तनावग्रस्त काभ्रे : पाँचखालमा मतदान केन्द्र तोडफोड, तेमालमा हवाई फायर (फाेटाे/भिडियाे)
पाँचखाल नगरपालिका १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान अधिकृतले लापरवाही गरेको भन्दै राजनीतिक दलका कार्यकर्ताहरुले मतदान केन्द्र नै तोडफोड गरेका छन् ।
काठमाडौं, वैशाख ३० : काभ्रेका आधा दर्जन मतदान केन्द्रमा मतदान चलिरहँदा तनाव उत्पन्न भएको छ। जिल्लाको पाँचखाल नगरपालिका, चौरीदेउराली गाउँपालिका र तिमाल गाउँपालिकाका विभिन्न मतदान केन्द्रमा झडप भएपछि मतदान रोकिएको बताइएको छ।
पाँचखाल नगरपालिका १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान अधिकृतले लापरवाही गरेको भन्दै राजनीतिक दलका कार्यकर्ताहरुले मतदान केन्द्र नै तोडफोड गरेका छन् ।
मतदान अधिकृतले एकजनालाई दशवटासम्म मतपत्र दिएको भन्दै आक्रोशित कार्यकर्ताहरुले मतदानस्थल तोडफोड गरेको काभ्रेका पत्रकार कपिल कोइरालाले जानकारी दिए।

मतगणनास्थल तोडफोड भएपछि निर्वाचनमा खटिएका कर्मचारीले मतपत्र र मतपेटिका सुरक्षित स्थानमा राखेका छन् भने मतदान रोकिएको छ । रोकिएको मतदान पुनः सुचारु गर्नका लागि सम्बन्धित दलका उम्मेदवार र प्रतिनिधिसँग छलफल भइरहेको काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्।
त्यस्तै जिल्लाकै चौरिदेउराली गाउँपालिका–६ को प्रभा मावि मतदान केन्द्रमा पनि दुई समूहबीच झडप हुँदा स्थिति तनावपूर्ण बनेको छ। अशक्त व्यक्लिे इच्छाएको व्यक्तिको सट्टा अर्कैलाई मतदान गर्न दिइएको भन्ने विवाद झडपमा परिणत भएपछि मतदान रोकिएको छ।
काभ्रेकै तेमाल गाउँपालिका–७ को भुमेश्वर र वडा–८ को कुशेश्व माविमा पनि मतदान रोकिएको छ। उम्मेदवारका समर्थकहरुबीच झडप भएपछि मतदान रोकिएको बताइएको छ। कुशेश्वरमा भने स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ।
प्रमुख जिल्ला अधिकारी पाण्डेले स्थिति तनावपूर्ण भएपनि मतदान स्थगित भने नभएको बताएकी छन्। राजनीतिक दलसँग छलफल गरी मतदान पुनः सुचारु गर्ने प्रयत्न भइरहेको उनले बताइन्।
भिडियाे : मधुसुदन पाठककाे फेसबुकबाट











