भरतपुर महानगर–१ मा गठबन्धन विजयी
चितवन, जेठ १ : भरतपुर महानगरपालिकाको वडा १ मा गठबन्धनबाट वडाध्यक्षको उम्मेदवार नेपाली कांग्रेसका केशव महर्जन विजयी भएका छन्।महर्जनले एक हजार ३९० मत...
चितवन, जेठ १ : भरतपुर महानगरपालिकाको वडा १ मा गठबन्धनबाट वडाध्यक्षको उम्मेदवार नेपाली कांग्रेसका केशव महर्जन विजयी भएका छन्।
महर्जनले एक हजार ३९० मत प्राप्त गर्नुभएकामा उनका निकटतम प्रतिस्पर्धी शुक्रकुमार श्रेष्ठले एक हजार ३१३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
उक्त वडामा तीन हजार २७७ मत खसेको थियो। वडा १ को गणना सकिँदै गर्दा गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायम छ।
उनले उक्त वडामा १२१ मतले अग्रता लिएको हुन्। दाहालले १ हजार २०८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले १ हजार ८७ मत प्राप्त गरेका छन्।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४३० मत प्राप्त गरेका छन्। यसैगरी उपप्रमुखमा गठबन्धनकै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले एक हजार ३६२ मत पाएका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेसहितको गठबन्धनकी हिमला गुरुङले ८७७ मत पाएका छन्। महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो।
यस्तै जिल्लाका अन्य पालिकामा रत्ननगर र खैरहनीमा पाँच दलीय गठबन्धनको अग्रता छ भने माडी, कालिका, राप्ती र इच्छाकामनामा नेकपा एमालेले अग्रता कायम गरेको छ।











