Kathmandu Press

देवेन्द्रराज कँडेलको स्पष्टिकरणः भारतीय नागरिकता पुष्टि भए कारवाही भोग्न तयार छु

काठमाडौं, कात्तिक ६ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद देवेन्द्रराज कँडेलले आफूले भारतीय नागरिकता नलिएको स्पष्ट पारेका छन्। 

....
देवेन्द्रराज कँडेलको स्पष्टिकरणः भारतीय नागरिकता पुष्टि भए कारवाही भोग्न तयार छु
फाइल

काठमाडौं, कात्तिक ६ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद देवेन्द्रराज कँडेलले आफूले भारतीय नागरिकता नलिएको स्पष्ट पारेका छन्। 

भारतीय नागरिकता लिएको समाचार बाहिर आएपछि बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी सांसद कँडेलले आफूले भारतीय नागरिकता नलिएको स्पष्ट पार्दै भारतीय नागरिक भएको पुष्टि गर्न चुनौती दिएका हुन्।

आफूले भारतीय नागरिकता लिएको पुष्टि गर्न चुनौती दिँदै सांसद कँडेलले भने,‘सञ्चारमाध्यममा आएका कुराहरु निराधार हुन्। मसँग भारतीय नागरिकता भएको भए सार्वजनिक गरे हुन्छ। यदि पुष्टि भए म जस्तो सुकै कारवाही भोग्न पनि तयार छु।’

कँडेलले आफ्नो नाममा भारतीय भूमिमा एक इञ्च पनि जमिन नभएको पनि दाबी गरे। ‘मेरो भारतीय भूमिमा जमिन भएको पनि कुरा आएको छ,’ उनले भने,‘त्यो पनि पुष्टि गरे हुन्छ। रहेछ भने कारवाही भोग्न तयार नै छु।’ 

नवरलपरासीको सीमावर्ती भारतीय सहरमा आफ्नी अजुरआमाले स्थापना गरेको राधाकुमारी ईन्टर कलेजको सञ्चालक समितिको चुनावबाहेक कतै पनि मतदान नगरेको उनको दाबी छ। पत्रकार सम्मेलनमा कँडेलले भने,‘ संस्था (विद्यालय) बाहेक भोट हालेको सावित गरे दण्ड सजाय भोग्न तयार छु। तर, झुटो आरोप लगाएर मान प्रतिष्ठामा आँच पु¥याउँदा मलाई अत्यन्तै दुःख लागेको छ।’

सांसद कँडेलले आफूसँग भारतीय सवारी चालक अनुमतिपत्र भने भएको बताए। ‘मैले बाल्यकालदेखि स्नातक तहसम्म भारतमा अध्ययन गरेको हुँ। त्यहाँ रहँदा शैक्षिक प्रमाणपत्रका आधारमा सवारी चालक अनुमतिपत्र लिएको छु,’ उनले भने।

आफ्नी हजुरआमाले खोलेको क्याम्पसको अध्यक्ष भएकै कारण भारतको उच्च अदालतमा आफूविरुद्ध नेपाली नागरिकले भारतीय संघसंस्थामा अध्यक्ष हुन नपाउने भनेर मुद्दा चलिरहेको कँडेलले बताए। सन् १९५० को सम्झौताका आधारमा नेपालीले पनि भारतमा सामाजिक संघसंस्था सञ्चालन गर्न पाउने भएकाले आफू आफ्नो हजुरआमाले खोलेको क्याम्पस (तत्कालीन विद्यालय) को अध्यक्ष भएको प्रष्ट पारे।

‘अपहरणकारी दाबी गर्ने सञ्चारमाध्यमविरुद्ध कानूनी उपचार खोज्छु’

सांसद कँडेलले आफूलाई अपहरणकारी भएको दाबी गर्ने सञ्चारमाध्यमविरुद्ध कानूनी उपचारमा जाने बताए। 

आफूमाथि हुँदै नभएको आरोप लगाइएको बताउँदै उनले भने,‘यस्तो आरोप लगाउने सञ्चारमाध्यमविरुद्ध कानूनी उपचारमा जानुको विकल्प छैन।’ उनले एक महिना अगाडिमात्रै आफू भारतीय र नेपाली सुरक्षा अधिकारीको संयुक्त बैठकमा सहभागी भएको बताए। 

‘म अपहरणकारी भएको भएँ के दुवै देशका सुरक्षा अधिकारी सहभागी भएको कार्यक्रममा उपस्थित हुने हिम्मत राख्थे?,’ बैठकमा सहभागी भएको फोटो पत्रकार सम्मेलनमा देखाउँदै उनले भने,‘ममाथि हुँदै नभएको आरोप लगाइएको छ। यो सरासर झुठको खेती हो।’
 

प्रकाशित मिति: १९:०४ बजे, बुधबार, कात्तिक ६, २०७६