भिडियो कन्फरेन्समार्फत प्रधानमन्त्रीले लिए राष्ट्रिय गौरवका आयोजनाको प्रगति वितरण
काठमाडौं, कात्तिक ६ : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यप्रगति पनि गौरवपूर्ण हुनु पर्ने बताएका छन्।
<....
काठमाडौं, कात्तिक ६ : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यप्रगति पनि गौरवपूर्ण हुनु पर्ने बताएका छन्।
प्रधानमन्त्री कार्यालयको एक्सन रुमबाट बुधबार विभिन्न राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन गर्ने क्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।
प्रधानमन्त्री ओलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत आयोजना, भेरी बबई डाइभर्सन बहुउद्धेश्यीय आयोजनाको सम्बन्धित परियोजना प्रमुखहरुबाट भिडियो कन्फरेन्समार्फत कार्य प्रगतिको जानकारी लिएका हुन्।
प्रधानमन्त्री ओलीले रानीजमरा कुलरीया सिंचाइआयोजना, सिक्टा सिंचाइ आयोजना र हुलाकी लोकमार्ग आयोजनाको कार्यप्रगतिको पनि जानकारी लिएका छन्। प्रधानमन्त्री ओलीले भिडियो कन्फरेन्समार्फत नै ती परियोजनामा विभिन्न ठाउँहरुमा भइरहेका निर्माण कार्यको पनि अवलोकन गरे।
प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्री, सचिव र परियोजना प्रमुखहरुलाई समय मै काम सक्न निर्देशन दिए। ‘कामले गति त लिएको छ तर समयसीमाभित्र सक्नलाई अझै धेरै गतिदिनु पर्दछ,’ प्रधानमन्त्री ओलीले भने,‘कामलाई गति दिन एक मन्त्रालय र अर्को मन्त्रालयबीचको समन्वयको आवश्यकता देखिन्छ। त्यसमा विशेष ध्यान दिनुहोस्।’
प्रधानमन्त्री ओलीले सरोकारवालाहरुलाई परियोजना स्थलको नियमित स्थलगत अवलोकन गर्न, सुक्ष्म रुपले अध्ययन गर्न, त्यहाँका समस्या सुन्न, सुझाव दिन र तत्काल समाधान गर्न पनि निर्देशन दिए।
‘परियोजनामा सहज रुपले काम अघि बढाउन कुनै संघीय कानुन, प्रादेशिक कानुन वा मन्त्रिपरिषदको निर्णयको कारणले विलम्ब भएको छ भने त्यसमा सजग हुनुपर्दछ,’ प्रधानमन्त्री ओलीले भने,‘हामी स्थलगत अनुगमनमा गएपछि परियोजनामा केही न केही सकारात्मक परिवर्तन हुनुपर्दछ।’











