त्रिविले आइतबार बिदा नदिने
काठमाडौं, जेठ १ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आइतबार बिदा नदिने भएको छ।सरकारले परीक्षणका रूपमा यही जेठ १ (आज) देखि लागु हुने गरी...
काठमाडौं, जेठ १ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आइतबार बिदा नदिने भएको छ।
सरकारले परीक्षणका रूपमा यही जेठ १ (आज) देखि लागु हुने गरी सातामा दुई दिन (प्रत्येक शनिबार र आइतबार) सावर्जनिक बिदा दिने निर्णय गरे पनि पहिले नै निर्धारण भइसकेका कार्यक्रम प्रभावित हुने भन्दै आइतबार बिदा नदिने बताएको हो।
त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाले आज (आइतबार) एक सूचना जारी गरेर भनेको छ, ‘विश्वविद्यालयमा कोभिडको असरका कारणले शैक्षिक पात्रो ढिलो भएको पठनपाठन र तालिकाहरू पहिले नै निर्धारण भइसकेको तथा विश्वविद्यालयको पाठ्यक्रमको सरचनासमेत दिनलाई ध्यानमा राखेर निर्माण भइसकेको हुँदा विद्यार्थीहरूको पठनपाठन र विश्वविद्यालयबाट प्रव स्वास्थ्य सेवा लगायत अन्य सेवाहरूलाई नियमित रूपमा सञ्चालन गर्न आवश्यक भएकाले अर्को सूचना जारी नभएसम्मका लागि साबिक बमोजिम नै आइतबारसमेत विश्वविद्यालयका सेवाहरू सञ्चाल हुँदा सम्बन्धित सबैका लागि यो सूचना जारी गरिएको छ।’
साता दुई दिन बिदा दिने सन्दर्भमा आइतबार पनि सार्वजनिक बिदाका रूपमा थपिएपछि विरोध र समर्थनका आवाज उठिरहेको छ। खासगरी शैक्षिक संस्थाहरूले बिदा दिन नहुने भन्दै आएका छन्। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) ले पनि विद्यालयमा आइतबार बिदा नहुने व्यवस्था गर्न आग्रह गरिसकेको छ।












