Kathmandu Press

नेविसंघमा ३२ वर्षे उमेरहद लागू नगरे आमरण अनसन बस्ने चेतावनी

काठमाडौं, कात्तिक ६ : नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ समिति गठन गर्दा विधानमा व्यवस्था भएको ३२ वर्षे उमेर हदल....

नेविसंघमा ३२ वर्षे उमेरहद लागू नगरे आमरण अनसन बस्ने चेतावनी

काठमाडौं, कात्तिक ६ : नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ समिति गठन गर्दा विधानमा व्यवस्था भएको ३२ वर्षे उमेर हदलाई उल्लघंन नगर्न नेविसंघ आवद्ध विद्यार्थी नेताहरुले कडा चेतावनी दिएका छन्।

रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी नेविसंघभित्रका विधान पालना गर्नुपर्ने पक्षका नेताहरुले विधान उल्लघंन भए पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनसन बस्ने चेतावनी दिएका हुन्। नेविसंघको विधान २०२७ को सातौ संशोधन– २०७५ को भाग २, धारा ५ को उपधारा ५ मा ‘३२ वर्ष उमेर पूरा भएको व्यक्ति नेपाल विद्यार्थी संघको सदस्य हुन पाउने छैन’ उल्लेख छ। 

निवर्तमान केन्द्रीय समितिले सोही विधान बमोजिम विभिन्न १६ वटा जिल्लाहरुमा अधिवेशन सम्पन्न गरिसकेको थियो। यसबाहेक अन्य ४० जिल्लामा जिल्ला अधिवेशनभन्दा तल्लो तहका सम्पूर्ण कमिटीहरु गठन भइसकेका छन्। बाँकी २१ जिल्लामा भने अधिवेशन प्रक्रिया मात्रै सुरु हुन पायो।  

नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन सम्पन्न गर्नु पूर्व पनि नेपाली कांग्रेसद्वारा गठित निर्देशन समितिले पनि आउने महाधिवेशनबाट ३२ वर्षे उमेरको हदबन्दी कायम हुने प्रावधान तय गरेको थियो। सोही बमोजिम जिल्ला अधिवेशन सम्पन्न गर्न ७७ वटै जिल्लाहरुलाई निर्देशन दिइएको थियो।

नेविसंघको नैनसिंह महर नेतृत्वको निवर्तमान कमिटी विघटन भएपछि पार्टीले नयाँ तदर्थ समिति बनाउने तयारी गरिरहेको छ। तर पार्टी नेतृत्वले उक्त तदर्थ समितिमा नेविसंघको विधान उल्लघंन गर्दै ३२ वर्षभन्दा माथिकालाई नेतृत्व सुम्पन्ने तयारी गरेको भन्दै त्यसो गरे आमरण अनसन गर्ने चेतावनी विधार्थी नेताहरुले दिएका हुन्।

पत्रकार सम्मेलनमा नेविसंघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले ४९ वर्षमा आफू प्रधानमन्त्री भएका कांग्रेस सभापति शेरवहादुर देउवाले सोही उमेरका व्यक्तिलाई नेविसंघको अध्यक्ष बनाउन खोज्नु लज्जास्पद भएको बताए। उनले विधान विपरीत आउने नेतृत्वले नेविसंघको सधारण सदस्यता वितरण गर्ने नैतिक हैसियत गुमाउने पनि बताए।

‘कम्युनिष्ट सत्ताले सर्वसत्तावाद लागु गर्‍यो भन्ने अनि आफ्नो दलभित्र विधि र विधानलाई उल्लघंन गर्दै सर्वसत्तावाद लागू गर्नु कदाचित मिल्दैन। यसकाविरुद्ध हामी आमरण अनसनको हदसम्म जान तयार छौं’, त्रिपाठीले भने।  

‘विधान बमोजिम १६ जिल्लामा अधिवेशन सम्पन्न भएको, ४० जिल्लामा तल्लो तहको अधिवेशन सम्पन्न भैसकेको र बाँकी २१ जिल्लामा अधिवेशनको तयारी भइरहेको वर्तमान अवस्थामा नेपाली काँग्रेस नेतृत्वबाट नेपाल विद्यार्थी संघलाई नेपाल वृद्ध संघ बनाउने चेष्टा गर्नु लोकतन्त्रको उपहास हो भन्ने ठहर गरेका छौ’, विधान पक्षधर नेताहरुद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसर्थ नेविसंघको विधि विधानमा व्यवस्था भएको ३२ वर्ष उमेर हद कार्यन्वन गरी ने.वि.संघ तदर्थ केन्द्रिय समिती  गठन गर्न नेपाली काँग्रेस पार्टी नेतृत्व सामु बिनम्रता पुर्वक आग्रह गर्दछौं। अन्यथा नेपाल विद्यार्थी संघ केन्द्रिय तदर्थ समिति गठन गरेकै दिन बिधान उल्लंघनको विरुद्ध नेपाली कांग्रेस केन्द्रिय पार्टी कार्यालय, सानेपा मै आमरण अनशनको कार्यक्रम थाल्ने चेतावनी दिन चाहन्छौं।’

नेविसंघ नेता महेन्द्र भट्टराईले विधान विपरीत समिति आए आमरण अनसनसहितको आन्दोलनले त्यसलाई खारेज गरेर विधान सम्मत समिति ल्याउन पार्टी नेतृत्वलाई बाध्य पारिने बताए। 

पत्रकार सम्मेलनमा नेविसंघ नेता योगेन्द्र रावले नेविसंघलाई कुनैपनि हालतमा वृद्ध संघ बन्न नदिने बताउँदै वृद्धहरुले कक्षा कोठाको भावना बुझ्न नसक्ने जनाए।  

प्रकाशित मिति: १९:१५ बजे, बुधबार, कात्तिक ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्