धनअन्तर्गत कांग्रेसले १०, माओवादी केन्द्रले ८ र नेकपा एकीकृत समाजवादीले २ वटामा जित हासिल गरेको छ।
त्यसैगरी कांग्रेसले २७६, माओवादी केन्द्रले ११२ र नेकपा एकीकृत समाजवादीले १५ वटामा अग्रता लिएका छन्। एमालेको अग्रता भने १९४ वटा पालिकामा अग्रता लिइरहेको छ।
समग्रमा गठबन्धनभन्दा एमाले निकै पछाडि पर्ने आकलन गर्न थालिएको छ।














