भरतपुरमा ७४ मतले रेणु दाहाल अगाडि
वडा २ को ८०० मत गनिसक्दा रेणु दाहालले १ हजार ४८४ मत र विजय सुवेदीले १ हजार ४१० मत पाएका छन्।
चितवन, जेठ १ : भरतपुर महानगरपालिकामा मेयरका लागि गठबन्धनबाट साझा उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहालको अग्रता कायमै भए पनि मतान्तर घटेको छ।
एमालेबाट मेयर उम्मेदवार विजय सुवेदीले रेणु दाहालसँगको मतान्तरलाई घटाउँदै लगेका हुन्। वडा २ को मतगणना जारी रहेका बेला दाहाल र सुवेदीबीचको मतान्तर ७४ भएको छ। वडा १ मा दाहाललाई १२१ को अग्रता थियो।
वडा १ बाट दाहालले १ हजार २०८ मत पाउँदा सुवेदीले १ हजार ८७ मत प्राप्त भएको थियो। वडा १ मा गठबन्धनबाट वडाध्यक्षको उम्मेदवार नेपाली कांग्रेसका केशव महर्जन विजयी भइसकेका छन्।
वडा २ को ८०० मत गनिसक्दा दाहालले १ हजार ४८४ मत र सुवेदीले १ हजार ४१० मत पाएका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४९७ मत पाएका छन्।
वडा २ मा वडाध्यक्षमा एमाले उम्मेदवार कृष्ण केसीले ३४८ मतका साथ अग्रता लिएका छन्। कांग्रेसका मनोज रानभाटले ३३७ मत ल्याएका छन्। वडा २ यसअघि एमालेले जितेको थियो।











