Kathmandu Press

चाडपर्वले काठमाडौं र ललितपुरमा रगत अभाव

काठमाडौं, कात्तिक ६ : चाडपर्वले काठमाडौँ र ललितपुर जिल्लामा रगतको अभाव देखिएको छ। नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्त सञ्चार सेवा केन्द्रले दुवै....

चाडपर्वले काठमाडौं र ललितपुरमा रगत अभाव

काठमाडौं, कात्तिक ६ : चाडपर्वले काठमाडौँ र ललितपुर जिल्लामा रगतको अभाव देखिएको छ। नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्त सञ्चार सेवा केन्द्रले दुवै जिल्लामा रगतको अभाव भएको जनाएको छ।

वर्षेनी चाडबाडको समयमा उपत्यकामा रगतको अभाव हुने गरेको छ। यस वर्ष पनि रगत अभाव भएको जनाएको छ।

रेडक्रस सोसाइटीको सञ्चार विभागले प्रेस विज्ञप्ति जारी गरी काठमाडौँमा यो हप्तादेखि रगतको अभाव भएकाले रक्तदान गर्न आह्वान गरेको छ। सबैको सहयोगले पर्याप्त स्टक भएका कारण दशैँको समयमा रगत अभाव नभए पनि दशैँपछि रक्तदान कार्यक्रम घटेकाले अभाव बढेको जनाइएको छ।

दशैँ भर्खरै सकिएको तथा तिहार र छठलगायतका पर्वको समय आइरहेको यस्तो समयमा कलेजसमेत बन्द भएको र रक्तदान कार्यक्रम पनि कम भएकाले अहिले रगतको मागबमोजिम आपूर्तिमा कठिनाइ परेको रेडक्रसले जनाइएको छ।

रक्तसञ्चार सेवाका निर्देशक पवन गुप्ताले भने, ‘डेङ्गुलगायत विभिन्न रोगबाट प्रभावित बिरामीका लागि रगतको माग छ, यस्तोमा बिरामीका आफन्तलाई अनुरोध गरेर रक्तदान गर्न भनिरहेका छौँ।’

रक्त सञ्चार केन्द्रका अधिकृत राम श्रेष्ठले अहिले सेवा केन्द्रको कालीमाटी कार्यालयमा दैनिक औषतमा तीन सय युनिट रगतको माग भएको तर आपूर्ति गर्न कठिनाइ भइरहेको बताए।

केन्द्रका निर्देशक मनिता राजकर्णिकारले सकेसम्म धेरै सङ्घ संस्थासँग रक्तदानका लागि पहल गरिरहेको बताइन्। ललितपुरको रक्तसञ्चार केन्द्रमा पनि रगतको अभाव भइरहेको शाखाका सभापति बाबुराजा महर्जनले बताए।

प्रकाशित मिति: १३:२९ बजे, बुधबार, कात्तिक ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्