नेपालको संविधानलाई अन्तर्राष्ट्रिय सुमदायले सम्मान गर्न थाल्यो : प्रधानमन्त्री ओली
काठमाडौं, कात्तिक ६ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानले अंगिकार गरेका व्यवस्थालाई उत्कृष्ट ठहर्याउँदै अन्तर्राष्ट्रिय स....

काठमाडौं, कात्तिक ६ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानले अंगिकार गरेका व्यवस्थालाई उत्कृष्ट ठहर्याउँदै अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्न सुरु गरेको बताएका छन्।
नेपालको संविधानलेप्राप्त गरेको ‘फ्युचर पोलिसीसिल्भर अवार्ड–२०१९’ बारे जानकारी तथा नेपाल सरकारलाई हस्तान्तरण गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको संविधानले व्यवस्था गरेको लोकतन्त्र, सामाजिक न्याय, समानता तथा भेदभावरहित समाज निर्माणका विषयलाई अन्तर्राष्ट्रिय रुपमा पहिचान गरी सम्मान गर्नु नेपालको सफलता भएको बताए।
‘हामीले तय गरेको राष्ट्रिय आकांक्षा र सामाजिक व्यवस्थालाई पहिचान गरेको हो, उनले भने,‘अन्तर्राष्ट्रिय समुदायले भर्खर नेपालको उपलब्धीलाई पहिचान गर्न थालेको छ। भोलिका दिनमा नेपालको संविधानले अझ ठूला सम्मान प्राप्त गर्नेछ।'
प्रधानमन्त्री ओलीले युवा परिचालन सम्बन्धि कानुनी व्यवस्था र त्यसको व्यवहारिक पक्षलाई समेत मूल्यांकन गरेर यो अवार्ड नेपालले प्राप्त गरेको बताए।
संविधानमा युवा सहभागिता, सशक्तिकरण, विभेद अन्त्यको सुनिश्चितता, स्वच्छ वातावरणको सुनिश्चितता लगायत कानुनी व्यवस्था उदारणीय भएकाले नेपाललाई अवार्ड दिइएको काउन्सिलले उल्लेख गरेको छ।
सर्बियाको राजधानी बेलग्रेड हालै आयोजित अन्तर–व्यवस्थापिका संघ (आईपीयू)को १४१ औं सम्मेलनमा नेपालको संविधानले शान्तिपूर्ण रुपमा द्वन्द्व व्यवस्थापन तथा युवा सहभागिता र अधिकारबारे हासिल गरेको सफलतालाई पहिचान गरी अवार्ड प्रदान गरिएको थियो।
आईपीयू, संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) र वल्र्ड फ्यूचर काउन्सिलद्वारा गठित निर्णायक मण्डलले नेपाल लगायत अन्य आठ देशलाई विभिन्न विधामा अवार्ड प्रदान गरेको थियो।
सो अवार्ड आईपीयूमा सहभागी नेपालको संघीय संसदको प्रतिनिधिमण्डलको नेतृत्व गरेका राष्ट्रिय सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक कार्यक्रमकाबीच ग्रहण गरेका थिए।











