पछिल्ला ६ दिन (आज बिहान ५ बजेसम्म)मा साढे तीन लाख मानिसले उपत्यका छाडे
बिहीबार सार्वजनिक सवारी साधन कम चलेका थिए । यात्रुहरु महंगो भाडा तिरेर भएपनि मतदान गर्न गाउँसम्म जान आतुर देखिन्थे।
काठमाडौं, वैशाख ३० : बिहीबार, मध्याह्न १२ बजे । चार युवक काठमाडौंस्थित नयाँ बसपार्कको काउन्टरतिर लाग्दै थिए । उनीहरुको साथमा ठुल्ठूला लगेज थिए । युएईबाट आएका ती युवकमध्ये दुईजना बुटवल जाँदै रहेछन् । एक टाटासुमोका चालक–सहचालकले उनीहरुलाई भने, ‘आज बस छैन, जाने भए मिलाएर (भाडा) लैजान्छौँ । होटलमा एक–दुई दिन बस्दा १०–१५ हजार रुपैयाँ सकिन्छ । जानुहुन्छ भने बुटवलसम्म एकजनाको ६ हजार दिनुस् ।’
युएईबाट आएका २९ वर्षीय मोहम्मद अन्सारी मुस्लिम र ३१ वर्षीय मोहम्मद मुन्जुर मुस्लिम पाँच हजार पाँच सय तिरेर भैरहवासम्म जान तयार भए । महँगो भाडा तिर्नुपर्ने भएकाले केहीबेर दुवैजना मुखामुख गर्दै थिए । ‘यहाँ होटलमा बसेर पनि १०–१५ हजार खर्च भइहाल्छ । भाडा केही महँगो भए पनि घर पुगिन्छ, मतदान गर्न पाइन्छ,’ मोहम्मद अन्सारीले भने, ‘हाम्रो आफन्त नै उम्मेदवार हुनुहुन्छ, भोट हाल्न गाउँ पुग्नैपर्नेछ ।’
अन्सारी पाँच वर्षदेखि युएईमा थिए । भोट हाल्नकै लागि निर्वाचनको समयमा बिदा मिलाएर फर्किएको उनी बताउँछन् । युएईबाटै घर फर्किएका अन्य दुई युवक पनि आफन्त उम्मेदवारलाई मतदान गर्न आएका रहेछन् । आधा घन्टाको अवधिमा बुटवल जाने टाटासुमो यात्रुले भरियो र गन्तव्यतिर लाग्यो ।
केही दिन अघिदेखि चुनावका लागि गाउँ फर्कने क्रम सुरु भएकाले बिहीबार दिउँसो काठमाडौंको नयाँ बसपार्कमा सवारीसाधनको खासै चाप थिएन । फाट्टफुट्ट चलेका टाटा–सुमोका चालक–सहचालक यात्रु खोज्न यता–उताका डुलिरहेका थिए । टिकट काउन्टर बन्द भएकाले चालकले मानलाग्दी भाडा लिइरहेका थिए । कतिपय यात्रु महँगो शुल्क तिरेर जान तयार देखिन्थे ।

बस नपाइने भएपछि बसपार्कको प्रतीक्षालयमा अलमलमा बसिरहेका थिए, जगत गौतम र सुमी कार्की । उनीहरूलाई धनगढी जानुपर्ने रहेछ । जगत मतदान गर्नकै लागि गाउँ जान लागेका रहेछन् । सुमी भने व्यक्तिगत काम बनाउनुका साथै मतदान गर्ने मनसायमा जान लागेकी रहिछन् । ‘कैयौं मानिस मतदाता नामावली नभएकाले भोट हाल्न नपाएको गुनासो गरिरहेका छन् । आफ्नो भने नाम हुँदा पनि घर पुग्न नपाएर बिजोग भयो,’ जगतले भने, ‘जागिर गर्छु, भन्नेबित्तिकै छुट्टी नपाउँदा समयमा गाउँ जान पाइनँ । शुक्रबार साँझसम्म धनगढी पुग्न पाए हुन्थ्यो ।’
कसैको आफन्त, कोहीको साथी, कोहीको परिवारकै सदस्य उम्मेदवार भएकाले अधिकांश काठमाडौंवासी यसपालि मतदान गर्नका लागि गाउँ फर्केको पाइन्छ।
६ दिनमा साढे तीन लाखले छाडे उपत्यका
पछिल्लो ६ दिन (वैशाख २४ गतेदेखि ३० गते बिहान बिहान ५ बजेसम्म) मा विभिन्न नाकाबाट तीन लाख ५१ हजार २७४ जनाले उपत्यका छाडेका छन् भने ५३ हजार ३५९ सवारीसाधन उपत्यकाबाट बाहिरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले जानकारी दिए ।
यस्तै यो अवधिमा एक लाख ९१ हजार ३५५ यात्रु काठमाडौं भित्रिएको तथ्यांक छ । सामान्य अवस्थामा अन्य दिनभन्दा पछिल्ला केही दिन उपत्यका छाड्ने यात्रुको संख्या बढेको प्रवक्ता दास बताउँछन् । ‘वैशाख १५ गतेको तथ्यांक हेर्दा आठ हजार ३०९ सवारीसाधनमार्फत ४३ हजार तीन सय ४६ यात्रुले उपत्यका छाडेका छन्,’ उनले भने, ‘सोही दिन आठ हजार ५५२ सवारीसाधनमार्फत ४१ हजार दुई सय ३३ यात्रु भित्रिएका थिए ।
पछिल्लो ६ दिन उपत्यकाबाट कति बाहिरिए ?
वैशाख २४
उपत्यका भित्रिएका सवारी संख्या : ८,५८०
उपत्यका भित्रिएका यात्रु : ४९,५२४
उपत्यकाबाट बाहिरिएका सवारीसाधन : ९,०९१
उपत्यकाबाट बाहिरिएका यात्रु : ५३,५७१
वैशाख २५
उपत्यका भित्रिएका सवारीसाधन : ७,७४१
उपत्यका भित्रिएका यात्रु : ४२,५४४
उपत्यकाबाट बाहिरिएका सवारीसाधान : ७,९११
उपत्यकाबाट बाहिरिएका यात्रु : ५५,७४६
वैशाख २६
उपत्यका भित्रिएका सवारीसाधन : ७,७७५
उपत्यका भित्रिएका यात्रु : ४१,४०९
उपत्यकाबाट बाहिरिएका सवारीसाधन : ८,७८९
उपत्यकाबाट बाहिरिएका यात्रु : ५०,९३०
वैशाख २७
उपत्यका भित्रिएका सवारीसाधन ः ८,२६९
उपत्यका भित्रिएका यात्रु : ४२,८३२
उपत्यका बाहिरिएका सवारीसाधन : ९,९५६
उपत्यका बाहिरिएको यात्रु : ६९,०८१
वैशाख २८
उपत्यका भित्रिएका सवारीसाधन : ९,२०१
उपत्यका भित्रिएका यात्रु : ३५,६५७
उपत्यका बाहिरिएको सवारीसाधन : ११,२३३
उपत्यका बाहिरिएको यात्रु : ८३,६६०
२९ गते
उपत्यका भित्रिएको सवारीसाधन : ६,३४६
उपत्यका भित्रिएका यात्रु : २८,९१३
उपत्यकाबाट बाहिरिएका सवारीसाधन : ६,३७९
उपत्यकाबाट बाहिरिएका यात्रु : ३८२८६
तथ्यांक काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको हो ।











-(86)-1764936079.jpg)
