Kathmandu Press

मुलुकभर एकैसाथ निर्वाचन सम्पन्न गरेकामा गृहमन्त्रीद्वारा धन्यवाद व्यक्त

मुलुकभर एकैसाथ निर्वाचन सम्पन्न गरेकामा गृहमन्त्रीद्वारा धन्यवाद व्यक्त

काठमाडौं, वैशाख ३१ : गृहमन्त्री बालकृष्ण खाणले सीमित स्रोतसाधन उपयोग गरी पूर्ण दृढता र प्रतिबद्धतासाथ एकैपटक मुलुकभर स्थानीय तह निर्वाचन सम्पन्न गरेकामा सरोकारवाला निकायका प्रमुखलाई धन्यवाद दिएका छन्। 

गृहमन्त्री खाणले सबै सुरक्षा निकायका प्रमुख, गृह प्रशासन, निर्वाचन आयोग र मुख्य निर्वाचन अधिकृत भएर खटिएका जिल्ला न्यायाधीश र निर्वाचन अधिकृतलाई सीमित स्रोतसाधन उपयोग गरेर एकै चरणमा निर्वाचन सम्पन्न गर्न महत्वपूर्ण भूमिका निभाएकामा धन्यवाद दिएका हुन्। 

गृहमन्त्री खाणले आज बिहान प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलिया, प्रधानसेनापति प्रभुराम शर्मा, गृहसचिव टेकनारायण पाण्डे, निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेललाई टेलिफोन गरेर छिटफुट घटनाबाहेक मुलुकभर स्थानीय तह निर्वाचन एकैपटक सम्पन्न गरेकामा धन्यवाद दिएका हुन्। 

‘सीमित स्रोतसाधनको उपयोग गरेर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकृत र जवानले दृढता र प्रतिबद्धतासाथ आफ्नो जिम्मेवारी पूरा गर्नुभएको छ’, गृहमन्त्री खाणले भने, ‘मुख्य निर्वाचन अधिकृत भएर खटिनुभएका जिल्ला न्यायाधीश र निर्वाचन अधिकृतले आफ्नो महत्वपूर्ण कार्यभार सम्पन्न गर्नुभएको छ।’

म्यादी प्रहरीले झन प्रतिबद्ध भएर फ्रन्ट लाइनमा बसेर आफ्नो जिम्मेवारी निभाएका छन् । ‘सरकारले दिएको जिम्मेवारी दृढतापूर्वक र प्रतिबद्ध भएर पूरा गर्नुभएका सबै धन्यवादका पात्र हुनुहुन्,’ गृहमन्त्रीले भने।  एकैपटक स्थानीय तह निर्वाचन सम्पन्न गर्ने चुनौतीपूर्ण काम सबैको दृढता र प्रतिबद्धताका कारण सम्पन्न भएको गृहमन्त्री खाणले बताए।
    
गृहसचिव पाण्डेले गृहमन्त्री खाणले सरकारको निर्णयबमोजिम सीमित स्रोत साधनबीच एकै चरणमा स्थानीय तह निर्वाचन सम्पन्न गरेकामा धन्यवाद व्यक्त गरेको जानकारी दिए । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले एकैपटक स्थानीय तह निर्वाचन सम्पन्न गर्न सीमित स्रोत साधनबीच सुरक्षा व्यवस्था मिलाएकामा धन्यवाद दिएको बताए ।

प्रकाशित मिति: ११:३० बजे, शनिबार, वैशाख ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्